बझाङमा पिउने पानी असुरक्षित : ४२१ मध्ये ५५ प्रतिशत नमुनामा ई–कोली

विद्यालय र स्वास्थ्य संस्थाको पानीसमेत असुरक्षित

  वास खबर सम्बाददाता  161 पटक हेरिएको
🔗
41
Shares

बझाङ : जिल्लाभरका खानेपानीका मुहान, ट्याङ्की तथा धाराबाट संकलन गरिएका ४२१ वटा नमुनामध्ये आधाभन्दा बढीमा दिसाजन्य जीवाणु (ई–कोली/फिकल कोलिफर्म) भेटिएको छ।

स्वास्थ्य कार्यालय बझाङले सार्वजनिक गरेको ‘खानेपानी गुणस्तर निगरानी–२०८३’ प्रतिवेदन अनुसार जिल्लाका ११ वटै स्थानीय तहबाट संकलन गरिएका नमुनामध्ये ५५.३ प्रतिशतमा दिसाजन्य जीवाणु भेटिएको हो। प्रतिवेदनले जिल्लाको खानेपानीको सुरक्षा, सार्वजनिक स्वास्थ्य तथा खानेपानी व्यवस्थापनमाथि गम्भीर प्रश्न उठाएको छ।

प्रतिवेदनअनुसार सार्वजनिक धारा, निजी धारा, वडा तथा पालिका कार्यालय, विद्यालय, स्वास्थ्य संस्था तथा खानेपानी आयोजनाका मुहान र ट्याङ्कीबाट संकलन गरिएका ४२१ वटा नमुनाको प्रयोगशालामा परीक्षण गरिएको थियो। परीक्षण गरिएका नमुना मध्ये आधाभन्दा बढी राष्ट्रिय मापदण्डअनुसार पिउन अयोग्य देखिएका छन्।

प्रतिवेदनले जिल्लाका ११ वटै पालिकामा कुनै न कुनै स्तरमा खानेपानी दूषित रहेको देखाएको छ। सबैभन्दा खराब अवस्था मष्टा गाउँपालिकाको रहेको छ, जहाँ परीक्षण गरिएका सबै नमुनामा दिसाजन्य जीवाणु भेटिएको छ।

त्यसपछि थलारा गाउँपालिकामा ८० प्रतिशत, दुर्गाथलीमा ७८ प्रतिशत, छबिसपाथिभेरामा ६९ प्रतिशत तथा जयपृथ्वी नगरपालिकामा ६७.३ प्रतिशत नमुना दूषित पाइएको छ। सबैभन्दा बढी ८७ वटा नमुना संकलन गरिएको बुंगल नगरपालिकामा ६५.५ प्रतिशत नमुना असुरक्षित रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ।

विद्यालय र स्वास्थ्य संस्थाको खानेपानीसमेत असुरक्षित

प्रतिवेदनले विद्यालय तथा स्वास्थ्य संस्थामा प्रयोग भइरहेको खानेपानीसमेत सुरक्षित नरहेको देखाएको छ। परीक्षण गरिएका ५०.८ प्रतिशत सार्वजनिक विद्यालय र ५६.२ प्रतिशत स्वास्थ्य संस्थाका खानेपानीका नमुनामा दिसाजन्य जीवाणु भेटिएको छ। मष्टा गाउँपालिकाका विद्यालय तथा स्वास्थ्य संस्थाबाट संकलन गरिएका सबै नमुना दूषित पाइएको प्रतिवेदनले देखाएको छ।

संवेदनशील स्थानमै दूषित पानी प्रयोग भइरहँदा कुनै पनि बेला पानीजन्य रोगको प्रकोप फैलिन सक्ने स्वास्थ्यकर्मीले चेतावनी दिएका छन्। जिल्ला अस्पताल बझाङका निमित्त प्रमुख डा. प्रशान्त ढुंगानाले बिरामी र बालबालिकाले प्रयोग गर्ने पानीमै संक्रमण भेटिनु अत्यन्त गम्भीर विषय भएको बताउनुभयो।

उहाँले जोखिममा रहेका बिरामी र बालबालिकाले प्रयोग गर्ने खानेपानीमै दिसाजन्य जीवाणु भेटिनु स्वास्थ्यका लागि मात्र नभई सार्वजनिक स्वास्थ्य व्यवस्थापनकै चुनौती भएको उल्लेख गर्नुभयो। डा. ढुंगानाले जिल्ला अस्पतालमा आउने बिरामीमध्ये करिब ६० प्रतिशत पानीजन्य संक्रमणसँग सम्बन्धित हुने जानकारी दिनुभयो। तीमध्ये झन्डै ४० प्रतिशत बिरामीलाई भर्ना गरेर उपचार गर्नुपर्ने अवस्था आउने बताउनुभयो।

उहाँका अनुसार अस्पतालमा दैनिक करिब दुई सय बिरामी आउने गर्छन्। झाडापखाला, गम्भीर डिहाइड्रेसन, टाइफाइड, जन्डिस, हेपाटाइटिस–ए र ई, आन्द्राको संक्रमण, घाउ तथा आन्द्रा थुनिने समस्या धेरैजसो दूषित पानीसँग सम्बन्धित हुने उल्लेख गर्नुभयो।

किन दूषित हुँदैछ खानेपानी ?

