
तानसेन : गुणस्तरहीन पानी पिउँदै आएका पाल्पाका सात सयभन्दा बढी घरपरिवारले यस वर्षदेखि गुणस्तरीय खानेपानी उपभोग गर्न पाएका छन् । वर्षौंदेखि धमिलो र कोलिफर्मयुक्त पानी प्रयोग गर्न बाध्य घरपरिवारमा गुणस्तरीय खानेपानीको पहुँच पुगेको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय पाल्पाले जनाएको छ ।
सङ्घीय सरकारको खानेपानी गुणस्तर सुधार कार्यक्रम अन्तर्गत जिल्लाका सात स्थानका घरपरिवारमा गुणस्तरीय खानेपानीको पहुँच विस्तार गरिएको कार्यालयका प्रमुख गुणनिधि पोखरेलले जानकारी दिनुभयो ।
गुणस्तरीय खानेपानीको पहुँच पुर्याउन गत आर्थिक वर्ष २०८२/८३ मा दुई करोड १६ लाख रुपियाँ बजेट विनियोजन गरिएको थियो । ठेक्का प्रक्रियाबाट एक करोड ४४ लाख ९४ हजार रुपियाँमा उक्त काम सम्पन्न गरिएको पोखरेलले बताउनुभयो ।
नदी तथा खोलाबाट सिधै उपभोक्ताको धारामा पुग्ने पानीलाई फिल्टर गरी जीवाणु नष्ट गरेपछि मात्र घरघरमा वितरण गरिएको कार्यालयले जनाएको छ । यसअघि उपभोक्ताको धारामा सिधै पुग्ने पानीमा वन्यजन्तु तथा पशुपन्छीको मलमूत्रबाट आउने कोलिफर्म जीवाणु भेटिने गरेको थियो ।
पानी शुद्धीकरणका लागि अटोमेटिक क्लोरिनेसन युनिट जडान गरिएको छ । उक्त उपकरणले पानीमा रहेका हानिकारक जीवाणु नष्ट गर्ने कार्यालयका सूचना अधिकारी आदित्य धितालले बताउनुभयो । शुद्ध पानीको उपलब्धताले उपभोक्ताको स्वास्थ्यमा सुधार ल्याउनुका साथै सामाजिक तथा आर्थिक परिवर्तनमा सकारात्मक भूमिका खेल्ने उहाँले बताउनुभयो ।
सफा र शुद्धीकरण गरिएको पानी पिउन पाएपछि स्थानीयवासी खुसी भएका छन् । वर्षौंदेखि धमिलो पानी प्रयोग गर्न बाध्य बगनासकाली–१, गावटुङ्का स्थानीय नेत्रकुमारी सिंजालीले अहिले सफा र शुद्ध पानी पाउँदा खुसी लागेको बताउनुभयो ।
‘‘पहिलेको पानी पिउँदा झाडापखाला, आउँलगायतका रोग लाग्ने डर हुन्थ्यो । अहिले ढुक्क भएर धाराको पानी प्रयोग गर्न पाएका छौँ,’’ उहाँले भन्नुभयो ।
पाल्पाका अधिकांश डाँडाबस्तीमा खानेपानीको पहुँच पुर्याउन खोला तथा नदीको पानी पम्पिङ र गुरुत्वाकर्षण प्रणालीमार्फत वितरण गरिएको छ । विगतमा खानेपानीको पहुँच विस्तारलाई प्राथमिकता दिइएकोमा अहिले गुणस्तरीय पानी उपभोक्तामाझ पुर्याउने लक्ष्यअनुसार जिल्लाका सात पालिकाका सात स्थानमा खानेपानीको गुणस्तर सुधार गरिएको खानेपानी कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार पूर्वखोला–५, वीरकोटस माथागढी–१, अर्चलेस रैनादेवी छहरा–४, उर्लेनीस तानसेन–११, तिलाहारस रम्भा–५, फेदीखोलास रिब्दीकोट–४, काफलबुटा र बगनासकाली–१, गावटुङ्मा खानेपानीको गुणस्तर सुधार गरिएको हो ।
पाल्पाका करिब ५९ हजार घरधुरीमध्ये ७० प्रतिशतभन्दा बढी परिवारमा खानेपानीको पहुँच पुगेको छ । यद्यपि गुणस्तरीय खानेपानीको पहुँच भने पाँच प्रतिशतमा पनि पुग्न नसकेको कार्यालयले जनाएको छ । गोरखापत्रबाट साभार।


125 पटक हेरिएको 

