
नवलपरासी : राष्ट्रिय साना सहरी खानेपानी उपभोक्ता महासंघ, नवलपरासी जिल्ला समितिको आयोजनामा खानेपानी उपभोक्ता संस्थाका पदाधिकारी तथा कर्मचारीको क्षमता अभिवृद्धि तालिम सुरु भएको छ।
जिल्लाका २२ वटा खानेपानी उपभोक्ता संस्थाबाट करिब ७५ जनाको सहभागिता रहेको तालिममा प्लम्बिङ, पानी शुद्धीकरण, व्यवस्थापकीय क्षमता तथा खानेपानी संस्थाको संस्थागत क्षमता अभिवृद्धिलगायतका विषयमा प्रशिक्षण दिइएको छ।
तालिमको उद्घाटन कार्यक्रममा प्रमुख अतिथि डिभिजन प्रमुख दिनेश कुमार साहाले जिल्लाका खानेपानी आयोजनाको प्रभावकारी सञ्चालन तथा व्यवस्थापनमा उपभोक्ता संस्थाहरूले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताउनुभयो। उहाँले खानेपानी क्षेत्रको दिगो विकासका लागि उपभोक्ता संस्थाहरूको प्राविधिक, व्यवस्थापकीय तथा संस्थागत क्षमता अभिवृद्धि आवश्यक रहेकोमा जोड दिनुभयो।
विशिष्ट अतिथि राष्ट्रिय साना सहरी खानेपानी उपभोक्ता महासंघका केन्द्रीय सदस्य तथा बर्दघाट खानेपानी उपभोक्ता संस्थाका अध्यक्ष दिपक लम्सालले समुदायमा आधारित खानेपानी संस्थाहरूको वर्तमान अवस्था, महासंघको भूमिका तथा समिति र संस्थाहरूको काम, कर्तव्य र अधिकारका विषयमा धारणा राख्नुभयो। उहाँले जिल्लाका सबै खानेपानी संस्थाको संस्थागत तथा प्राविधिक क्षमता विकासमा महासंघले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो।
त्यस्तै, महासंघका केन्द्रीय सदस्य तथा केरवानी खानेपानीका अध्यक्ष दिपक पौडेलले खानेपानी नागरिकको मौलिक अधिकार भएकाले यसको संरक्षण र सुरक्षित तथा गुणस्तरीय सेवा सुनिश्चित गर्न महासंघ प्रतिबद्ध रहेको बताउनुभयो। उहाँले खानेपानी संस्थाका कर्मचारी तथा पदाधिकारीको क्षमता अभिवृद्धिसँगै संस्थागत सुदृढीकरणका लागि महासंघले आवश्यक पहल गर्ने बताउनुभयो।
अँधेरीखोला खानेपानी उपभोक्ता संस्थाका अध्यक्ष राजकुमार श्रेष्ठले राष्ट्रिय साना सहरी खानेपानी उपभोक्ता महासंघ खानेपानी संस्थाहरूको छाता संगठनका रूपमा रहेको उल्लेख गर्दै महासंघले गर्दै आएको कामप्रति धन्यवाद व्यक्त गर्नुभयो। उहाँले सरकारले गर्नुपर्ने कतिपय कामसमेत महासंघले समुदायस्तरमा गर्दै आएको बताउनुभयो।
कार्यक्रममा कृष्णहरि पौडेलले खानेपानी सुरक्षा योजनाका विषयमा जानकारी गराउनुभएको थियो। उहाँले सुरक्षित तथा गुणस्तरीय खानेपानी सेवा प्रवाहका लागि खानेपानी उपभोक्ता संस्थाहरूले खानेपानी सुरक्षा योजनालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो।
तालिमबाट सहभागी खानेपानी उपभोक्ता संस्थाका पदाधिकारी तथा कर्मचारीको प्राविधिक, व्यवस्थापकीय र संस्थागत क्षमता अभिवृद्धि हुने आयोजकले जनाएको छ। क्षमता अभिवृद्धिमार्फत खानेपानी आयोजनाको सञ्चालन, व्यवस्थापन तथा सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने लक्ष्य राखिएको छ।
कार्यक्रमको अध्यक्षता राष्ट्रिय साना सहरी खानेपानी उपभोक्ता महासंघ, नवलपरासीका जिल्ला अध्यक्ष गुप्तबहादुर केसीले गर्नुभएको थियो।


275 पटक हेरिएको 

