
पानी मानिसको जीवन हो । त्यसमा पनि पनि शुद्ध पिउने पानीको आपूर्ति, २४ सै घण्टा । कुनै बेला पानीकै लागि झैझगडा हुने पोखरा महानगरपालिका वडा नं २५ हेम्जामा नेपाल खानेपानी संस्थाले खानेपानीको व्यवस्थापन गर्न थालेपछि जनमुखी, सहभागितामूलक र प्रमाणमात्र आधारित योजना तर्जुमा र कार्यान्वयन हुन थालेको छ । जसबाट, अहिले स्थानीयले चौवीसै घण्टा शुद्ध पिउने पानी सेवा उपभोग गरिरहेका छन् ।
तत्कालीन जिल्ला विकास समिति, गाउँ विकास समिति र पोखरा उपमहानगरपालिकाहुँदै महानगरपालिका बनिसक्दा पनि यहाँ सुरक्षित पानीको सहज आपूर्ति असम्भवजस्तै देखिन्थ्यो । तत्कालिन गाउँ विकास समितिको मातहतमा रहँदा पानीको उचित प्रबन्ध गर्न कठिन भएको स्थानीय तथा तत्कालिन गाविस कार्यालयका प्रशासन प्रमुख ईश्वरीप्रसाद बास्तालाको अनुभव छ ।
समय बदलियो, गाउँपालिका उपमहानगर हुँदै महानगरपालिकामा परिणत भयो । जनघनत्व बढ्यो, घर थपिए, पानीको प्रयोग बढ्न थाल्यो । रैथाने मुहानबाट ल्याएको पानी पर्याप्त भएन । पानी व्यवस्थापनको विकल्प खोज्ने क्रममा पोखरा महानगरपालिकाभित्रै नेपाल खानेपानी संस्थान पोखरा शाखाले सेवा प्रवाह गरिरहेको थियो । सोही गहन विषयलाई अध्ययन गरी हेम्जामा पनि खानेपानी संस्थानको आवश्यकतालाई हेर्दै जिम्मा दिने निर्णय भएको थियो । तत्कालीन अवस्थामा पोखरा शाखा कार्यालयबाट हेर्ने गरी संस्थानले विस्तारमा आकार ग्रहण गर्दै आएको थियो ।
मर्दी खोलाको पानी पोखरा लगेर खुवाउँदै आएको देखिरहेको हेम्जाले २०७० सालमा खानेपानी संस्थानलाई पानी वितरणको जिम्मा दिने निर्णय गरेसँगै तत्कालिन गाउँ विकास समिति कार्यालयको अगुवाइमा राजनीतिक दल सम्मिलित सर्वदलीय समिति र स्थानीय खानेपानी उपभोक्ता समितिको सहजतामा संस्थान र वडालाई हुनेगरी सम्झौता गरेको थियो । नेपाल खानेपानी संस्थानका तत्कालीन महाप्रबन्धक ईं.अर्जुनबाबु ढकाल, संस्थानका तर्फबाट बुद्धरत्न महर्जन र विन्ध्यवासिनी इकाईका प्रमुख दिनेश्वरप्रसाद यादवको हस्ताक्षर भएको सम्झौताले आजको अवस्था सिर्जना गरेको हो ।
तत्कालिन गाविस सचिव चोलानाथ रेग्मी, प्रशासन प्रमुख ईश्वरीप्रसाद बास्तोला, हेम्जा गाविसका पूर्व अध्यक्ष रामचन्द्र त्रिपाठी, वडा नागरिक मञ्चका अध्यक्ष दयाराम सापकोटा, नेवारेखोला तथा झाक्रीस्थान खानेपानी उपभोक्ता समितिका अध्यक्ष जीतबहादुर कार्की, वृहद् हेम्जा खानेपानी उपभोक्ता समितिका विशालजंग कुँवर, हेम्जा खानेपानी उपभोक्ता समिति वडा (४–९) का मनबहादुर खत्रीले संस्थानबाट सेवा लिनु प्रभावकारी हुने उद्देश्यले हस्ताक्षर गरेका थिए ।
सम्झौता भएको आज १३ वर्ष पुग्दा हेम्जाले खानेपानीमा गरेको परिवर्तन लोभलाग्दो छ । मुख्य मुहान घट्टेखोलाबाट हिउँदमा प्रतिसेकेन्ड २५ लिटर, राङरुङबाट प्रतिसेकेन्ड २ लिटर र भुनखोलाबाट प्रतिसेकेन्ड ४ लिटर पानी हेम्जामा आउने गरेको प्रमुख सन्तोषकुमार दासले बताए । यस्तै हिउँद याममा भूमिगत श्रोतबाट पोखरी खेत बोरिङबाट प्रतिसेकेन्ड १५ लिटर र सहेलाघारी बोरिङबाट ११ लिटर प्रतिसेकेन्ड पानी उत्पादन क्षमता रहेको दासले बताए ।

मुहानहरुमा प्रायः हिउँदको समयमा पानी सङ्लो भए पनि वर्षा याममा भेलबाढी मिसिएर आउने धमिलो पानीले गुणस्तर कायम गर्न चुनौति रहेको छ । पानीको विषयलाई लिएर स्थानीयको पटक पटकका गुनासोलाई समाधान गर्ने प्रयास हेम्जा शाखाले गरिरहेको छ । नेपाल खानेपानी संस्थान हेम्जा शाखा कार्यालयले स्थानीय उपभोक्ता तथा स्थानीय सरकारसँग हातेमालो गर्दै आज नमुना बनाउने प्रयास गरिरहेको छ ।
संस्थानका विभिन्न २२ वटा शाखा कार्यालय रहे पनि २४ सै घण्टा पानी वितरण गर्ने प्रबन्ध मिलाउने शाखा भने पहिलो बनेको छ । वोरिङको पानीलाई समेत शुद्धीकरण गरेर उपभोक्ताको घरघरमा पु¥याउने लक्ष्य बोकेका शाखाका प्रमुख ई. सन्तोषकुमार दासले आयोजना सम्पन्न गर्ने क्रममा कम जनशक्ति, केही स्थानीयहरुको अवरोध, उपभोक्ताको महत्वकांक्षी माग, आर्थिक अभाव तथा कानुनी प्रक्रिया लगायत विषयलाई ध्यान दिँदै सवै योजनाहरु अगाडि बढाउने काम भएको बताएका छन् ।
तत्काल लिक मर्मत गर्ने, नयाँ योजना निर्माणमा चासो देखाउने, केन्द्रीय कार्यालयसँगको समन्वयमा सकारात्मक बन्न सकेका इन्जिनियर दासले हेम्जा वडाका अध्यक्ष मोतिलाल तिमिल्सिनासँगको सहकार्यबाट दीर्घकालीन रुपमा खानेपानी व्यवस्थापनमा बल पुगेको बताउँछन् ।
जग्गा उपयोगको लागि सहजीकरण गर्ने, स्थानीय विवाद समाधान गर्ने, भविष्यको हेम्जालाई आकर्षक र नमूना वडा बनाउने योजनामा रहेका वडाध्यक्ष तिमिल्सिनाको भावना र कार्यायल प्रमुख दासको लगनशीलताले खानेपानीको योजनाहरु धेरै हदसम्म सफल भएको भन्न सकिन्छ । हेम्जा शाखाले ट्रिट्मेन्ट प्लान्ट निर्माण गर्न कूल १२ करोडको लागत भएपनि हाल ५ करोड रुपैयाँको लागतमा प्रारम्भिक प्रशोधन केन्द्र निर्माण भई सुचारु भइसकेको छ, जसबाट पानीको गुणस्तर सुधार हुने प्रमुख दासको भनाइ छ ।
हेम्जाको भूगोल याम्दीदेखि २२ दशमलव ३८ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ । वडाको बीच भागबाट बनेको राजमार्गले आकर्षक मात्र बनाएको छैन, देखिने हिमशृङ्खलाको सुन्दर दृष्य, तिब्बती समुदायको बसोबास गर्ने शरणार्थी शिविर, स्थानीय मठ मन्दिर, साहसिक खेल जीपलाइन, कृषिमा आलुले थपेको क्रेजसँगै शिक्षा, स्वास्थ्य र प्रयाप्त खानेपानीले वडालाई थप आकर्षक र उर्जा मिलेको पारिवारिक कामको सिलसिलामा अमेरिका रहेका वडा अध्यक्ष मोतिलाल तिमिल्सिनाले बताए ।
करिव २२ हजारको हाराहारीमा बसोबास गर्ने वडामा ३ हजार ५ सय बढी घरहरु रहेका छन् । संस्थानले आवश्यकता र महत्वलाई मध्यनजर गर्दै प्रभावकारी सेवा दिइरहेको छ । करिव ३ हजार ३ सय संख्याको धाराबाट हेम्जा शाखाले सेवा प्रावह गरिरहेको कार्यालय प्रमुख दास बताउँछन् । स्थानीय पानीको मुहानलाई संरक्षण गर्दै पानी शुद्धीकरण गरिरहेको हेम्जा शाखाले सरकारको नीति अनुरुप १ घर १ धाराको लक्ष्य पुरा गर्न पोखरीखेत र सहेलाघारी क्षेत्रमा समेत बोरिङ गाडेको छ ।
पानीको माग र आपूर्तिलाई ध्यान दिएको शाखाले आवश्यकता अनुसार २४ सै घण्टा पानी वितरण गर्न आवश्यक उत्पादन भएको पानीलाई माग अनुरुप सेवा विस्तार गरिरहेको छ । पानी शुद्धीकरण कसरी हुन्छ भन्ने सावलमा कार्यालय प्रमुख दासले अन्नपूर्ण गाउँपालिका वाड नं ३ र माछापुछ्रे गाउँपालिकाको सिमानाबाट बग्ने घट्टेखोलाबाट हिउँद र वर्षा याममा आउने पानीलाई प्रशोधन केन्द्रमा प्रारम्भिक तथा सुर्का ट्यांकीमा भण्डारण गरी वितरण गर्ने प्रबन्ध मिलाएको वताउँछन् ।

राङ्रुङ् खोला, भुनखोलाबाट आएको सतही पानी तथा पोखराी खेत र सहेलाघारीमा निर्माण भएको भूमिगतपानीलाई ढाडासुर्कामा निर्माण भएको पानी प्रशोधन केन्द्रमा प्रशोधित भएको पानी सुर्का ट्यांकीबाट शाखा पाइपलाइन विस्तार गरेर घरघरमा धारा वितरण हुने गरेको छ ।
हेम्जा शाखा कार्यालयको जानकारी अनुसार हिउँदमा दैनिक ३५ लाख लिटर र वर्षामा २८ लाख लिटर पानीको माग अनुरुप खपत हुने गरेको जनाएको छ । यसको अतिरिक्त खानेपानी संस्थान हेम्जा शाखाले पानी परीक्षण प्रयोगशाला, मिटर परीक्षण प्रयोगशाला, र्यापिड सेड प्रविधिको प्रशोधन केन्द्र निर्माण गर्न पहिलो चरणको काम सम्पन्न भएको छ भने प्रारम्भिक प्रशोधन सुरु भएको छ ।


188 पटक हेरिएको 

