
सल्यान : बर्खायाममा खोलाले मुहानमा फोहोर थुपारिदिन्थ्यो । ठाउँ ठाउँमा फुटेका पाइप, जसोतसो ट्याङ्कीमा पानी पुगे पनि घर घरमा धारा थिएन । बर्सौंअघि बनेको ट्याङ्की र जीर्ण पाइप लाइनकै भरमा खानेपानीको जोहो गर्दै आएका सल्यान छत्रेश्वरी गाउँपालिका–५, ढोरेनीका स्थानीय दूषित पानीका कारण पटक पटक बिरामी पर्ने समस्या भोग्दै आएका थिए । अब भने उनीहरूको त्यो बाध्यता हटेको छ ।
खानेपानी आयोजनाको सुदृढीकरणपछि शुद्धीकरण गरिएको पानी घर घरका धारामा आउन थालेपछि ढोरेनीवासीले पन्चैबाजा बजाउँदै नाचगान गरेर खुसी मनाएका छन् । सबैका लागि दिगो खानेपानी, सरसफाइ तथा स्वच्छता (सुस्वा) परियोजना अन्तर्गत ढोरेनीमा एक घर, एक धारा निर्माण गरिएको हो । बर्सौंदेखिको पानीको समस्या हटेको भन्दै स्थानीय दल बहादुर बुढाले खुसी व्यक्त गर्नुभयो ।
आयोजना मार्फत २४ घरधुरी र एक विद्यालयमा नियमित खानेपानीको सुविधा पुगेको हो । शुद्धीकरण गरिएको पानी घरका धारासम्म पुग्ने भएपछि स्थानीय सुरक्षित खानेपानी पाउनेमा ढुक्क भएका छन् । खानेपानी आयोजना सञ्चालनमा आएको खुसीमा स्थानीयले शनिबार उद्घाटन समारोहलाई उत्सवकै रूपमा मनाए ।
महिलाको टप्पा नाचसँगै आमा समूह, बाल क्लब तथा उपभोक्ताले विभिन्न झाँकी प्रस्तुत गरेको र पन्चैबाजाको तालमा नाचगानसमेत भएको कार्यपालिका सदस्य तीला घर्तीले जानकारी दिनुभयो ।
आयोजना निर्माणका लागि नेपाल सरकार र फिनल्यान्ड सरकारको सहयोग, गाउँपालिकाको अनुदान १६ लाख ६४ हजार ५०७ रुपियाँ, उपभोक्ताको नगद ९८ हजार १४६ र श्रमदान बापत चार लाख १३ हजार ४६१ गरेर जम्मा २१ लाख ७६ हजार १११ रुपियाँ लगानी रहेको छत्रेश्वरी गाउँपालिकाका वास संयोजक दीपेन्द्र शाहीले जानकारी दिनुभयो ।
आयोजनाको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष ओजबहादुर बुढाथोकीले शुद्धीकरण गरिएको पानी घर घरमै आएपछि स्वास्थ्य तथा सरसफाइमा समेत सुधार आउने अपेक्षा गर्नुभयो ।
खानेपानीको दिगोपना, नियमित मर्मतसम्भार तथा गाउँटोलमा सरसफाइका गतिविधिलाई पनि निरन्तरता दिइने ढोरेनी खानेपानी सरसफाइ तथा स्वच्छता आयोजनाका अध्यक्ष डिल्लीबहादुर बुढाले बताउनुभयो ।गोरखापत्रबाट साभार।


160 पटक हेरिएको 

