सुरक्षित पानी पिउनु खोप लगाउनु जस्तै हो

  वास खबर सम्बाददाता  173 पटक हेरिएको
🔗
131
Shares

काठमाडौ : भोटेकोशी बाढीपछि राहत सामग्री बोकेर गाडीहरू प्रभावित बस्तीमा पुगेका छन् । चामल, दाल, तेल, त्रिपाल, कम्बल, लत्ताकपडा र सरसफाइका सामग्री वितरण हुना थालेपछि मानिसहरू केही राहत महसुस गरिरहेका छन् । तर राहतको भीडमा ओझेल पर्न सक्छ, सुरक्षित खानेपानी।

बाढीले घर बगेको छ। भान्सा बगेको छ। अन्नपात बगेको छ। ओछ्यान बगेको छ। पानी राख्ने भाँडा समेत बगेको छ। त्यसमाथि बाढीले खानेपानीको संरचना पनि तहस नहस भएको छ । मुहान र धाराका संरचना दूषित बनाएको छ।

यस्तो अवस्थामा मानिसले पिउने पानी कहाँबाट ल्याउने ?

राहतमा खाद्यान्न पाउनु महत्वपूर्ण छ। आश्रय पाउनु महत्वपूर्ण छ। तर दूषित पानी पिएर बिरामी परेमा खाद्यान्न र आश्रयले मात्र बाढीपीडितलाई अर्को स्वास्थ्य संकटबाट जोगाउन सक्दैन।

त्यसैले बाढीपछि सुरक्षित पानीलाई राहतको एउटा सामान्य सामग्रीका रूपमा होइन, रोग रोक्ने पहिलो सुरक्षाका रूपमा बुझ्न आवश्यक छ।

सुरक्षित पानी किन खोप जस्तै ?

खोपले निश्चित रोग विरुद्ध शरीरलाई प्रतिरोधात्मक क्षमता विकास गर्न मद्दत गर्छ। सुरक्षित पानीले त्यसरी शरीरमा प्रतिरोधात्मक क्षमता विकास गराउँदैन। तर मानिसले रोगजनक सूक्ष्मजीव भएको दूषित पानी पिउनबाट जोगिँदा पानीबाट सर्न सक्ने धेरै रोगको जोखिम घटाउन सक्छ।

यस अर्थमा सुरक्षित पानी पिउनु रोगसँग लड्ने एउटा महत्वपूर्ण सुरक्षात्मक उपाय हो।

यही सन्देशलाई सरल भाषामा भन्नुपर्दा, सुरक्षित पानी पिउनु खोप लगाउनुजस्तै रोग रोकथामको एउटा महत्वपूर्ण अभ्यास हो।

खोप लगाउनु भनेको रोग लागेपछि उपचार खोज्नु होइन, रोग लाग्नुअघि जोखिम घटाउनु हो। सुरक्षित पानी पिउनु पनि त्यस्तै हो। दूषित पानी पिएर झाडापखाला लागेपछि उपचार खोज्नुभन्दा पहिले नै पानी सुरक्षित बनाउनु राम्रो हो।

बाढीपछि यो कुरा किन अझ महत्वपूर्ण हुन्छ ?

बाढीले पानीका स्रोतमा ठूलो असर पार्छ।

मरेका पशु चौपाया तथा मानिसका शब पनि कुहिएर बग्दै पानीकै स्रोतमा मिसिन सक्छ। शौचालय डुब्छन्। सेप्टिक ट्यांकीबाट फोहोर बाहिर निस्कन्छ। पशुपन्छीको मलमूत्र बग्छ। फोहोरमैला र नालीको पानी खानेपानीका स्रोतमा मिसिन्छ। पाइपलाइन फुट्छन्। पानी भण्डारण गर्ने संरचनामा दूषित पानी प्रवेश गर्छ।

यसरी बाढी अघि सुरक्षित रहेको पानीको स्रोत बाढीपछि असुरक्षित हुन्छ।

समस्या यतिमै सकिँदैन। बाढीले क्षतिग्रस्त घरका मानिसहरु केही समय पछि घर फर्किन थाल्छन्। पुरानो कुवा वा धाराबाट पानी निकालेर प्रयोग गर्न थाल्छन्। तर पानीको स्रोत बाहिरबाट सामान्य देखिए पनि त्यसमा दिसाजन्य प्रदूषण भएको हुन सक्छ।

त्यसैले बाढीपछि पानीको स्रोत पुनः सुरक्षित भएको सुनिश्चित नगरी सिधै प्रयोग गर्नु जोखिमपूर्ण हुन्छ।

सफा देखिने पानी सुरक्षित नहुन सक्छ

पानीमा फोहोर देखिएन भन्दैमा त्यो सुरक्षित छ भन्ने हुँदैन।

दिसाजन्य प्रदूषणका कारण पानीमा आँखाले नदेखिने रोगजनक सूक्ष्मजीव हुन सक्छन्। पानीको रंग, गन्ध र स्वाद सामान्य देखिए पनि त्यसभित्र स्वास्थ्यका लागि हानिकारक सूक्ष्मजीव हुन सक्छन्।

यही कारण बाढीपछि पानीको गुणस्तरलाई विशेष महत्व दिनुपर्छ।

सम्भव भएसम्म पानीको स्रोतको अवस्था मूल्याङ्कन गर्नुपर्छ। आवश्यकताअनुसार पानी परीक्षण गर्नुपर्छ। जोखिम देखिएको अवस्थामा उपयुक्त उपचारपछि मात्र प्रयोग गर्नुपर्छ।

रोग लागेपछि राहतको अर्को चक्र सुरु 

बाढीबाट प्रभावित परिवारले एउटा विपद् पार गरेको हुन्छ। त्यसपछि दूषित पानीका कारण झाडापखाला वा अन्य पानीजन्य रोग फैलियो भने अर्को संकट थपिन्छ।

बिरामी भएपछि स्वास्थ्य संस्था जानुपर्छ। औषधि चाहिन्छ। उपचार खर्च लाग्छ। परिवारको एउटा सदस्य बिरामी हुँदा अरू सदस्यको दैनिक जीवनमा पनि असर पर्छ।

विशेषगरी बालबालिका र कमजोर अवस्थाका मानिसहरूमा झाडापखाला तथा पानीजन्य रोगको असर गम्भीर हुन सक्छ।

त्यसैले बाढीपछि रोग लाग्न नदिन गरिने WASH प्रतिकार्य आफैंमा स्वास्थ्य क्षेत्रमा गरिएको महत्वपूर्ण लगानी हो।

 


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार