
जुम्ला : खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय जुम्लाले गत आर्थिक वर्षमा खानेपानी, सिँचाइ तथा ऊर्जा विकासका ९२ वटा योजना निर्माण सम्पन्न गरेको छ। कर्णाली प्रदेश सरकार मातहतको उक्त कार्यालयले एक वर्षमा ९२ वटा योजना निर्माण गरी अन्तिम भुक्तानी दिएको हो।
कार्यालयको प्रगति प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८२/८३ मा कुल आयोजना संख्या १०४ वटा रहेकोमा ९४ वटा योजना कार्यान्वयन प्रक्रियामा गएका थिए। तीमध्ये पूर्ण रूपमा ९२ वटा योजना सम्पन्न गरी समुदायलाई हस्तान्तरण गरिएको छ।
कार्यालयले विशेषगरी खानेपानीतर्फ नयाँ आयोजना निर्माण गर्ने, पुराना आयोजनाको मर्मत गर्ने, सिँचाइ कुलोको मर्मत तथा नयाँ निर्माण गर्ने र ऊर्जा विकासतर्फका संरचनाको मर्मतसम्भारको काम गर्दै आएको छ। कुल १७ करोड ७ लाख २६ हजार रुपैयाँको लगानीमा ९२ वटा योजना निर्माण सम्पन्न भएको खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय जुम्लाका प्रमुख अक्कलबहादुर महतले बताउनुभयो।
उहाँका अनुसार गत आर्थिक वर्षमा समग्र बजेट खर्च ७२.२ प्रतिशत भएको छ। चालु र पुँजीगत गरी कुल २६ करोड १२ लाख १३ हजार रुपैयाँ विनियोजन भएकोमा असार मसान्तसम्म १८ करोड ८७ लाख २६ हजार रुपैयाँ खर्च भएको छ। झन्डै ८ करोड रुपैयाँ चालु तथा पुँजीगत बजेट खर्च हुन नसकी फिर्ता भएको छ।
पुँजीगततर्फ कुल २३ करोड ८६ लाख रुपैयाँ विनियोजन भएकोमा ९२ वटा आयोजना निर्माण सम्पन्न गरी अन्तिम भुक्तानी दिँदा १७ करोड ७ लाख २६ हजार रुपैयाँ अर्थात् ७१.५५ प्रतिशत विकास खर्च भएको छ। पुँजीगत बजेटतर्फ करिब ६ करोड रुपैयाँ फ्रिज भएको छ।
न्यून जनशक्ति, कठिन भूगोल, प्रतिकूल मौसम तथा देशमा भएको जेन्जी आन्दोलन र निर्वाचनका बीच पनि बजेट खर्चलाई प्रभावकारी बनाउन प्रयास गरिएको कार्यालय प्रमुख महतले उल्लेख गर्नुभयो।
सम्पन्न भएका ९२ वटा आयोजनामध्ये एउटा बहुवर्षीय आयोजना रहेको छ। क्रमागत २२ वटा आयोजनामध्ये १८ वटा सम्पन्न भएका छन् भने खानेपानी, सिँचाइ र ऊर्जातर्फका ६० वटा नयाँ आयोजनामध्ये ५८ वटा सम्पन्न भएका छन्।
त्यस्तै, अधुरा आयोजना पुनर्निर्माणअन्तर्गत पाँचवटा, अध्ययन तथा सम्भाव्यता सम्बन्धी एउटा योजना, कर्णाली प्रदेश जनता सिँचाइ आयोजना, कर्णाली प्रदेश जनता तटबन्धन आयोजनाअन्तर्गत दुईवटा तथा अन्य योजनातर्फ पाँचवटा आयोजना गरी कुल १७ करोड रुपैयाँभन्दा बढीको लगानीमा ९२ वटा योजना निर्माण भएको कार्यालय प्रमुख महतले जानकारी दिनुभयो।
क्षेत्रगत रूपमा हेर्दा सबैभन्दा बढी सिँचाइतर्फका योजना निर्माण भएका छन्। प्रतिवेदनअनुसार सिँचाइतर्फ ५८ वटा योजना निर्माण भएका छन् भने नदी नियन्त्रणतर्फ १६ वटा योजना सम्पन्न भएका छन्। ऊर्जा विकासतर्फ एउटा आयोजना कार्यान्वयनमै रहेको छ भने एउटा योजना निर्माण सम्पन्न भएको छ। खानेपानी तथा सरसफाइतर्फ १२ वटा योजना निर्माण सम्पन्न भएका छन्।
५२५ हेक्टरमा सिँचाइ सुविधा विस्तार
खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय जुम्लाले एकै वर्षमा ५२५ हेक्टर जमिनमा सिँचाइ सुविधा विस्तार गरेको छ। गत आर्थिक वर्षमा ५८ वटा सिँचाइ योजना निर्माण भएपछि जिल्लाका आठवटै स्थानीय तहमा ५२५ हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुगेको हो।
२०७९ सालको बेमौसमी वर्षापछि आएको बाढीले जुम्लाका तीन सयदेखि चार सयवटासम्म सिँचाइ कुलामा क्षति पुर्याएको थियो। तीमध्ये अधिकांश सिँचाइ कुला पुनर्निर्माण हुन बाँकी रहेका छन्। यद्यपि, खानेपानी तथा सिँचाइ कार्यालयले प्राथमिकता दिएर सिँचाइ योजना निर्माण गर्दै आएको छ।
खेतीयोग्य जमिन जोगाउन कार्यालयले नदी नियन्त्रणका कामसमेत गरेको छ। जसअन्तर्गत ५५ हेक्टर खेतीयोग्य जमिन संरक्षण गर्न जग्गा उकास गरिएको छ भने २७ किलोमिटर नहर निर्माण भएको छ।
खानेपानी आयोजना निर्माणबाट जिल्लाका तीन हजार घरधुरी प्रत्यक्ष लाभान्वित भएका छन्। त्यस्तै, ग्याबिन जालीसहितको पक्की पर्खाल ६ किलोमिटर निर्माण गरिएको छ।
कार्यालयबाट सञ्चालन भएका आयोजनाबाट स्थानीय समुदाय प्रत्यक्ष रूपमा लाभान्वित भएको कार्यालय प्रमुख महतले दाबी गर्नुभयो। यद्यपि, जनशक्ति अभावका कारण लक्ष्यअनुसार काम गर्न नसकिएको उहाँले बताउनुभयो।कारोबार दैनिकले प्रकाशन गरेको छ।


229 पटक हेरिएको 

