
काठमाडौ : विश्वमा प्रदूषित सहरको उच्च सूचीमा पर्ने नेपालको राजधानी काठमाडौँलाई धुलो र धुवाँमुक्त सहर बनाउने अभियानलाई वातावरण विभागले अगाडि बढाएको छ । प्रदूषित र अत्यधिक धुवाँयुक्त राजधानीलाई धुलो, धुवाँमुक्त गराउने उद्देश्यसहित विभागले काम सुरु गरेको हो ।
विभागका महानिर्देशक ज्ञानराज सुवेदीले भन्नुभयो, “प्रदूषित सहरको त्यो मानकबाट अब सफा सहरको मानकमा रूपान्तरण गर्ने लयमा हामी अगाडि बढेका छौँ, त्यसका लागि कार्ययोजना र अनुगमन दुवैलाई बलियो बनाउँदै छौँ ।” राजधानी नै प्रदूषित छ भन्ने नकारात्मक धारणा हटाउँदै स्वच्छ र मानव स्वास्थ्यमैत्री राजधानी सहर निर्माणका लागि ‘वायु गुणस्तर कार्ययोजना २०२६’ ल्याउने तयारीमा विभाग छ ।
काठमाडौँ उपत्यका सफा र स्वच्छ हुन्छ भनेर विभिन्न अध्ययनले भनेको छ । ती सबै कुरालाई कार्ययोजनाले बृहत्तर रूपमा समेट्दै कार्यान्वयनका लागि तयारी गरेको महानिर्देशक सुवेदीले बताउनुभयो । अन्तिम चरणमा पुगेको कार्ययोजनाको मसौदामा रायसुझाव लिने क्रम जारी छ ।
वायु गुणस्तर कार्ययोजना, २०२६ ले विशेष गरी रणनीति अनुसार जैविक इन्धन प्रयोगलाई घटाउन उद्योगहरूका मेसिन परिवर्तनका लागि सरकारले अनुदान दिने छ । अनुकूलनमा जाँदै सफा ऊर्जा अन्तर्गत उद्योगलाई बायोब्रिकेट तथा विद्युतीय मेसिनको प्रयोगमा जोड दिने नीति लिइएको विभागका प्रवक्ता कञ्चनकुमार नायकले बताउनुभयो । अत्यधिक धुवाँ उत्सर्जन गर्ने उद्योगलाई क्रमैसँग उपत्यकाबाहिरका औद्योगिक क्षेत्रमा प्रतिस्थापन गर्ने लक्ष्य राखिएको छ । धुवाँ बढी निकाल्ने नेपालका चार सय उद्योगका १० लाख वटा ब्वाइलर परिवर्तन गर्नुपर्ने अवस्थामा छन् ।
कार्ययोजना निर्माणमा सक्रिय वातावरण निरीक्षक हसना श्रेष्ठका अनुसार २०७६ मा ल्याइएको कार्ययोजनाले समेट्न नसकेका विषयसँगै कार्ययोजनालाई कार्यान्वयनमुखी बनाउने सोच लिएको छ । श्रेष्ठले भन्नुभयो, “अन्तरदेशीय र अन्तरक्षेत्रीय वायुप्रदूषणका विषयसँगै डढेलोले बढाउने प्रदूषणको निराकरणबारे कार्ययोजना बोल्छ, जुन विगतमा समेटिएको थिएन ।”
एकीकृत पर्वतीय विकासका लागि अन्तर्राष्ट्रिय केन्द्र (इसिमोड) ले तयार पारेको योजनासँगै विश्व स्वास्थ्य सङ्गठनको सुझावसहितका योजनाका अंशलाई समेट्ने तयारी छ । उहाँले थप्नुभयो, “विगतका कार्ययोजनाबाट पाठ सिकेका छौँ, पूरा गर्नै नसकिने कुरा र अप्ठ्यारा हटाउँदै सम्भाव्य योजनालाई अघि बढाएका छौँ ।”
भारतबाट काठमाडौँ आउने धुलो र धुवाँसहितको अन्तरदेशीय प्रदूषणलाई कसरी कम गर्ने भन्ने विषयमा कार्ययोजना कमजोर देखिएको छ । डढेलोविज्ञ सुन्दर शर्माका अनुसार काठमाडौँ खाल्टोमा जम्ने धुलो, धुवाँ हटाउन वर्षा नै महत्वपूर्ण विकल्प हो तर हिउँदयाममा वर्षा कम हुँदै गर्दा आन्तरिक योजना बनाउनुपर्ने देखिएको छ ।


159 पटक हेरिएको 

