थाहानगरको वडा नं. ७ मा खानेपानी योजना सम्पन्न, ४१३ परिवारलाई ‘एक घर, एक धारा’

  वास खबर सम्बाददाता  204 पटक हेरिएको
🔗
189
Shares

मकवानपुर : थाहा नगरपालिका वडा नं. ७ का ४१३ परिवार लाभान्वित हुने गरी चिसापानी–मझुवा लिफ्टिङ खानेपानी परियोजना सम्पन्न भएको छ। वर्षौंदेखि खानेपानी अभाव झेल्दै आउनुभएका स्थानीय बासिन्दालाई लक्षित गरी निर्माण गरिएको परियोजनाअन्तर्गत ‘एक घर, एक धारा’ प्रणालीमार्फत खानेपानी वितरण सुरु गरिएको छ।

वि.सं. २०७५ सालमा निर्माण सुरु भएको उक्त आयोजना विभिन्न कारणले समयमै सम्पन्न हुन नसके पनि आठ वर्षपछि निर्माण सम्पन्न भएको हो। गत साउन २९ गते थाहा नगरपालिकाका प्रमुख विष्णुबहादुर विष्ट, विकास साझेदार संस्था मानविय सेवा तथा अन्तरसांस्कृतिक आदानप्रदान केन्द्र (च्वाइस नेपाल) का राष्ट्रिय निर्देशक प्रतीक शर्मा तथा अन्य अतिथिहरूले संयुक्त रूपमा परियोजनाको उद्घाटन गर्नुभएको हो।

नगर प्रमुख विष्टले बजेट अभावका कारण नगरको महत्वपूर्ण खानेपानी आयोजना लामो समयसम्म अधुरो रहेको बताउनुभयो। यस वर्ष विभिन्न पक्षको सहयोग र सहकार्यबाट आयोजना सम्पन्न गर्न सकिएको उहाँको भनाइ थियो।

“यो नगरका ठूला खानेपानी योजनामध्ये एक हो। आर्थिक स्रोतको अभावका कारण निर्माण कार्यले अपेक्षित गति लिन सकेन,” उहाँले भन्नुभयो, “लामो समयको प्रयास र सबै पक्षको सहकार्यबाट यस वर्ष आयोजना सम्पन्न गर्न सफल भएका छौं।”

करिब ८ करोड लागतको आयोजना

करिब ८ करोड रुपैयाँ लागत अनुमान गरिएको उक्त परियोजनामा च्वाइस नेपालले २ करोड ५ लाख रुपैयाँ सहयोग गरेको छ। त्यस्तै तत्कालीन जिल्ला समन्वय समिति मकवानपुरले ७० लाख रुपैयाँ सहयोग गरेको थियो भने बागमती प्रदेश सरकार, थाहा नगरपालिका तथा स्थानीय उपभोक्ताहरूको सहलगानीमा आयोजना सम्पन्न गरिएको हो।

परियोजनामा लिफ्टिङ र ग्राभिटी प्रणालीको मिश्रित प्रविधिबाट खानेपानी आपूर्ति गरिएको छ। ग्राभिटी प्रणाली अन्तर्गत करिब ४ किलोमिटर टाढाको मझुवा खोलाबाट पानी ल्याइएको छ भने सोही स्रोतबाट करिब २ हजार २०० मिटर उचाइमा रहेको डाँडासम्म ‘डबल लिफ्टिङ’ प्रणालीमार्फत पानी पुर्‍याई रिजर्भ ट्याङ्कीमा संकलन गरी उपभोक्ताहरूलाई वितरण गरिएको छ।

परियोजनाअन्तर्गत एक–एक लाख लिटर क्षमताका दुईवटा तथा २०–२० हजार लिटर क्षमताका दुईवटा रिजर्भ ट्याङ्की निर्माण गरिएको छ। मझुवा खोलामा ४० हजार लिटर क्षमताको फिल्टरेशन ट्याङ्की तथा २०–२० हजार लिटर क्षमताका दुईवटा लिफ्टिङ ट्याङ्की पनि निर्माण भएका छन्।

च्वाइस नेपालका खानेपानी प्राविधिक सुबासचन्द्र मरहट्टाले परियोजनामा १० वटा बीपीटी र १२ वटा भल्भ चेम्बर निर्माण गरिएको जानकारी दिनुभयो। च्वाइस नेपालका प्रताप घिमिरेका अनुसार आयोजनामा करिब ७ किलोमिटर मुख्य पाइपलाइन तथा करिब २९ किलोमिटर वितरण पाइपलाइन विस्तार गरिएको छ।

‘पानी बोक्ने बाध्यताको अन्त्य’

उद्घाटन कार्यक्रममा नगर प्रमुख विष्टले आयोजना सम्पन्न हुनु मात्र उपलब्धि नभई यसको दीगो सञ्चालन र व्यवस्थापन नै मुख्य चुनौती रहेको बताउनुभयो। थाहा खानेपानी तथा सरसफाइ व्यवस्थापन बोर्डका अध्यक्षसमेत रहनुभएका उहाँले अब स्थानीय बासिन्दाले घण्टौं लगाएर टाढाबाट पानी बोकेर ल्याउनुपर्ने बाध्यताको अन्त्य भएको बताउनुभयो।

“खानेपानी योजना निर्माण गर्नु मात्र पर्याप्त हुँदैन। यसको नियमित मर्मतसम्भार, संरक्षण र प्रभावकारी व्यवस्थापनमा समुदायको सक्रिय भूमिका आवश्यक हुन्छ,” उहाँले भन्नुभयो।

उहाँले आयोजनाको दीगोपनाका लागि नगरपालिका र खानेपानी व्यवस्थापन बोर्डले आवश्यक सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो। कुनै समस्या आएमा आपसी संवाद र छलफलबाट समाधान खोज्नुपर्नेमा जोड दिँदै उहाँले सामाजिक सञ्जालमा मात्र असन्तुष्टि व्यक्त गरेर समस्याको समाधान नहुने बताउनुभयो।

च्वाइस नेपालको सहयोग निरन्तर रहने

च्वाइस नेपालका राष्ट्रिय निर्देशक प्रतीक शर्माले समुदायको माग, स्थानीय सरकारको प्राथमिकता र योजनाप्रतिको अपनत्वका कारण संस्थाले खानेपानी आयोजनामा लगानी गरेको बताउनुभयो। उहाँले आयोजना उद्घाटन भएपछि संस्थाले समुदायसँगको सम्बन्ध समाप्त गर्ने नभई आवश्यक सहयोग र सहकार्यलाई निरन्तरता दिने स्पष्ट पार्नुभयो।

थाहा नगरपालिकासँग ११ वर्षदेखि सहकार्य गर्दै आएको स्मरण गर्दै उहाँले समुदायको विकासका लागि च्वाइस नेपाल आगामी दिनमा पनि नगरपालिकासँग सहकार्य गर्न इच्छुक रहेको बताउनुभयो। उहाँले यसअघि सरस्वती माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई वितरण गरिएको छात्रवृत्ति कार्यक्रम पनि यही क्षेत्रको विकास र समुदायसँगको सहकार्यको निरन्तरताका रूपमा रहेको उल्लेख गर्नुभयो।

थाहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत निरज पौडेलले खानेपानी नागरिकको आधारभूत आवश्यकता भएकाले नगरपालिकाले यस आयोजनालाई प्राथमिकतामा राखेर सम्पन्न गरेको बताउनुभयो। आयोजना सञ्चालनमा उपभोक्ता, समुदाय, नगरपालिका र खानेपानी व्यवस्थापन बोर्डबीचको सहकार्य आवश्यक रहेको उहाँको भनाइ थियो।

थाहा नगरपालिका वडा नं. ७ का अध्यक्ष शिवराज थिङले चिसापानीदेखि देउखेलसम्मका नागरिकलाई खानेपानी आपूर्तिमा सहयोग पुर्‍याउने च्वाइस नेपाल, नगरपालिका तथा अन्य सबै सरोकारवालाप्रति आभार व्यक्त गर्नुभयो। उहाँले खानेपानीका साथै वडाको समग्र विकासका लागि आवश्यक सहकार्य गर्न आफू सधैं तयार रहेको बताउनुभयो।

स्थानीय उपभोक्ता तथा इन्द्रायणी माध्यमिक विद्यालयका प्रधानाध्यापक नारायणबहादुर कार्कीले आयोजना सम्पन्न भएपछि स्थानीयवासीले डोकोमा पानी बोकेर ल्याउनुपर्ने वर्षौंदेखिको बाध्यता अन्त्य भएको बताउनुभयो। उहाँले आयोजना सम्पन्न गर्न सहयोग गर्ने च्वाइस नेपाल, जिल्ला समन्वय समिति, थाहा नगरपालिका, बागमती प्रदेश सरकार, उपभोक्ता समिति तथा स्थानीय समुदायप्रति धन्यवाद व्यक्त गर्नुभयो।

थाहा नगरपालिका वडा नं. ७ को कार्यालय परिसरमा आयोजित उद्घाटन कार्यक्रममा नगरपालिकाले सहयोगी संस्था च्वाइस नेपालको योगदानको कदर गर्दै सम्मान गरेको थियो। सरस्वती माध्यमिक विद्यालयले पनि च्वाइस नेपाललाई सम्मान गरेको थियो। आयोजना निर्माण र व्यवस्थापनमा योगदान पुर्‍याएको उपभोक्ता समितिलाई समेत नगरपालिकाले सम्मान गरेको थियो।

वडा अध्यक्ष शिवराज थिङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा चिसापानी–मझुवा लिफ्टिङ खानेपानी उपभोक्ता समितिका अध्यक्ष दिवाना घलेले स्वागत मन्तव्य राख्नुभएको थियो।

कार्यक्रममा च्वाइस नेपालका प्रताप घिमिरे, घनश्याम थापा, थाहा खानेपानी तथा सरसफाइ व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक शकुन्तला गोपाली, थाहा नगरपालिकाका रोजगार संयोजक कुमार नेगी, सुरज भुजेल, प्राविधिक कविन्द्र वड, पत्रकार शम्भू अधिकारी, खानेपानी उपभोक्ता समितिका पदाधिकारी, च्वाइस नेपालका प्रतिनिधि तथा स्थानीय उपभोक्ताहरूको उपस्थिति रहेको थियो।

फोटोहरु : सुरज कुमार भुजेल/थाहा नगरपालिका


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार