थाहाको दामन–नयाँगाउँ खानेपानी आयोजनाको अनुगमन

  वास खबर सम्बाददाता  195 पटक हेरिएको
🔗
32
Shares

मकवानपुर : थाहा नगरपालिका–४ मा निर्माणाधीन दामन–नयाँगाउँ खानेपानी आयोजनाको स्थलगत अनुगमन गरिएको छ। विकास साझेदार संस्था च्वाइस नेपालको सहयोगमा दुईवटा स्किम मार्फत निर्माण भइरहेको उक्त परियोजनाले दामन–नयाँगाउँ क्षेत्रका स्थानीय बासिन्दालाई सुरक्षित खानेपानी सेवा उपलब्ध गराउने लक्ष्य राखेको छ।

पर्यटकीय क्षेत्र दामन–नयाँगाउँमा लामो समयदेखि खानेपानीको अभाव हुँदै आएपछि च्वाइस नेपालको सहयोगमा आयोजना निर्माण सुरु गरिएको हो।

आयोजना अन्तर्गत दामन स्किममा ३० हजार लिटर क्षमताको रिजर्भ ट्याङ्की तथा इन्टेक निर्माण गरिनेछ। त्यस्तै नयाँगाउँ स्किममा इन्टेकसहित ३० हजार लिटर र १० हजार लिटर क्षमताका दुई वटा रिजर्भ ट्याङ्की निर्माण हुने च्वाइस नेपालका प्राविधिक सुभाष मरहट्टाले जानकारी दिनुभयो।

उहाँले लाभग्राही बस्तीभन्दा पानीको मुहान टाढा रहेकाले परियोजनाको लागत अनुमान करिब ७० लाख रुपैयाँ पुगेको बताउनुभयो।

च्वाइस नेपालका प्रताप घिमिरेले परियोजनाअन्तर्गत दामनमा ३२ र नयाँगाउँमा ४१ परिवारका लागि ‘एक घर, एक धारा’ सुविधा विस्तार गरिने जानकारी दिनुभयो।

स्थलगत अनुगमनका क्रममा च्वाइस नेपालका कार्यकारी निर्देशक प्रतीक शर्माले नगरपालिका, स्थानीय समुदाय तथा उपभोक्ताको सक्रिय सहभागिताका कारण आयोजना सम्पन्न हुने चरण तर्फ अघि बढेकोमा खुसी व्यक्त गर्नुभयो। वास्तविक आवश्यकता भएका क्षेत्रमा परियोजना सञ्चालन गर्दा नागरिकले प्रत्यक्ष लाभ प्राप्त गर्ने उल्लेख गर्नुभयो।

उहाँले थाहा नगरपालिकासँग विगत लामो समयदेखि सहकार्य गर्दै सञ्चालन गरिएका शिक्षा, स्वास्थ्य तथा खानेपानी क्षेत्रका कार्यक्रमले स्थानीय नागरिकले अनुभूति गर्ने किसिमको विकासमा योगदान पुर्‍याएको बताउनुभयो।

योजना सम्पन्न भएपछि थाहा खानेपानी तथा सरसफाइ व्यवस्थापन बोर्ड मार्फत यसको सञ्चालन तथा व्यवस्थापन गरिने थाहा नगरपालिकाले जानकारी दिएको छ।

थाहा नगरपालिका र च्वाइस नेपाल बीच सन् २०१५ देखि शिक्षा, स्वास्थ्य तथा खानेपानी क्षेत्रमा निरन्तर सहकार्य हुँदै आएको छ। सोही सहकार्य अन्तर्गत विभिन्न विकास कार्यक्रम सञ्चालन भइरहेका छन्।

अनुगमन कार्यक्रममा च्वाइस नेपालका कार्यकारी निर्देशक प्रतीक शर्मा, च्वाइस नेपालका प्रताप घिमिरे, ऋषेश्वर–छ्युमिग झ्याङछुप क्षेत्र विकास समितिका अध्यक्ष बिनोद लामा, उपभोक्ता समितिका पदाधिकारी तथा स्थानीयवासीको उपस्थिति रहेको थियो।

 


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार