भेरी पम्पिङ खानेपानी आयोजनाको दोस्रो प्याकेजको बोलपत्र रद्द, फेरि बोलपत्र आह्वान गरिँदै

  वास खबर सम्बाददाता  237 पटक हेरिएको
🔗
336
Shares

वीरेन्द्रनगर : बहुचर्चित भेरी पम्पिङ खानेपानी आयोजना अन्तर्गत दोस्रो प्याकेजको बोलपत्र प्रक्रिया रद्द भएको छ। प्राविधिक मूल्याङ्कन पूरा भई आर्थिक प्रस्ताव खोल्ने तयारी भइरहेका बेला विश्व बैंकको निर्देशनपछि पुरानो खरिद प्रक्रिया रद्द गरिएको हो।

नेपाल सरकारको विद्युतीय सरकारी खरिद प्रणाली (ईजीपी) को विश्वसनीयतामाथि प्रश्न उठेपछि दोस्रो प्याकेजको खरिद प्रक्रिया पुनः सुरुदेखि अघि बढाउनुपर्ने अवस्था आएको आयोजना कार्यालयले जनाएको छ। यसअघि प्राविधिक मूल्याङ्कन पूरा गर्न मात्रै करिब २०–२१ महिना लागेको थियो।

दोस्रो प्याकेजका लागि सात वटा बोलपत्र परेका थिए। तीमध्ये दुईवटा बोलपत्र प्राविधिक मूल्याङ्कनबाट योग्य ठहरिएका थिए। एउटा बोलपत्रदाताले ७७ दशमलव ६ र अर्कोले ७३ दशमलव २ कुल प्राविधिक अंक प्राप्त गरेका थिए। बाँकी पाँचवटा बोलपत्र प्राविधिक मूल्याङ्कनबाट अस्वीकृत भएका थिए।

भेरी लिफ्टिङ खानेपानी आयोजना कार्यान्वयन इकाइका सदस्य–सचिव तथा आयोजना प्रमुख रवीन्द्र रायका अनुसार विश्व बैंकबाट प्राविधिक मूल्याङ्कनमा सहमति प्राप्त भइसकेपछि आर्थिक प्रस्ताव खोल्ने तयारी भएको थियो। तर त्यसपछि विश्व बैंकले चालु खरिद प्रक्रिया रद्द गरी संशोधित व्यवस्थासहित नयाँ बोलपत्र आह्वान गर्न सिफारिस गरेपछि प्रक्रिया रोकिएको हो।

रायले अब दोस्रो प्याकेजका लागि नयाँ बोलपत्र आह्वान गरिने र नयाँ प्रक्रिया पूरा गर्न कम्तीमा पाँचदेखि छ महिना लाग्ने जानकारी दिनुभयो। उहाँका अनुसार विश्व बैंकले अर्थ मन्त्रालयसँग छलफल गरी पुरानो विद्युतीय खरिद प्रणालीबाट प्रक्रिया अघि नबढाउन र कागजी माध्यमबाट नयाँ खरिद प्रक्रिया सुरु गर्न पत्राचार गरेको थियो।

‘विश्व बैंकले पनि विद्युतीय सरकारी खरिद प्रणाली भरपर्दो र विश्वसनीय छ कि छैन भन्ने विषयमा चासो राख्दै आएको थियो,’ रायले भन्नुभयो, ‘अर्थ मन्त्रालयसँग छलफलपछि पुरानो ईजीपी प्रणालीबाट खरिद प्रक्रिया अघि नबढाउन र कागजी माध्यमबाट नयाँ प्रक्रिया सुरु गर्न निर्देशन आएपछि पुरानो प्रक्रिया रद्द गर्नुपरेको हो।’

उनका अनुसार प्रक्रिया रद्द हुँदा आयोजनालाई प्रत्यक्ष आर्थिक तथा भौतिक क्षति नभए पनि खरिद प्रक्रिया पुनः सुरुदेखि अघि बढाउनुपर्ने भएकाले आयोजनाको समग्र समयतालिका प्रभावित हुनेछ। नयाँ बोलपत्र प्रक्रियामा यसअघि सहभागी भएका बोलपत्रदाता तथा नयाँ बोलपत्रदाता दुवैले प्रतिस्पर्धा गर्न पाउनेछन्।

प्राविधिक मूल्याङ्कन प्रतिवेदन विश्व बैंकमा पठाइएको थियो। विश्व बैंकबाट १० जुलाई २०२६ मा प्राविधिक मूल्याङ्कनमा सहमति प्राप्त भएपछि वीरेन्द्रनगर नगरपालिका आयोजना कार्यान्वयन समितिको बैठकले संशोधित प्राविधिक मूल्याङ्कन प्रतिवेदन स्वीकृत गरेको थियो। त्यसपछि प्राविधिक रूपमा योग्य ठहरिएका बोलपत्रदाताको आर्थिक प्रस्ताव खोल्ने तयारी अघि बढाइएको थियो।

तर विश्व बैंकले चालु खरिद प्रक्रिया रद्द गरी संशोधित व्यवस्थासहित नयाँ बोलपत्र आह्वान गर्न सिफारिस गरेपछि आर्थिक प्रस्ताव खोल्ने प्रक्रिया अघि बढ्न सकेन।

खरिद प्रक्रिया रद्द हुँदा आयोजना थप लम्बिने चिन्ता

सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाका अध्यक्ष कुलमणी देवकोटाले आर्थिक प्रस्ताव खोल्ने चरणमा पुगिसकेको खरिद प्रक्रिया रद्द गर्नुअघि कानुनी तथा अन्य सम्भावित विकल्पबारे थप छलफल गर्नुपर्ने बताउनुभयो।

उनका अनुसार दोस्रो प्याकेजको प्राविधिक मूल्याङ्कन पूरा भइसकेको र आर्थिक प्रस्ताव खोल्ने मात्रै बाँकी रहेको अवस्थामा प्रक्रिया रद्द हुँदा आयोजना अघि बढ्ने आशामा धक्का पुगेको छ।

‘दोस्रो प्याकेजको प्राविधिक मूल्याङ्कन भइसकेको थियो र आर्थिक प्रस्ताव खोल्न मात्रै बाँकी थियो,’ देवकोटाले भन्नुभयो, ‘त्यो अवस्थासम्म पुग्न लामो समय लागिसकेको थियो। समग्र आयोजना अगाडि बढ्दै गएको र अब कामले गति लिन्छ भन्ने आशा बनिरहेका बेला फेरि खरिद प्रक्रिया रोकिएको अवस्था आएको छ।’

नयाँ बोलपत्र आह्वान गर्दा थप समय लाग्ने भएकाले आयोजना सम्पन्न हुने अवधि पछाडि धकेलिने र वीरेन्द्रनगरवासीले खानेपानीको समस्या अझै लामो समय भोग्नुपर्ने अवस्था आउन सक्ने बताउनुभयो।

सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाले चालु खरिद प्रक्रिया रद्द नगर्न सरकार र विश्व बैंकसँग औपचारिक रूपमा आग्रह गरेको पनि देवकोटाले जानकारी दिनुभयो। चालु प्रक्रिया रद्द गरेर नयाँ बोलपत्र आह्वान गर्दा आयोजना थप लम्बिने र वीरेन्द्रनगरको खानेपानी समस्या झन् गम्भीर बन्न सक्ने संस्थाको निष्कर्ष रहेको उहाँले बताउनुभयो।

विश्व बैंकको खरिद व्यवस्था लागू हुने

वीरेन्द्रनगर नगरपालिकाकी प्रमुख मोहनमाया ढकालले दोस्रो प्याकेजको खरिद प्रक्रिया नेपाल सरकार र विश्व बैंकबीचको दातृ सहयोग अन्तर्गत सञ्चालन भएकाले विश्व बैंकको खरिद व्यवस्था लागू हुने बताउनुभयो।

विश्व बैंकबाट आएको पत्र सम्बन्धित निकाय हुँदै आयोजना कार्यालयमा प्राप्त भएपछि नयाँ प्रक्रिया अनुसार पुनः बोलपत्र आह्वान गर्न लागिएको उहाँले जानकारी गराउनुभयो।

ढकालका अनुसार आयोजनाको पहिलो प्याकेजको काम करिब ४० प्रतिशतको हाराहारीमा पुगेको छ। दोस्रो प्याकेज भने उपत्यका भित्रको पानी वितरण प्रणालीसँग प्रत्यक्ष सम्बन्धित रहेको उहाँले बताउनुभयो।

‘दोस्रो प्याकेजबाट उपत्यकामा वितरण प्रणाली निर्माण गर्ने र घरघरमा पानी पुर्‍याउने संरचनासँग सम्बन्धित काम हुन्छ,’ उहाँले भन्नुभयो ‘यसको बोलपत्र फेरि गर्नुपर्ने भएपछि समग्र आयोजना सम्पन्न हुने समय पनि पछाडि जान्छ।’

भेरीको पानी वीरेन्द्रनगरमा पुर्‍याउने आयोजना

विश्व बैंकको ऋण सहयोगमा खानेपानी तथा ढल व्यवस्थापन विभाग अन्तर्गत सञ्चालित ‘खानेपानी क्षेत्रगत सुशासन तथा पूर्वाधार सहयोग आयोजना’ मार्फत भेरी पम्पिङ खानेपानी आयोजना कार्यान्वयन भइरहेको छ। स्थानीय तहमा वीरेन्द्रनगर आयोजना कार्यान्वयन इकाइ मार्फत आयोजनाको काम भइरहेको छ।

आयोजना मुख्य दुई प्याकेजमा विभाजन गरिएको छ। पहिलो प्याकेज अन्तर्गत भेरी नदीमा इन्टेक, पानी प्रशोधन केन्द्र, रिजर्भ ट्याङ्की तथा मुख्य प्रसारण लाइन निर्माणको काम भइरहेको छ। पहिलो प्याकेजको ठेक्का करिब ३ अर्ब ८० करोड रुपैयाँमा भएको हो।

भेरी नदीबाट पम्पिङ गरिएको पानी करिब ४०० मिटर उचाइमा निर्माण हुने पानी प्रशोधन केन्द्रमा पुर्‍याइनेछ। प्रशोधनपछि करिब ७ किलोमिटर लामो पाइपलाइन मार्फत वीरेन्द्रनगर–११ अमृतडाँडामा निर्माण हुने १२ हजार घनमिटर क्षमताको रिजर्भ ट्याङ्कीमा पानी पुर्‍याउने योजना छ।

त्यहाँबाट मुख्य प्रसारण तथा वितरण प्रणाली मार्फत वीरेन्द्रनगरका वडा नम्बर १ देखि १३ सम्म पानी वितरण गर्ने लक्ष्य राखिएको छ। दोस्रो प्याकेजमा उपत्यकाभित्र पानी वितरणका लागि पाइपलाइन विस्तार तथा पुरानो वितरण प्रणाली सुधार लगायतका काम समेटिएका छन्।

दोस्रो प्याकेजको बोलपत्र प्रक्रिया फेरि सुरुदेखि अघि बढाउनुपर्ने भएपछि भेरीको पानी वीरेन्द्रनगरवासीको घरघरमा पुर्‍याउने आयोजनाको समयतालिका भने थप पछाडि धकेलिने भएको छ। कान्तिपुर दैनिकबाट।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार