आपत्कालीन खानेपानी, सरसफाइ तथा स्वच्छता भनेको के हो ? बाढी पछि किन महत्वपूर्ण छ Emergency WASH?

  वास खबर सम्बाददाता  1033 पटक हेरिएको
🔗
579
Shares

फाइल तस्बिर

काठमाडौं : विपद् आउँदा हाम्रो ध्यान सबैभन्दा पहिले उद्धार, राहत, खाद्यान्न, औषधि र अस्थायी बसोबास तर्फ जान्छ। तर मानिसलाई बाँच्नका लागि यी सबैसँगै अर्को कुरा अनिवार्य चाहिन्छ, सुरक्षित खानेपानी, शौचालय, सरसफाइ र स्वच्छता।

यही आवश्यकतालाई विपद्को समयमा तत्काल सम्बोधन गर्ने कामलाई सामान्यतः इमर्जेन्सी वास अर्थात् आपत्कालीन खानेपानी, सरसफाइ तथा स्वच्छता व्यवस्थापन भनिन्छ।

भूकम्प, बाढी, पहिरो, डुबान, आगलागी, महामारी वा अन्य कुनै विपद्का कारण मानिसको नियमित खानेपानी र सरसफाइ सेवा अवरुद्ध भएको अवस्थामा प्रभावित समुदायलाई तत्काल सुरक्षित पानी, शौचालय, स्वच्छता सामग्री र सरसफाइको सुविधा उपलब्ध गराउनु आपत्कालीन खानेपानी, सरसफाइ तथा स्वच्छता (Emergency WASH) को मुख्य उद्देश्य हो।

विपदको समयमा खानेपानी उपलब्ध गराउनु मात्र होइन। विपद्का कारण पानी र सरसफाइको सेवा अवरुद्ध हुँदा उत्पन्न हुन सक्ने स्वास्थ्य जोखिमलाई तत्काल कम गर्नु पनि यसको महत्वपूर्ण उद्देश्य हो।

भोटेकोशी बाढी पछि किन महत्वपूर्ण छ Emergency WASH?

भोटेकोशीमा आएको बाढीले घर तथा भौतिक पूर्वाधारमा क्षति पुर्‍याएसँगै खानेपानी र सरसफाइका संरचनामा पनि असर गरेको हुन सक्छ। मुहानमा बाढी पसेको, पाइपलाइन बगेको, पानी ट्यांकी क्षतिग्रस्त भएको वा वितरण प्रणाली अवरुद्ध भएको अवस्थामा प्रभावित परिवार सुरक्षित खानेपानीबाट वञ्चित हुन सक्छन्।

अर्कोतर्फ, बाढीले घरका शौचालय, सेप्टिक ट्यांकी तथा पिटमा क्षति पुर्‍याउन सक्छ। बाढीको पानी मानव मलमूत्र, पशुजन्य फोहोर तथा अन्य प्रदूषकसँग मिसिँदा खानेपानीका स्रोत समेत प्रदूषित हुन सक्छन्।

त्यसैले बाढीपछि “कति घर भत्किए?” र “कति सडक बिग्रिए?” भन्ने प्रश्नसँगै “कति मानिस सुरक्षित पानी र सरसफाइको पहुँचबाट वञ्चित भए?” भन्ने प्रश्न पनि उत्तिकै महत्वपूर्ण हुन्छ।

सबैभन्दा पहिले के गर्ने ?

आपत्कालीन अवस्थामा सबैभन्दा पहिले प्रभावित समुदायको  खानेपानी, सरसफाइ तथा स्वच्छता  आवश्यकता र क्षतिको द्रुत मूल्यांकन गर्नुपर्छ।

कति घरधुरी प्रभावित भए? कति मानिसलाई सुरक्षित पानी आवश्यक छ? कुन खानेपानी आयोजना बन्द भए? कुन मुहानमा क्षति पुग्यो? कति पाइपलाइन बगे? पानी ट्यांकीको अवस्था के छ? कति शौचालय प्रयोग गर्न नमिल्ने अवस्थामा पुगे? कहाँ अस्थायी शौचालय आवश्यक छ? यी प्रश्नको उत्तर खोजेर प्राथमिकता निर्धारण गर्नुपर्छ।

यसका लागि प्रभावित परिवारको तथ्यांकलाई खानेपानी तथा सरसफाइको अवस्थासँग जोडेर हेर्न आवश्यक हुन्छ। केवल “कति परिवार प्रभावित?” भन्ने तथ्यांक पर्याप्त हुँदैन; “कति परिवार सुरक्षित पानीविहीन छन्?” भन्ने तथ्यांक पनि चाहिन्छ।

सुरक्षित पानीको प्रबन्ध

आपत्कालीन खानेपानी, सरसफाइ तथा स्वच्छताको सबैभन्दा महत्वपूर्ण पक्ष यही हो।

विपद्को समयमा पानीको अभाव भएपछि जसरी भए पनि पानी उपलब्ध गराउने दबाब हुन्छ। तर बाढी प्रभावित क्षेत्रमा उपलब्ध पानी सुरक्षित छ कि छैन भन्ने प्रश्न अझ महत्वपूर्ण हुन्छ। बाढीले बगाएर ल्याएका पशु चौपाया, मानिसको शव, दिसाजन्य पदार्थ, ढल, फोहोर तथा अन्य प्रदूषक पानीका स्रोतमा मिसिन सक्छन्। त्यसैले पुनः सञ्चालन भएका मुहान, इनार, ट्युबवेल वा अन्य स्रोतको पानी परीक्षण गर्न आवश्यक हुन्छ।

आवश्यकता अनुसार पानी शुद्धीकरण, क्लोरिनेसन वा उमालेर पिउने व्यवस्था गर्नुपर्छ। साथै पानीलाई सुरक्षित रूपमा भण्डारण गर्ने र घरसम्म सुरक्षित रूपमा पुर्‍याउने विषय पनि उत्तिकै महत्वपूर्ण हुन्छ।

त्यसैले आपत्कालीन खानेपानी, सरसफाइ तथा स्वच्छता (Emergency WASH) को मूल मन्त्र पानी उपलब्ध गराउने मात्र होइन, सुरक्षित पानी उपलब्ध गराउने हुनुपर्छ।

शौचालय नहुँदा सुरु हुन्छ अर्को संकट

विपद् प्रभावित क्षेत्रमा शौचालय क्षतिग्रस्त हुनु सामान्य समस्या हो। तर यसको असर तत्कालै देखिँदैन भनेर यसलाई बेवास्ता गर्न मिल्दैन। शौचालय बगेपछि वा प्रयोग गर्न नमिल्ने भएपछि मानिस खुला ठाउँमा दिसापिसाब गर्न बाध्य हुन सक्छन्। त्यसबाट वातावरण र पानीका स्रोत प्रदूषित हुने तथा पानीजन्य रोग फैलिने जोखिम बढ्छ।

त्यसैले Emergency WASH अन्तर्गत अस्थायी तथा सुरक्षित शौचालयको व्यवस्था गर्नुपर्छ। महिलाको गोपनीयता, बालबालिका, ज्येष्ठ नागरिक र अपांगता भएका व्यक्तिको पहुँचलाई पनि ध्यान दिनुपर्छ।

त्यसैगरी बाढीले क्षति पुर्‍याएका सेप्टिक ट्यांकी वा पिटबाट निस्किएको दिसाजन्य लेदोको सुरक्षित व्यवस्थापन पनि तत्कालीन प्रतिक्रियाको हिस्सा बन्नुपर्छ।

स्वच्छता व्यवहार पनि ध्यान दिऔं

सुरक्षित पानी र शौचालयसँगै स्वच्छताको व्यवहार पनि आपत्कालीन खानेपानी, सरसफाइ तथा स्वच्छताको महत्वपूर्ण हिस्सा हो। बाढीपछि प्रभावित परिवारसँग साबुन, पानी भण्डारण गर्ने भाँडा, पानी शुद्धीकरणका सामग्री, बाल्टिन, मग तथा आवश्यक स्वच्छता सामग्री नहुन सक्छ।

त्यसैले राहत प्याकेजमा खाद्यान्न र कपडासँगै आवश्यक hygiene kit समावेश गर्नुपर्छ।

महिला तथा किशोरीका लागि महिनावारी स्वच्छता सामग्रीको उपलब्धता पनि आपत्कालीन खानेपानी, सरसफाइ तथा स्वच्छताको अनिवार्य पक्षका रूपमा लिनुपर्छ।

स्वास्थ्य संस्थाको अवस्था झन् संवेदनशील

बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य संस्थामा बिरामीको चाप बढ्न सक्छ। तर त्यही समयमा स्वास्थ्य संस्थामा पानी, शौचालय, हात धुने सुविधा वा फोहोर व्यवस्थापनको समस्या भयो भने संक्रमणको जोखिम अझ बढ्न सक्छ।

त्यसैले प्रभावित स्वास्थ्य संस्था र स्वास्थ्य चौकीमा सुरक्षित पानी, पर्याप्त शौचालय, हात धुने सुविधा, सरसफाइ तथा स्वास्थ्यजन्य फोहोर व्यवस्थापनको अवस्था तत्काल जाँच गर्नुपर्छ।

राहत देखि पुनर्निर्माणसम्म

आपत्कालीन खानेपानी, सरसफाइ तथा स्वच्छता (Emergency WASH) भनेको केही दिन पानी वितरण गरेर सकिने काम होइन। तत्कालीन आवश्यकता पूरा गरेपछि क्षतिग्रस्त खानेपानी तथा सरसफाइ संरचनाको पुनर्स्थापना र पुनर्निर्माण पनि यसको हिस्सा हो।

तर पुनर्निर्माण गर्दा एउटा महत्वपूर्ण प्रश्न सोधिनुपर्छ, बाढीले बगाएको संरचना फेरि त्यही ठाउँमा र त्यही डिजाइनमा बनाउने कि भविष्यको जोखिमलाई ध्यानमा राखेर अझ सुरक्षित बनाउने?

भोटेकोशी जस्तो बाढी र पहिरोको जोखिम रहेको क्षेत्रमा खानेपानी संरचना पुनर्निर्माण गर्दा जलवायु जोखिम, बाढीको सम्भावित मार्ग, मुहानको सुरक्षा, पाइपलाइनको स्थान र संरचनाको मजबुतीलाई ध्यान दिन आवश्यक छ।

अर्थात् अहिलेको आपत्कालीन खानेपानी, सरसफाइ तथा स्वच्छता (Emergency WASH) ले भोलिको उत्थानशील खानेपानी तथा सरसफाइ योजनाको आधार पनि तयार गर्नुपर्छ।

त्यसैले भोटेकोशी बाढीपछि अब राहतको सूचीमा खाद्यान्न, त्रिपाल र औषधिसँगै सुरक्षित पानी, अस्थायी शौचालय, स्वच्छता सामग्री र पानी परीक्षणलाई पनि समान प्राथमिकता दिन आवश्यक छ।

विपद्को समयमा सुरक्षित पानी र सरसफाइको पहुँच नहुनु आफैंमा अर्को विपद् बन्न सक्छ। त्यसैले बाढी प्रभावित समुदायलाई तत्काल सुरक्षित पानी र सरसफाइ उपलब्ध गराउनु जनस्वास्थ्य र जीवन रक्षाको अनिवार्य हिस्सा हो।

 


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार