
नुवाकोट : भोटेकोशी बाढीले नुवाकोटको सदरमुकाम विदुरमा खानेपानी आपूर्ति पूर्ण रूपमा अवरुद्ध भएपछि सेवा सुचारु गर्न खानेपानी तथा ढल व्यवस्थापन विभागको टोली अहोरात्र खटिएको छ। बाढीका कारण विदुर खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको मुख्य पाइपलाइन बगाएपछि विदुर र बट्टार बजारका करिब ५ हजार ५ सय घरधुरी खानेपानी सेवाबाट प्रभावित भएका छन्।
शुक्रबार नै विभागको टोली विदुर पुगेको थियो। टोली पुगेकै दिनदेखि काठमाडौ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) का चार वटा ट्याङ्कर मार्फत बाढी प्रभावित क्षेत्रमा खानेपानी वितरण गर्न थालिएको छ।
खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक कमलराज श्रेष्ठका अनुसार अहिले मुख्य समस्या खानेपानी स्रोतको अभाव भन्दा पनि पानी वितरणका लागि आवश्यक ऊर्जा आपूर्तिको भएको छ।

“विदुर नगरपालिकाको वडा नं. २ स्थित तादीखोला किनारमा रहेको सम्पवेलबाट पम्पिङ गरी पानी वितरण गर्न सकिने अवस्था भए पनि विद्युत्को भोल्टेज पर्याप्त नहुँदा पम्प सञ्चालन गर्न सकिएको छैन,” महानिर्देशक श्रेष्ठले भन्नुभयो, “त्यसैले आजै २०० केभीएको जेनेरेटर सञ्चालन गर्ने तयारी गरेका छौं। जगेडाका लागि केयूकेएलको १०० केभीएको अर्को जेनेरेटर पनि झिकाइएको छ।”
उहाँका अनुसार बाढीले ग्राभिटी प्रणालीको मुख्य संरचना र पाइपलाइन क्षतिग्रस्त बनाएर सेवा पूर्ण रूपमा अवरुद्ध गरेको छ। तर पम्पिङ गरी सोमबार देखि खानेपानी वितरण सुरु गर्ने तयारी गरिएको छ।
“अहिलेसम्म विद्युत्कै भरमा बस्यौं। तर भोल्टेज पर्याप्त नभएपछि पम्पिङ गरेर पनि पानी वितरण गर्न सकेनौं,” उहाँले भन्नुभयो, “अब जेनेरेटरको व्यवस्था भएपछि पम्प सञ्चालन गरेर खानेपानी वितरण गर्ने योजना छ।”
बाढी प्रभावित परिवारलाई विदुर र बट्टारका सार्वजनिक भवन, विद्यालय तथा सामुदायिक भवनमा राखिएको छ। ती स्थानमा केयूकेएलका साथै निजी ट्याङ्कर मार्फत पनि खानेपानी पुर्याउने काम भइरहेको विभागले जनाएको छ।
विदुर खानेपानी तथा सरसफाइ सरसफाइ उपभोक्ता संस्थाका अनुसार अहिलेको तत्कालीन समस्या समाधान गर्न दैनिक करिब ५ देखि ६ लाख लिटर खानेपानी आवश्यक पर्ने अनुमान गरिएको छ।
यद्यपि, त्रिशुली बजार र ढुङ्गेलाई जोड्ने पुल बाढीले बगाएका कारण त्रिशुली नदीपारिका क्षेत्रमा भने खानेपानी पुर्याउन चुनौती देखिएको छ। पुल नहुँदा नदीपारि ट्याङ्कर वा अन्य माध्यमबाट खानेपानी वितरणको प्रयाससमेत कठिन बनेको छ।

रसुवामा पाइप पठाउने तयारी
यसैबीच, बाढी प्रभावित रसुवामा खानेपानी सेवा पुनःस्थापित गर्न विभागले विभिन्न साइजका पाइप पठाउने तयारी गरेको छ। महानिर्देशक श्रेष्ठका अनुसार सोमबार नै रसुवाका लागि पाइपका क्वायल पठाउने तयारी पूरा भइसकेको छ।
“हामी विभागको टोली अहोरात्र खटिरहेका छौं,” उहाँले भन्नुभयो, “प्रभावित क्षेत्रमा तत्काल खानेपानी पुर्याउने र क्षतिग्रस्त प्रणालीलाई सकेसम्म छिटो सञ्चालनमा ल्याउने हाम्रो प्राथमिकता हो।”


407 पटक हेरिएको 

