
सुरक्षित खानेपानी सुनिश्चित गर्नु बाँसगढी नगरपालिकाको लामो समयदेखिको प्राथमिकता हो। “मुहानदेखि मुखसम्म” भन्ने आफ्नो अवधारणालाई मार्गदर्शनका रूपमा लिँदै नगरपालिकाले पानीको स्रोतदेखि उपभोक्तासम्म सुरक्षित खानेपानी सुनिश्चित गर्ने लक्ष्य राखेको छ। यस लक्ष्यलाई हासिल गर्न केवल पूर्वाधार निर्माण मात्र पर्याप्त थिएन।
यसका लागि संस्थागत क्षमता, नियमित अनुगमन, दिगो वित्तीय व्यवस्था, जवाफदेहिता तथा समन्वित कार्यप्रणाली सहितको सुदृढ नगरपालिका WASH प्रणाली आवश्यक थियो। त्यसैले यो पहलले पानीको गुणस्तर परीक्षण प्रयोगशालालाई छुट्टै पूर्वाधारका रूपमा नभई समग्र नगरपालिका WASH प्रणालीको अभिन्न अंगका रूपमा विकास गर्ने WASH प्रणाली सुदृढीकरण (WASH Systems Strengthening) दृष्टिकोण अवलम्बन गर्यो।
आज बाँसगढी नगरपालिकाले पानीको गुणस्तर मिनी प्रयोगशाला स्थापना गरी नगरपालिका WASH प्रणालीभित्र नियमित पानीको गुणस्तर अनुगमनलाई संस्थागत गरेको छ।
यस अवधारणालाई व्यवहारमा उतार्न बासगढी नगरपालिकाले SWSC/SDC (चौथो चरण) को सहयोगमा Terre des hommes (Tdh) र गेरुवा सँग साझेदारी गर्दै नगरपालिका स्तरको पानीको गुणस्तर मिनी प्रयोगशाला स्थापना गर्यो। साथै यसको दीर्घकालीन सञ्चालनका लागि आवश्यक संस्थागत, प्राविधिक, वित्तीय तथा सञ्चालन प्रणालीहरू पनि सुदृढ बनाइयो।
प्रयोगशाला स्थापनाको कुल लागतमा नगरपालिकाले ५५ प्रतिशत र परियोजनाले ४५ प्रतिशत लगानी गरेका थिए। यस साझा लगानीले नगरपालिका नेतृत्व, स्वामित्व र साझा जिम्मेवारीलाई बलियो बनाउनुका साथै सेवा प्रवाहलाई स्थानीय सरकारको विद्यमान संरचना र वित्तीय प्रणालीभित्र क्रमशः संस्थागत गर्ने आधार तयार गर्यो।

लागत साझेदारीमा मात्र सीमित नभई परियोजनाले प्राविधिक सहयोग, संस्थागत पैरवी, क्षमता अभिवृद्धि तथा स्थानीय सन्दर्भ अनुकूल योजना निर्माणमा निरन्तर सहजीकरण गर्यो, जसले प्रयोगशालालाई परियोजनामा निर्भर संरचना भन्दा नगरपालिकाको नियमित सार्वजनिक सेवाका रूपमा संस्थागत गर्न सहयोग पुर्यायो।
यस प्रक्रियामा स्विस वाटर एण्ड स्यानिटेसन कन्सोर्टियम (SWSC) का क्षेत्रीय सल्लाहकार–एसियाले प्रारम्भिक अवधारणादेखि पानीको गुणस्तर अनुगमन, वित्तीय व्यवस्थापन तथा सेवा प्रवाहका दिगो प्रणाली विकाससम्म महत्वपूर्ण प्राविधिक मार्गदर्शन र रणनीतिक सहयोग प्रदान गर्नुभयो।
बासगढी नगरपालिकाले यस प्रयोगशालालाई जिल्लास्तरीय पानीको गुणस्तर परीक्षण केन्द्रका रूपमा विकास गर्ने दीर्घकालीन योजना अघि सारेको छ।
सहयोग अन्तर्गत प्रयोगशालाका लागि उपयुक्त भौतिक पूर्वाधार व्यवस्थापन, आवश्यक उपकरण तथा परीक्षण सामग्री खरिदमा प्राविधिक परामर्श, प्रयोगशालाका जनशक्तिको क्षमता विकास तथा सुशासन, गुणस्तर सुनिश्चितता, वित्तीय व्यवस्थापन, सेवा प्रवाह र दीर्घकालीन सञ्चालन समेटिएको विस्तृत सञ्चालन रणनीति तयार गरिएको थियो।
विस्तृतमा हेर्नुहोस् यो भिडियो :
यस यात्राको एउटा महत्वपूर्ण उपलब्धि WASH प्रणाली सुदृढीकरण कार्यशाला थियो। उक्त कार्यशालामा नगरपालिकाका विभिन्न शाखाका प्रतिनिधिहरूले WASH System Building Blocks Framework को आधारमा नगरपालिकाको WASH प्रणालीको संयुक्त समीक्षा गरे।
यस सहभागी प्रक्रियाले प्रणालीगत चुनौतीहरू पहिचान गर्न, व्यावहारिक समाधानलाई प्राथमिकता दिन तथा विभिन्न शाखाबीच समन्वय सुदृढ गर्न महत्वपूर्ण भूमिका खेलेको थियो। यसले नगरपालिका स्तरमा पानीको गुणस्तर व्यवस्थापनप्रति साझा प्रतिबद्धतालाई अझ मजबुत बनायो।
आज बाँसगढी नगरपालिकाले सफलतापूर्वक पानीको गुणस्तर मिनी प्रयोगशाला स्थापना गरी नगरपालिका WASH प्रणालीभित्र नियमित पानीको गुणस्तर अनुगमनलाई संस्थागत गर्ने दिशामा महत्वपूर्ण उपलब्धि हासिल गरेको छ।
प्रमुख उपलब्धिहरू
• नियमित रूपमा खानेपानीको गुणस्तर परीक्षण गर्न सक्षम नगरपालिका स्तरको प्रयोगशाला स्थापना।
• प्रयोगशालाका प्राविधिक जनशक्तिको तालिम, व्यवहारिक अभ्यास तथा निरन्तर मार्गदर्शनमार्फत क्षमता अभिवृद्धि।
• सुशासन, गुणस्तर सुनिश्चितता, वित्तीय व्यवस्थापन तथा दिगो सेवा प्रवाहलाई मार्गदर्शन गर्ने विस्तृत सञ्चालन रणनीति विकास।
• प्रयोगशाला स्थापनामा नगरपालिकाबाट ५५ प्रतिशत आर्थिक लगानी गरी स्थानीय स्वामित्व र प्रतिबद्धताको उदाहरण प्रस्तुत।
• पानीको गुणस्तर व्यवस्थापनका लागि नगरपालिकाका विभिन्न शाखाबीच प्रभावकारी समन्वय र सहकार्य सुदृढ।

SWSC का क्षेत्रीय सल्लाहकार–एसियाको मार्गदर्शनमा परियोजनाले सेवा विस्तारको लक्ष्यका आधारमा आवश्यक लागतको अनुमान तयार गर्न नगरपालिकालाई सहयोग गर्यो। यसले आवश्यक स्रोत पहिचान गर्न तथा नगरपालिका स्रोत परिचालनलाई सुदृढ बनाउन आधार प्रदान गर्यो। लागत अनुमान सम्बन्धी प्रतिवेदन औपचारिक रूपमा नगरपालिकामा पेश गरिएको थियो, जसले नगरपालिकाको दीर्घकालीन लक्ष्यलाई अघि बढाउन स्रोत व्यवस्थापनमा सहयोग पुर्यायो।
नगरपालिकाले आफ्नो प्रतिबद्धतालाई थप मजबुत बनाउँदै चालु आर्थिक वर्षको बजेटमा प्रयोगशालाको सञ्चालन सुदृढीकरण तथा सेवा विस्तारका लागि करिब १८ लाख रुपैयाँ विनियोजन गरेको छ। नगरपालिका स्रोतबाट हुने यो लगानी प्रयोगशालालाई संस्थागत गर्दै बाह्य सहयोगमा निर्भरता क्रमशः घटाउने महत्वपूर्ण कदम हो।

आफ्नो सेवा क्षेत्रभन्दा बाहिर पनि बासगढी नगरपालिकाले यस प्रयोगशालालाई जिल्लास्तरीय पानीको गुणस्तर परीक्षण केन्द्रका रूपमा विकास गर्ने दीर्घकालीन योजना अघि सारेको छ। यस मार्फत छिमेकी स्थानीय तहहरूलाई समेत परीक्षण सेवा उपलब्ध गराउने लक्ष्य राखिएको छ।
यसले एकातिर भरपर्दो परीक्षण सेवामा पहुँच विस्तार गर्नेछ भने अर्कोतर्फ सेवा शुल्कबाट प्राप्त आम्दानी पुनः प्रयोगशालाको सञ्चालन तथा सेवा सुधारमा लगानी गर्न सकिने दिगो वित्तीय आधार पनि सिर्जना हुनेछ। यसले स्थानीय सरकारको नेतृत्वमा सञ्चालन हुने दिगो सेवा मोडेलका रूपमा अन्य स्थानीय तहका लागि समेत उदाहरण प्रस्तुत गर्ने अपेक्षा गरिएको छ।
बाँसगढी नगरपालिकाको अनुभवले दिगो सार्वजनिक सेवा स्थानीय नेतृत्व, संस्थागत स्वामित्व र दीर्घकालीन लगानीबाट निर्माण हुने स्पष्ट देखाएको छ। नगरपालिकाले दृष्टिकोण निर्माण, निर्णय प्रक्रिया तथा स्रोत व्यवस्थापनमा नेतृत्वदायी भूमिका निर्वाह गर्दा प्राविधिक साझेदारहरूले प्राविधिक विशेषज्ञता, क्षमता अभिवृद्धि, संस्थागत पैरवी तथा रणनीतिक सहजीकरणमार्फत उत्प्रेरक (Catalytic) भूमिका निर्वाह गरेका छन्।

यस प्रक्रियाबाट बासगढी नगरपालिका परियोजनाको अवधि समाप्त भएपछि पनि पानीको गुणस्तर अनुगमन सेवालाई निरन्तरता दिन र विस्तार गर्न सक्षम अवस्थामा पुगेको छ। यसको अनुभवले विकास साझेदारहरूले प्रत्यक्ष कार्यान्वयनकर्ताको भूमिका भन्दा पनि सहजीकरणकर्ताको भूमिका निर्वाह गर्दा स्थानीय सरकारहरूलाई आफ्नै नेतृत्वमा योजना सञ्चालन, वित्तीय व्यवस्थापन तथा सार्वजनिक सेवाको निरन्तर सुधार गर्न सक्षम बनाउन सकिने उदाहरण प्रस्तुत गरेको छ।
यस सहकार्यात्मक तथा WASH प्रणाली सुदृढीकरण दृष्टिकोणमार्फत बासगढी नगरपालिकाले स्थानीय स्वामित्वमा आधारित र संस्थागत पानीको गुणस्तर अनुगमन प्रणाली स्थापना गर्न सफल भएको छ। यसले सुशासन, समन्वय, संस्थागत क्षमता, वित्तीय व्यवस्थापन, अनुगमन तथा सेवा प्रवाहलाई सुदृढ बनाउँदै दीर्घकालसम्म जनस्वास्थ्य संरक्षण र सुरक्षित खानेपानीमा नागरिकको पहुँच सुनिश्चित गर्ने बलियो आधार निर्माण गरेको छ।



210 पटक हेरिएको 

