
काठमाडौं : भोटेकोशी बाढीपछि सुरक्षित खानेपानीको पहुँच चुनौतीपूर्ण बनेका बेला वातावरण र जनस्वास्थ्य संस्था (एन्फो) ले पानी शुद्धीकरण गर्ने ‘पियुष’को उत्पादन बढाएको छ।
बाढीले खानेपानीका मुहान, पाइपलाइन, ट्यांकी तथा अन्य खानेपानी संरचनामा क्षति पुर्याउनुका साथै उपलब्ध पानीका स्रोत दूषित हुने जोखिम बढेपछि एन्फोले बाढी प्रभावित समुदायमा सुरक्षित पानीको पहुँच विस्तार गर्ने उद्देश्यले पियुष उत्पादन बढाएको हो।
बाढीका समयमा पानीका स्रोतमा दिसाजन्य पदार्थ, मृत पशु चौपाया तथा शव, फोहोर तथा अन्य दूषित वस्तु मिसिन सक्ने र त्यसबाट झाडापखाला, हैजा, टाइफाइड लगायत पानीजन्य रोगको जोखिम बढ्ने भएकाले खानेपानीको शुद्धीकरणलाई प्राथमिकतामा राख्नुपर्ने एन्फोका कार्यकारी निर्देशक राजेन्द्र श्रेष्ठले बताउनुभयो।

“बाढीपछि खानेपानीको स्रोत सुरक्षित छ कि छैन भन्ने विषय सबैभन्दा महत्वपूर्ण हुन्छ,” श्रेष्ठले भन्नुभयो, “यस्तो अवस्थामा मानिसले उपलब्ध पानीलाई आवश्यक प्रक्रिया पूरा गरेर मात्र पिउनुपर्छ। पियुष पानी शुद्धीकरणको एउटा सरल र प्रभावकारी विकल्प हो। त्यसैले आपत्कालीन अवस्थाको आवश्यकतालाई ध्यानमा राखेर यसको उत्पादन बढाएका छौं।”
पियुष भनेको के हो ?
पियुष खानेपानी शुद्धीकरणका लागि प्रयोग गरिने ०.५ प्रतिशत क्लोरिन घोल हो। एन्फोले सन् १९९४ देखि यसको उत्पादन र प्रवर्द्धन गर्दै आएको छ। विशेष गरी घरायसी तहमा खानेपानीलाई जीवाणुजन्य प्रदूषणबाट सुरक्षित बनाउन यसको प्रयोग गरिन्छ।
एन्फोका अनुसार प्राकृतिक विपद्, बाढी, पहिरो, महामारी तथा अन्य आपत्कालीन अवस्थाका बेला सुरक्षित खानेपानीको पहुँच सुनिश्चित गर्न पियुष उपयोगी हुन सक्छ।
कार्यकारी निर्देशक श्रेष्ठका अनुसार पियुषलाई पानीजन्य रोगबाट बच्न सहयोग गर्ने एउटा सहज र कम खर्चिलो उपायका रूपमा लिन सकिन्छ। “आपत्कालीन अवस्थामा पानी उमाल्ने व्यवस्था सबै ठाउँमा सम्भव नहुन सक्छ। इन्धनको अभाव हुन सक्छ, मानिस विस्थापित भएका हुन्छन् र अस्थायी बसोबासमा हुन्छन्। यस्तो अवस्थामा सही विधिबाट प्रयोग गर्दा पियुषले घरायसी तहमा पानीलाई शुद्धीकरण गर्न महत्वपूर्ण सहयोग गर्छ,” उहाँले भन्नुभयो।

कति पानीमा कति पियुष ?
एन्फोले दिएको प्रयोगसम्बन्धी जानकारीअनुसार एक लिटर सफा पानीमा पियुषको तीन थोपा राख्नुपर्छ। पियुष हालिसकेपछि पानीलाई राम्ररी मिसाएर कम्तीमा ३० मिनेटसम्म राखेपछि मात्र पिउनुपर्छ।
यस अनुसार:
१ लिटर पानी — ३ थोपा पियुष
१० लिटर पानी — ३० थोपा पियुष
२० लिटर पानी — ६० थोपा पियुष
एउटा ६० मिलिलिटरको पियुष बोतलले करिब ४०० लिटर सफा खानेपानी शुद्धीकरण गर्न सक्ने एन्फोले जनाएको छ।
तर पियुष प्रयोग गर्दा सबैभन्दा महत्वपूर्ण कुरा पानीको अवस्था भएको श्रेष्ठले बताउनुभयो। उहाँका अनुसार पियुष सफा वा धमिलो नभएको सफा पानीमा मात्र प्रयोग गर्नुपर्छ।
“बाढीपछि आएको पानी धेरै धमिलो हुन सक्छ। त्यस्तो पानीमा सिधै पियुष हाल्नु हुँदैन,” उहाँले भन्नुभयो, “पहिले पानीलाई थिग्राउनुपर्छ। त्यसपछि माथिको सफा पानी छुट्याएर आवश्यकताअनुसार छान्नुपर्छ र मात्र पियुष प्रयोग गर्नुपर्छ।”
धमिलो पानीमा कसरी प्रयोग गर्ने ?
बाढीपछि खानेपानीको मुहान तथा स्रोतमा धमिलोपन बढी हुने भएकाले पियुष प्रयोग गर्नुअघि पानीलाई सकेसम्म सफा बनाउनुपर्छ। पानीलाई केही समय नचलाई राख्दा माटो तथा ठूला कण तल बस्छन्। त्यसपछि माथिल्लो भागको तुलनात्मक रूपमा सफा पानीलाई अर्को सफा भाँडामा सार्न सकिन्छ।
कपडा वा उपयुक्त फिल्टरको माध्यमबाट पनि पानी छानेर सफा बनाउन सकिन्छ। पानी पर्याप्त रूपमा सफा भएपछि मात्र निर्धारित मात्रामा पियुष हालेर कम्तीमा ३० मिनेट पर्खनुपर्छ।
“पियुषको मात्रा अनुमानका आधारमा बढी वा कम गर्नु हुँदैन। पानीको मात्रा र प्रयोग विधि अनुसार निर्धारित मात्रा प्रयोग गर्नुपर्छ,” श्रेष्ठले भन्नुभयो, “पानी शुद्धीकरणमा सही मात्रा र सही प्रयोग विधि अत्यन्त महत्वपूर्ण हुन्छ।”
पियुष हालेर शुद्धीकरण गरिएको पानीलाई पुनः दूषित हुन नदिन सफा र छोपिएको भाँडामा राख्नुपर्ने उहाँले बताउनुभयो।


229 पटक हेरिएको 