स्वास्थ्य कार्यालयको प्राविधिक टोलीले स्थलगत अध्ययनका क्रममा खानेपानी दूषित हुनुका मुख्य कारण पनि पहिचान गरेको छ। स्वास्थ्य कार्यालय बझाङका ल्याब टेक्निसियन निरीक्षक नारायण जोशीले अधिकांश मुहानमा बाहिरी फोहोर पानी मिसिनु, ट्याङ्की नियमित सफा नगरिनु, ढक्कन खुला रहनु, पाइपलाइन फुट्नु तथा चुहावट हुनु मुख्य कारण रहेको जानकारी दिनुभयो।

उहाँले धेरैजसो खानेपानी आयोजनामा खानेपानी सुरक्षासम्बन्धी न्यूनतम मापदण्डसमेत पालना नगरिएको उल्लेख गर्नुभयो। उपभोक्ता समितिको निष्क्रियता तथा नियमित मर्मत–सम्भारको अभाव अहिलेको अवस्थाको प्रमुख कारण भएको बताउनुभयो।

सबै नमुनामा क्लोरिन शून्य

प्रतिवेदनअनुसार परीक्षण गरिएका ४२१ वटै नमुनामा क्लोरिनको मात्रा शून्य पाइएको छ। यसले अधिकांश खानेपानी आयोजनामा नियमित रूपमा पानी शुद्धीकरण नगरेको पुष्टि गरेको छ। राष्ट्रिय खानेपानी गुणस्तर मापदण्ड–२०७९ अनुसार खानेपानीमा ०.१ देखि ०.५ मिलिग्राम प्रतिलिटर क्लोरिन हुनुपर्ने व्यवस्था छ। तर बझाङका कुनै पनि नमुनाले उक्त मापदण्ड पूरा नगरेको प्रतिवेदनमा उल्लेख गरिएको छ।

त्यसैगरी १२ वटा नमुनामा पानीको पीएच मान पनि राष्ट्रिय मापदण्डभन्दा बाहिर रहेको पाइएको छ। केही नमुना अत्यधिक अम्लीय र केही क्षारीय रहेको प्रतिवेदनले देखाएको छ।

सदरमुकाम चैनपुरको खानेपानी पनि दूषित

समस्या ग्रामीण क्षेत्रमा मात्र सीमित नरहेको प्रतिवेदनले देखाएको छ। सदरमुकाम चैनपुरका करिब १ हजार ५ सय उपभोक्ताले प्रयोग गर्ने खानेपानीसमेत दूषित रहेको पाइएको छ।

सेती नदीबाट पम्पिङ गरेर वितरण गरिने उक्त आयोजनाको ट्याङ्की तथा विभिन्न धाराबाट संकलित नमुनामा दिसाजन्य जीवाणु भेटिएको छ। विशेषगरी करिब दुई हजार विद्यार्थी अध्ययनरत सत्यवादी माध्यमिक विद्यालयको ट्याङ्कीबाट लिइएको नमुनामा संक्रमणको मात्रा अन्य स्थानको तुलनामा बढी रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ।

चैनपुर साना सहरी खानेपानी उपभोक्ता समितिका अध्यक्ष लोकेन्द्र विष्टले स्वास्थ्य कार्यालयको प्रतिवेदन प्राप्त भएपछि नियमित रूपमा क्लोरिन प्रयोग गरेर पानी शुद्धीकरण सुरु गरिएको बताउनुभयो। उहाँले अब आफ्नै प्रयोगशाला स्थापना गरी नियमित रूपमा पानी परीक्षण गर्ने तयारी भइरहेको जानकारी दिनुभयो।

प्रतिवेदनले खानेपानी आयोजनामा नियमित क्लोरिनेसन, ट्याङ्की सफाइ, पाइपलाइन मर्मत, खानेपानी सुरक्षा योजना कार्यान्वयन तथा उपभोक्ता समितिलाई आवश्यक तालिम उपलब्ध गराउन स्थानीय तहलाई सुझाव दिएको छ।

स्वास्थ्यकर्मीहरूले खानेपानीको गुणस्तरमा सुधार नआएसम्म पानी उमालेर, फिल्टर गरेर वा क्लोरिन प्रयोग गरेर मात्र पिउन सर्वसाधारणलाई आग्रह गरेका छन्। कान्तिपुर दैनिकबाट।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार