खानेपानी सुरक्षा योजनामा स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीको भूमिका सम्बन्धी अन्तरक्रिया सम्पन्न

  वास खबर सम्बाददाता  239 पटक हेरिएको
🔗
291
Shares

देवदह : रुपन्देहीको देवदहमा सुरक्षित र गुणस्तरीय खानेपानी उपलब्ध गराउन स्वास्थ्य संस्था तथा स्वास्थ्यकर्मीको भूमिकालाई प्रभावकारी बनाउने उद्देश्यले खानेपानी सुरक्षा योजना सम्बन्धी अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएको छ।

केरवानी खानेपानी उपभोक्ता तथा सरसफाइ संस्था, देवदह–१, राजाबारीको आयोजनामा आधारभूत स्वास्थ्य केन्द्र भमराबारी, देवदह–१, केरवानी स्वास्थ्य चौकी, देवदह–२ तथा अस्थायी प्रहरी चौकी, देवदह–१, बीच खानेपानीको सुरक्षा योजनामा स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीको भूमिका सम्बन्धी अन्तरक्रिया तथा छलफल कार्यक्रम आयोजना गरिएको हो।

कार्यक्रममा खानेपानीको स्रोतदेखि उपभोक्ताको घरसम्म सुरक्षित पानी आपूर्ति सुनिश्चित गर्न स्वास्थ्य संस्था, स्वास्थ्यकर्मी, खानेपानी संस्था, सुरक्षा निकाय तथा समुदायबीचको समन्वय र सहकार्यलाई कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने विषयमा छलफल गरिएको थियो।

खानेपानी मानिसको आधारभूत आवश्यकता मात्र नभई जनस्वास्थ्यसँग प्रत्यक्ष जोडिएको विषय भएकाले पानीको गुणस्तरमा देखिन सक्ने समस्या, पानीजन्य रोगको जोखिम, सरसफाइ तथा व्यक्तिगत स्वच्छताका विषयमा स्वास्थ्य क्षेत्रको भूमिका महत्वपूर्ण हुने सहभागीहरूले औंल्याएका थिए।

कार्यक्रमको मुख्य उद्देश्य खानेपानी सुरक्षा योजनालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न सरोकारवाला निकायबीच समन्वय र सहकार्य बढाउनु रहेको केरवानी खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका अध्यक्ष दीपक पौडेलले जानकारी दिनुभयो। त्यस्तै, खानेपानीको स्रोत संरक्षण, नियमित पानी परीक्षण, सम्भावित जोखिमको पहिचान तथा न्यूनीकरण, पानीजन्य रोगको रोकथाम र नियन्त्रण तथा समुदायमा सुरक्षित खानेपानी सम्बन्धी जनचेतना अभिवृद्धि गर्ने विषयमा पनि कार्यक्रम केन्द्रित रहेको थियो।

स्वास्थ्य क्षेत्रको सक्रिय भूमिका आवश्यक

संस्थाका अध्यक्ष दीपक पौडेलले सुरक्षित खानेपानी उपलब्ध गराउने जिम्मेवारी खानेपानी संस्थाको मात्र नभएको बताउनुभयो। खानेपानीको गुणस्तर र त्यसबाट उत्पन्न हुन सक्ने जनस्वास्थ्य सम्बन्धी जोखिमका कारण स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीको भूमिका पनि उत्तिकै महत्वपूर्ण हुने उहाँले उल्लेख गर्नुभयो।

“हामीले स्रोतदेखि उपभोक्ताको घरसम्म पानी सुरक्षित राख्ने प्रयास गरिरहेका छौं। तर खानेपानीका कारण समुदायको स्वास्थ्यमा पर्न सक्ने प्रभाव, पानीजन्य रोगको पहिचान र जोखिम न्यूनीकरणका लागि स्वास्थ्य क्षेत्रसँगको सहकार्य आवश्यक छ,” अध्यक्ष पौडेलले भन्नुभयो।

 


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार