फान्साको आगामी कार्यकालका लागि शर्मा नेतृत्वको वर्तमान समितिलाई नै निरन्तरता

  वास खबर सम्बाददाता  618 पटक हेरिएको
🔗
1,156
Shares

काठमाडौं : फ्रेशवाटर एक्सन नेटवर्क साउथ एसिया (FANSA) नेपालको आगामी तीन वर्षे कार्यकालका लागि वर्तमान कार्यसमितिलाई नै निरन्तरता दिईने भएको छ। शुक्रबार हाइब्रिड मोडेलमा सम्पन्न वार्षिक राष्ट्रिय भेलाले भावना शर्मा नेतृत्वको वर्तमान कार्यसमितिलाई नै निरन्तरता दिने सर्वसम्मत निर्णय गरेको हो।

फान्सा नेपाल च्याप्टरमा हाल २३ वटा संस्था सदस्य रहेका छन्। पानी, सरसफाइ र स्वच्छता क्षेत्रमा कार्यरत नागरिक समाज संस्था तथा सञ्जाललाई एउटै मञ्चमा आबद्ध गर्दै नीति निर्माण, बजेट, सेवा पहुँच, समावेशिता तथा नागरिकको पानी र सरसफाइ सम्बन्धी अधिकारका विषयमा आवाज उठाउँदै आएको फान्सा नेपाल च्याप्टरको नेतृत्व आगामी तीन वर्ष पनि वर्तमान समितिले गर्ने भएको हो।

वर्तमान समितिको नेतृत्व भावना शर्माले गरिरहनुभएको छ। शर्मा वातावरण तथा जनस्वास्थ्य संस्था (ENPHO) का सल्लाहकार हुनुहुन्छ। उहाँ सन् २०२० डिसेम्बर ३० मा फान्सा नेपाल च्याप्टरको कन्भेनरमा चयन हुनुभएको थियो। त्यसबेला उहाँ एन्फोको कार्यकारी निर्देशक हुनुहुन्थ्यो।

नयाँ कार्यकालका लागि पनि शर्माकै संयोजकत्वमा रहेको समितिलाई निरन्तरता दिने निर्णयसँगै फान्सा नेपालले आगामी वर्षहरूमा पानी, सरसफाइ र स्वच्छताको क्षेत्रमा नागरिक समाजको भूमिका थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।

वर्तमान समितिमा को–को छन् ?

फान्सा नेपालको राष्ट्रिय तथा स्टेयरिङ कमिटीमा वातावरण तथा जनस्वास्थ्य संस्था (ENPHO) बाट भावना शर्मा कन्भेनर रहनुभएको छ। खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ नेपाल (FEDWASUN) का अध्यक्ष राजेन्द्र अर्याल को–कन्भेनर हुनुहुन्छ।

त्यसैगरी लुमन्ती सपोर्ट ग्रुप फर सेल्टर, एनजीओ फोरम फर अर्बन वाटर एन्ड स्यानिटेसन, कर्णाली इन्टिग्रेटेड रुरल डेभलपमेन्ट एन्ड रिसर्च सेन्टर (KIRDARC), सामाजिक सचेतना केन्द्र (SAC) नेपाल तथा मिडिया एकेडेमी नेपाल (MAN) का प्रतिनिधिहरू राष्ट्रिय तथा स्टेयरिङ कमिटीमा सदस्य रहेका छन्।

फान्साको राष्ट्रिय समितिमा सामुदायिक महिला मञ्च, नेपाल महिला एकता समाज, रुरल अवेयरनेस एन्ड डेभलपमेन्ट अर्गनाइजेसन नेपाल, वास मिडिया फोरम नेपाल, प्राकृतिक स्रोत व्यवस्थापन संघ (हिमवन्ती) नेपाल तथा पञ्चववती ग्रामीण विकास केन्द्र (PRDC) लगायतका संस्थाका प्रतिनिधिहरू पनि सदस्य रहेका छन्। समितिमा विभिन्न प्रदेश तथा क्षेत्रको प्रतिनिधित्वलाई समेत समेटिएको छ।

आगामी कार्यकालका लागि सर्वसम्मत चयन हुनुभए पछि कन्भेनर भावना शर्माले सबैलाई धन्यबाद दिदै नागरिक समाजलाई सशक्त बनाउने, विभिन्न संस्था बीच सहकार्य र नेटवर्क विस्तार गर्ने तथा प्रमाणमा आधारित पैरवी मार्फत सरकार र अन्य निर्णयकर्ताको ध्यान पानी तथा सरसफाइका महत्वपूर्ण मुद्दामा केन्द्रित गराउनु FANSA प्रमुख उद्देश्य भएको बताउनुभयो ।

उहाँले पानी र सरसफाइलाई मानव अधिकारका रूपमा स्थापित गर्न, WASH क्षेत्रमा आवश्यक लगानी र बजेट बढाउन, नीति तथा कार्यक्रमको कार्यान्वयनमा नागरिक समाजको सहभागिता सुनिश्चित गर्न तथा सीमान्तकृत समुदायको आवाजलाई निर्णय प्रक्रियासम्म पुर्‍याउन काम गर्दै आएको बताउनुभयो ।

उहाँले विगतमा जस्तै आगामी पनि सबैको साथ र सहयोगको अपेक्षा गर्दै FANSA ले जलवायु परिवर्तन, विपद् जोखिम, सुरक्षित तथा दिगो WASH सेवा, समानता र समावेशितालाई पनि पैरवीको महत्वपूर्ण विषयका रूपमा अघि बढाउने बताउनुभयो।

नेपालमा विभिन्न सदस्य संस्था र साझेदारसँगको सहकार्यमा सरसफाइ श्रमिक, दिसाजन्य फोहोर व्यवस्थापन, पानी तथा सरसफाइ सेवामा पहुँच र सेवा प्रदायकको जवाफदेहिता लगायत विषयमा अध्ययन, प्रमाण संकलन र पैरवीका गतिविधि सञ्चालन हुँदै आएका छन्।

सन् २००७ मा विकसित भएको थियो FANSA को अवधारणा, नेपालसँग सुरुदेखिकै सम्बन्ध

FANSA अर्थात् Freshwater Action Network South Asia को अवधारणा सन् २००७ मा विकसित भएको थियो। त्यसबेला दक्षिण एसियाका पानी तथा सरसफाइ क्षेत्रमा काम गर्ने नागरिक समाज संस्थाहरूको आवाज राष्ट्रिय, क्षेत्रीय तथा अन्तर्राष्ट्रिय नीति निर्माण प्रक्रियामा प्रभावकारी रूपमा पुर्‍याउन छुट्टै क्षेत्रीय सञ्जाल आवश्यक रहेको महसुस गरिएको थियो।

यसका लागि बंगलादेश, भारत, नेपाल र पाकिस्तानलगायत दक्षिण एसियाली देशका २०० भन्दा बढी सरोकारवाला व्यक्ति तथा संस्थासँग परामर्श गरिएको थियो। सोही प्रक्रियाको परिणामस्वरूप FANSA लाई सन् २००८ को जनवरीमा नेपालमै औपचारिक रूपमा शुभारम्भ गरिएको थियो।

FANSA विश्वव्यापी Freshwater Action Network (FAN) सँग सम्बन्धित नागरिक समाज सञ्जालका रूपमा स्थापना भएको हो। यसको मूल उद्देश्य पानी र सरसफाइसम्बन्धी स्थानीय अनुभव, समुदायका समस्या तथा नागरिक समाजको आवाजलाई नीति निर्माण र निर्णय प्रक्रियासम्म पुर्‍याउनु हो।

नेपाल FANSA को सुरुदेखिकै महत्वपूर्ण देशमध्ये एक हो। सन् २००८ मा FANSA औपचारिक रूपमा सुरु हुँदा नेपाल क्षेत्रीय परामर्श र नेटवर्क निर्माण प्रक्रियामा सक्रिय रूपमा सहभागी थियो।

सुरुका वर्षहरूमा FANSA को क्षेत्रीय सचिवालय भारतको Modern Architects for Rural India (MARI) ले सञ्चालन गरेको थियो। सन् २००८ देखि २०२० सम्म भारतमा रहेको सचिवालय सन् २०२१ मा नेपाल सारिएको थियो। हाल FANSA को क्षेत्रीय सचिवालय ललितपुर स्थित Lumanti Support Group for Shelter का संस्थापक लजना मानन्धरले गरिरहनु भएको छ।

यससँगै नेपाल दक्षिण एसियाली पानी, सरसफाइ र स्वच्छता क्षेत्रको नागरिक समाज समन्वय तथा पैरवीको एउटा महत्वपूर्ण केन्द्रका रूपमा स्थापित भएको छ।

नेपालमा FANSA ले विभिन्न नागरिक समाज संस्था तथा सञ्जालसँग सहकार्य गर्दै पानी, सरसफाइ र स्वच्छतासम्बन्धी नीति, बजेट, समावेशिता तथा सेवा पहुँचका विषयमा काम गर्दै आएको छ।

विशेषगरी ‘Leave No One Behind’ अर्थात् कसैलाई पनि पछाडि नछोड्ने अवधारणाअनुसार सीमान्तकृत समुदाय, महिला, अपांगता भएका व्यक्ति तथा सरसफाइ श्रमिकका पानी र सरसफाइसम्बन्धी अधिकारका विषयलाई प्राथमिकतामा राख्दै आएको छ।

दक्षिण एसियाका ८ देशमा सञ्जाल

FANSA अन्तर्गत दक्षिण एसियाका ८ देशमा राष्ट्रिय च्याप्टर रहेका छन्। यसमा अफगानिस्तान, बंगलादेश, भुटान, भारत, माल्दिभ्स, नेपाल, पाकिस्तान र श्रीलंका रहेका छन्।

क्षेत्रीय रूपमा पानी तथा सरसफाइ क्षेत्रमा कार्यरत सयौं नागरिक समाज संस्था यस सञ्जालसँग आबद्ध छन्। FANSA ले सदस्य संस्था तथा देशहरूबीच अनुभव आदानप्रदान गर्नुका साथै दक्षिण एसियामा देखिएका साझा पानी र सरसफाइसम्बन्धी चुनौतीमा संयुक्त नागरिक समाजको आवाज निर्माण गर्दै आएको छ।

विशेष गरी दक्षिण एसियाली सरसफाइ सम्मेलन (SACOSAN) प्रक्रियामा नागरिक समाजको सहभागिता सुनिश्चित गर्ने, दक्षिण एसियाली सरकारहरूले गरेका प्रतिबद्धताको अनुगमन गर्ने तथा WASH क्षेत्रमा लगानी र सेवाको समान पहुँचका विषयमा पैरवी गर्नु FANSA को महत्वपूर्ण कार्यक्षेत्रमध्ये पर्दछ।

FANSA दक्षिण एसियामा केन्द्रित क्षेत्रीय सञ्जाल भए पनि यसको सम्बन्ध विश्वव्यापी पानी तथा सरसफाइ अभियानसँग जोडिएको छ। यसले Sanitation and Water for All (SWA) तथा End Water Poverty जस्ता विश्वव्यापी अभियान र प्रक्रियासँग सहकार्य गर्दै आएको छ।

यसले स्थानीय समुदायमा देखिएका पानी र सरसफाइका समस्या तथा अनुभवलाई राष्ट्रिय हुँदै क्षेत्रीय र विश्वव्यापी WASH बहससम्म पुर्‍याउने भूमिका खेल्दै आएको छ।

 


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार