‘विद्यार्थीसँग केरवानी खानेपानी’ कार्यक्रम सम्पन्न, घरपरिवार र समुदायसम्म विस्तार गर्ने अपेक्षा

  वास खबर सम्बाददाता  210 पटक हेरिएको
🔗
170
Shares

रुपन्देही : रुपन्देही जिल्लाको देवदह–१, राजाबारीस्थित सरस्वती माध्यमिक विद्यालयमा ‘विद्यार्थीसँग केरवानी खानेपानी’ कार्यक्रम सम्पन्न भएको छ। विद्यार्थीहरूमा सुरक्षित खानेपानी, सरसफाइ तथा फोहरमैला व्यवस्थापनसम्बन्धी ज्ञान, चेतना र व्यवहारिक जानकारी अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।

कार्यक्रममा सरस्वती माध्यमिक विद्यालयका २९ जना विद्यार्थीहरूको सहभागिता रहेको थियो। सहभागी विद्यार्थीहरू र खानेपानी संस्थाका प्रतिनिधिहरू बीच खानेपानीको महत्व, सुरक्षित तथा गुणस्तरीय पानीको प्रयोग, व्यक्तिगत तथा वातावरणीय सरसफाइ, फोहरमैला व्यवस्थापन, पानीका स्रोतहरूको संरक्षण तथा खानेपानीसँग सम्बन्धित विविध विषयमा छलफल र अन्तरक्रिया गरिएको केरवानी खानेपानी संस्थाका अध्यक्ष दीपक पौडेलले बताउनुभयो।

अन्तरक्रियाका क्रममा विद्यार्थीहरूले खानेपानी तथा सरसफाइसँग सम्बन्धित आफ्ना जिज्ञासा र प्रश्नहरू  राखेका थिए। संस्थाका प्रतिनिधिहरूले विद्यार्थीहरूलाई सुरक्षित र स्वच्छ पानीको प्रयोग, पानीजन्य रोगबाट बच्ने उपाय, सरसफाइका असल अभ्यास तथा फोहरमैलाको उचित व्यवस्थापनका विषयमा जानकारी गराउनुभएको थियो।

कार्यक्रमको अन्त्यमा सहभागी विद्यार्थीहरूले सुरक्षित खानेपानीको प्रयोग, सरसफाइ तथा वातावरण संरक्षणसँग सम्बन्धित १० बुँदे प्रतिबद्धता समेत जाहेर गरेका छन्। विद्यालय तहबाटै विद्यार्थीहरूलाई खानेपानी, सरसफाइ र वातावरण संरक्षणका विषयमा सचेत गराउँदा यसको सकारात्मक सन्देश घरपरिवार हुँदै समुदायसम्म पुर्‍याउन सकिने अपेक्षा गरिएको छ।

विद्यार्थी र खानेपानी संस्थाबीच प्रत्यक्ष संवाद तथा अन्तरक्रिया मार्फत सञ्चालन गरिएको यस कार्यक्रमले सुरक्षित खानेपानीको प्रयोग, सरसफाइ सम्बन्धी व्यवहार परिवर्तन तथा पानीका स्रोतहरूको संरक्षणमा विद्यार्थीहरूको भूमिका थप प्रभावकारी बन्ने विश्वास लिएको अध्यक्ष पौडेलले बताउनुभयो।

कार्यक्रम मार्फत विद्यार्थीहरूलाई खानेपानी र सरसफाइ केवल व्यक्तिगत विषय नभई परिवार, विद्यालय र समग्र समुदायको स्वास्थ्यसँग प्रत्यक्ष रूपमा जोडिएको विषय भएको सन्देश समेत प्रवाह गरिएको थियो। विद्यालयमा प्राप्त ज्ञान र जानकारीलाई विद्यार्थीहरूले आफ्नो दैनिक व्यवहारमा लागू गर्दै घरपरिवार र समुदायसम्म विस्तार गर्ने अपेक्षा आयोजकको रहेको छ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार