
ओखलढुङ्गा : ओखलढुङ्गाको खिजीदेम्बा गाउँपालिका–५ स्थित मेले गुम्बा टोलमा कुहिरोबाट पानी सङ्कलन गरी खानेपानी वितरण गर्न थालिएको छ । खानेपानीको समस्या झेल्दै आएका स्थानीयलाई वैकल्पिक प्रविधिमार्फत पानी उपलब्ध गराउने उद्देश्यले ‘फग हार्भेस्टिङ’ प्रविधि जडान गरी पानी सङ्कलन सुरु गरिएको हो ।
फग हार्भेस्टिङ’ (Fog Harvesting) भनेको कुहिरोबाट पानी संकलन गर्ने प्रविधि हो। विशेष गरी पानीको अभाव हुने तर कुहिरो धेरै लाग्ने पहाडी तथा हिमाली क्षेत्रमा यो प्रविधि उपयोगी हुन्छ। यसमा सामान्यतया विशेष प्रकारको जाली (mesh/net) ठड्याइन्छ। कुहिरो हावासँगै जालीमा ठोक्किँदा त्यसमा रहेका साना पानीका थोपाहरू जालीमा जम्मा हुन्छन्। ती थोपाहरू विस्तारै ठूला बन्दै तल राखिएको नाली वा पाइपमार्फत ट्यांकीमा संकलन गरिन्छ।
यो प्रविधिलाई वर्षाको पानी संकलन (Rainwater Harvesting) जस्तै प्राकृतिक स्रोतबाट पानी संकलन गर्ने उपाय मान्न सकिन्छ, तर यसमा वर्षाको सट्टा कुहिरोबाट पानी संकलन गरिन्छ।
खिजीदेम्बा गाउँपालिकाको समन्वयमा जर्मन संस्था डीआईजेड र आईकेआई ग्रान्टको आर्थिक सहयोग तथा स्मार्ट अर्थ नेपालको प्राविधिक सहयोगमा एक करोड रुपियाँभन्दा बढी लागतमा योजना सम्पन्न भएको हो ।
समुद्री सतहदेखि करिब दुई हजार ३३० मिटर उचाइमा रहेको मेले गुम्बा टोलमा कुहिरोबाट पानी सङ्कलन गर्ने १० वटा फग हार्भेस्टिङ युनिट जडान गरिएको छ । विशेष जालीमा कुहिरोका कणबाट बनेका पानीका थोपा सङ्कलन गरी २०० लिटर क्षमताका ट्याङ्कीमा जम्मा गरिन्छ । त्यसपछि बायो–स्यान्ड फिल्टर मार्फत शुद्धीकरण गरी दुई हजार लिटर क्षमताको मुख्य ट्याङ्कीमा सङ्कलन गरेर स्थानीयलाई वितरण गर्ने व्यवस्था मिलाइएको छ ।
खिजीदेम्बा गाउँपालिकाका अध्यक्ष गम्बु शेर्पाका अनुसार यस योजनाबाट सामतेन छोलिङ गुम्बा बौद्ध अध्ययन केन्द्रसहित आसपासका नौ घरधुरी प्रत्यक्ष लाभान्वित भएका छन् । खानेपानीको समस्या समाधान हुनुका साथै सङ्कलित पानी स्थानीयले तरकारी खेतीमा सिँचाइका लागि समेत प्रयोग गर्न थालेका छन् ।
भौगोलिक कठिनाइ र प्राकृतिक पानीका स्रोतको अभावका कारण खानेपानीको समस्या रहेको क्षेत्रमा कुहिरोबाट पानी सङ्कलन गर्ने प्रविधि उपयोगी बनेको अध्यक्ष शेर्पाले बताउनुभयो । उहाँका अनुसार नयाँ प्रविधिबाट पानी उपलब्ध भएपछि स्थानीयको दैनिक जीवन सहज हुनुका साथै कृषि उत्पादनमा समेत सहयोग पुगेको छ ।
कुहिरोमा रहेका सूक्ष्म पानीका कणलाई विशेष जालीमा सङ्कलन गरी पानीमा रूपान्तरण गर्ने प्रविधिलाई ‘फग हार्भेस्टिङ’ भनिन्छ । परम्परागत पानीका स्रोत सीमित भएका उच्च पहाडी क्षेत्रमा यो प्रविधिलाई वैकल्पिक खानेपानी व्यवस्थापनका रूपमा प्रयोग गर्न सकिने बताइएको छ ।


191 पटक हेरिएको 

