युवा अगुवाइमा भूमिगत पानी संरक्षण र पुनर्भरण अभियान, मधेशका २४ स्थानीय तहमा सचेतनामूलक कार्यक्रम

रिचार्ज पिटदेखि पोखरी संरक्षणसम्म जोड

  वास खबर सम्बाददाता  301 पटक हेरिएको
🔗
450
Shares

जनकपुरधाम: मधेश प्रदेशमा बढ्दो पानीको सङ्कट र तीव्र रूपमा घट्दै गएको भूमिगत जल सतह प्रति समुदायलाई सचेत बनाउन युवाको अगुवाइमा भूमिगत पानी संरक्षण, मितव्ययी प्रयोग तथा पुनर्भरण सम्बन्धी विशेष अभियान सञ्चालन भइरहेको छ।

यूनिसेफ नेपालको आर्थिक सहयोगमा छा-याँ नेपालले मधेश प्रदेशका आठवटै जिल्लाका २४ स्थानीय तहलाई समेटेर युवा अगुवाइमा भूमिगत पानी संरक्षण तथा पुनर्भरण सम्बन्धी सचेतनामूलक अभियान सञ्चालन गरिरहेको छ।

राष्ट्रिय जनगणना २०७८ अनुसार ६१ लाखभन्दा बढी जनसंख्या रहेको मधेश प्रदेशमा पिउने पानी, कृषि तथा जीविकोपार्जनको प्रमुख आधार भूमिगत पानी हो। तर पछिल्ला केही वर्षयता मनसुनमा वर्षा कम हुनु, सतही पानीका स्रोत सुक्दै जानु, सुख्खा मौसममा चापाकल तथा ह्यान्डपम्पबाट पानी आउन छाड्नु र भूमिगत जलसतह तीव्र गतिमा घट्दै जानुले सुरक्षित पानीमा नागरिकको पहुँच चुनौतीपूर्ण बन्दै गएको छ।

अव्यवस्थित सहरीकरण, वन विनाश, भूमिगत पानीको अत्यधिक दोहन, चुरे क्षेत्रको क्षयीकरण तथा जलवायु परिवर्तनका कारण मधेशका धेरै बस्तीमा खानेपानीको सङ्कट गहिरिँदै गएको छ। यही समस्यालाई जनजागरण मार्फत सम्बोधन गर्ने उद्देश्यले यूनिसेफ नेपालको आर्थिक सहयोगमा छा-याँ नेपालले मधेश प्रदेशका आठवटै जिल्लाका २४ स्थानीय तहलाई समेटेर युवा अगुवाइमा भूमिगत पानी संरक्षण तथा पुनर्भरणसम्बन्धी सचेतनामूलक अभियान सञ्चालन गरिरहेको छ।

अभियानले २०८२ सालको सुख्खा तथा खडेरीबाट बढी प्रभावित मधेश प्रदेशका आठ जिल्लाका २४ स्थानीय तहलाई समेटेको छ। हालसम्म २१ स्थानीय तहमा पालिकास्तरीय अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भइसकेको छ भने बाँकी तीन स्थानीय तहमा कार्यक्रम सञ्चालनको अन्तिम तयारी भइरहेको छ।

अभियानलाई समुदायस्तरमा पुर्‍याउन २० देखि २८ वर्ष उमेर समूहका ५२ जना युवा स्वयंसेवक परिचालन गरिएको छ। उनीहरूले प्रत्येक स्थानीय तहको कम्तीमा एउटा वडाका बस्ती, टोल तथा विद्यालयमा पुगेर भूमिगत पानीको संरक्षण, मितव्ययी प्रयोग र पुनर्भरणका उपायबारे जानकारी दिइरहनुभएको छ।

युवा स्वयंसेवकहरूले समुदायमा बैठक तथा अन्तरक्रिया सञ्चालन गर्नुका साथै विद्यालयमा विद्यार्थीलाई अभिमुखीकरण गर्दै लघु भिडियो प्रदर्शन मार्फत पनि सचेतना फैलाइ रहनुभएको छ। अभियानमा दैनिक जीवनमा साना–साना बानी परिवर्तन गरेर पनि ठूलो परिमाणमा पानी जोगाउन सकिने सन्देशलाई विशेष प्राथमिकता दिइएको छ।

यस क्रममा प्रयोग नगरिएको समयमा धारा वा चापाकल खुला नछाड्ने, चुहावट भए तत्काल मर्मत गर्ने, आवश्यकता अनुसार मात्र पानी प्रयोग गर्ने तथा नुहाउँदा, कपडा धुँदा वा भाँडा माझ्दा धाराको सट्टा बाल्टीको प्रयोग गरी पानीको मितव्ययी प्रयोग गर्न आग्रह गरिएको छ।

त्यस्तै, तरकारी धोएको पानी तथा अन्य तुलनात्मक रूपमा कम प्रदूषित घरेलु पानीलाई करेसाबारी, फूलबारी वा शौचालयमा पुनः प्रयोग गर्न सकिनेबारे पनि समुदायलाई जानकारी दिइएको छ। घर, विद्यालय र समुदायमा पानी बचतसम्बन्धी नियमित सचेतना फैलाउन तथा पानीको प्रयोगअनुसार महसुल उठाउने परिपाटी विकास गर्नुपर्ने विषयमा पनि छलफल गरिएको छ।

रिचार्ज पिटदेखि पोखरी संरक्षणसम्म जोड

भूमिगत जल सतह पुनर्भरणका लागि अभियानले सरल र व्यावहारिक उपायहरूबारे पनि जानकारी दिइरहेको छ। घर तथा सार्वजनिक भवनको छतमा परेको वर्षाको पानी संकलन गरी बालुवा, गिट्टी र चारकोलजस्ता फिल्टर माध्यम हुँदै जमिनमुनि पठाउन रिचार्ज पिट निर्माण गर्न सकिने अभियानमा बताइएको छ।

त्यस्तै चापाकल तथा सार्वजनिक धाराबाट प्रयोग भएर खेर जाने पानीलाई जमिनभित्र पठाउन सोकपिट तथा खाडल निर्माण गर्न सकिने, परम्परागत पोखरी, कुवा र तालतलैयाको संरक्षण तथा पुनःनिर्माण गर्नुपर्ने र घरआँगन तथा सार्वजनिक क्षेत्रलाई पूर्ण रूपमा ढलान नगरी केही खुला तथा हरियाली क्षेत्र राख्नुपर्ने विषयमा पनि जोड दिइएको छ।

यी उपायहरूबारे समुदाय र विद्यालयस्तरमा मात्र नभई स्थानीय सरकारका जनप्रतिनिधि तथा सरोकारवालासँग सञ्चालन गरिएका पालिकास्तरीय अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रममा समेत जानकारी गराइएको छ।

कार्यक्रमपछि विभिन्न स्थानीय तहका नगर प्रमुख तथा गाउँपालिका अध्यक्षहरूले अभियानलाई समय सापेक्ष र अत्यन्तै महत्वपूर्ण भएको बताउँदै भूमिगत पानी संरक्षण तथा पुनर्भरणका कार्यक्रमलाई आगामी नीति, योजना र बजेटमा प्राथमिकताका साथ समावेश गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

स्थानीय जनप्रतिनिधिहरूले व्यक्त गरेको साझा धारणा उद्धृत गर्दै अभियानमा भनिएको छ, “मधेशका लागि भूमिगत पानी नै जीवनको मुख्य आधार हो। युवा अगुवाइमा सञ्चालित यो भूमिगत पानी संरक्षण र पुनर्भरण अभियान अत्यन्तै सामयिक र सराहनीय छ। पालिकाले युवा स्वयंसेवकहरूको पहललाई सहयोग गर्नेछ र आगामी बजेट तथा नीतिमा भूमिगत पानी रिचार्ज पिट तथा पोखरी निर्माणजस्ता कार्यक्रमलाई प्राथमिकताका साथ समावेश गर्नेछ।”

‘हाम्रो सानो प्रयासले भविष्यको पानी सङ्कट कम गर्न सक्छ’

अभियानमा सक्रिय ५२ जना युवा स्वयंसेवकहरूले २०८२ सालको खडेरीका क्रममा मधेशमा देखिएको पानीको हाहाकार आफैंले देखेको र भोगेको बताउनुभएको छ। समुदायका इनार तथा चापाकल सुक्दै गएको अवस्थाले भूमिगत पानी संरक्षणको आवश्यकता अझ स्पष्ट भएको उहाँहरूको अनुभव छ।

स्वयंसेवकहरूले विद्यालय तथा बस्ती–बस्तीमा पुगेर पानीको मितव्ययी प्रयोग र रिचार्ज पिट निर्माणबारे जानकारी दिँदा समुदायमा सकारात्मक परिवर्तन देखिन थालेको बताएका छन्।

उहाँहरूको साझा भनाइ छ, “हामीले आफ्नै आँखा अगाडि समुदायका इनार र चापाकल सुकेको देखेका छौँ। विद्यालय र बस्तीमा पुगेर पानीको मितव्ययी प्रयोग र रिचार्ज पिटबारे बुझाउँदा सकारात्मक परिवर्तन आएको पाएका छौँ। हामी युवाले गरेको यो सानो प्रयासले भविष्यको ठूलो पानी सङ्कट टार्न मद्दत पुग्नेमा विश्वस्त छौँ।”

अभियानको मुख्य उद्देश्य पानीको दुरुपयोग रोक्दै मितव्ययी प्रयोगको बानी विकास गर्नु, घट्दै गएको भूमिगत जलसतहको पुनर्भरण मार्फत दिगो जलस्रोत सुनिश्चित गर्नु, युवालाई वातावरण तथा पानी सम्बन्धी मुद्दामा नेतृत्वदायी भूमिकामा स्थापित गर्नु तथा स्थानीय सरकारसँग सहकार्य गरी भूमिगत पानी संरक्षणका कार्यक्रमलाई वार्षिक नीति तथा योजनामा समावेश गराउनु रहेको छ।

भूमिगत पानीको सङ्कट कुनै एक व्यक्ति, समुदाय वा संस्थाको मात्र समस्या नभई सम्पूर्ण समाजको साझा चुनौती भएको अभियानका सरोकारवालाहरूले बताएका छन्। २१ भन्दा बढी स्थानीय तहमा सम्पन्न पालिकास्तरीय अभिमुखीकरण तथा युवा स्वयंसेवक मार्फत बस्ती र विद्यालयमा सञ्चालन भइरहेको जनचेतनामूलक अभियानले समुदायमा भूमिगत पानीको संरक्षण र पुनर्भरण प्रति चासो बढाएको छ।

युवाको सक्रियता, स्थानीय सरकारको प्रतिबद्धता र समुदायको सहभागिता एकै ठाउँमा आएमा भूमिगत जलस्रोतको संरक्षण, मितव्ययी प्रयोग र दिगो व्यवस्थापन सम्भव हुने विश्वास अभियानले लिएको छ।

फोटोहरु : राम महर्जन/छायाँ नेपाल


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार