बाढीपीडितका लागि क्लोरिनेसन नै सुरक्षित पानीको उत्तम विकल्प

  वास खबर सम्बाददाता  262 पटक हेरिएको
🔗
441
Shares

काठमाडौ : भोटेकोशीको विनाशकारी बाढीले हजारौं मानिसलाई घरबारविहीन बनाएको छ। बाढीबाट ज्यान जोगाएर बाहिर निस्किएका धेरै परिवार अहिले अस्थायी आश्रयस्थलमा छन्। तर, घरबास गुमाएका उनीहरूका लागि अर्को ठूलो चिन्ता छ, पिउने पानी कहाँबाट र कसरी सुरक्षित बनाउने ?

बाढीले खानेपानीका मुहान, पाइपलाइन र वितरण प्रणालीमा क्षति पुगेको छ। बाढीको पानीले ढल, शौचालय र फोहोर बगाएर पानीका स्रोतसम्म पुर्‍याउने भएकाले पानी दूषित हुने जोखिम अत्यन्तै बढी हुन्छ। सुरक्षित खानेपानीको अभाव र भीडभाडयुक्त अस्थायी बसोबासले झाडापखाला तथा अन्य पानीजन्य रोग फैलिने जोखिम पनि बढाएको छ।

यस्तो अवस्थामा पानी शुद्ध पार्ने धेरै विकल्प भए पनि बाढीपहिरोबाट विस्थापित परिवारका लागि क्लोरिनेसन सबैभन्दा छिटो, सरल र व्यावहारिक विकल्प मध्ये एक हो।

न फिल्टर छ, न ग्यास चुल्हो

सामान्य अवस्थामा पानी फिल्टर गरेर वा उमालेर पिउन सकिन्छ। तर, बाढीले घर बगाएका वा क्षतिग्रस्त भएका मानिससँग अहिले पानी फिल्टर नै छैन। फिल्टर भए पनि त्यसलाई सञ्चालन गर्ने ठाउँ र पानीको स्रोत नहुन सक्छ।

पानी उमाल्नु अर्को विकल्प हो। तर, अस्थायी शिविर वा विस्थापित बस्तीमा ग्यास चुल्हो, दाउरा वा अन्य इन्धन पर्याप्त नहुन सक्छ। एउटै परिवारले दैनिक पिउनका लागि आवश्यक पानी उमाल्न ठूलो मात्रामा इन्धन, भाँडा र समय चाहिन्छ।

कतिपय ठाउँमा विद्युत् आपूर्ति पनि अवरुद्ध छ। बाढी पहिरोले सडक र पुल बगाएका कारण ग्यास तथा इन्धन आपूर्ति प्रभावित हुन सक्छ। त्यसैले पानी उमाल्ने विधि व्यवहारमा कठिन हुन सक्छ।

यही कारण यस्तो आपत्कालीन अवस्थामा सानो क्लोरिनको ट्याब्लेट, घोल वा अन्य स्वीकृत क्लोरिनयुक्त उत्पादनले केही मिनेटको प्रक्रियामा पानीलाई सुक्ष्म जीवाणुबाट सुरक्षित बनाउन महत्वपूर्ण भूमिका खेल्छ।

बाढीपछि सबैभन्दा ठूलो खतरा पानीमा देखिने फोहोर मात्र होइन, आँखाले देख्न नसकिने जीवाणु पनि हुन्। दिसाजन्य जीवाणु तथा भाइरस दूषित पानी मार्फत मानिसको शरीरमा प्रवेश गर्न सक्छन्।

क्लोरिनले यस्ता धेरै सुक्ष्म जीवाणुलाई निष्क्रिय पार्छ। विश्व स्वास्थ्य संगठन का अनुसार आपत्कालीन अवस्थामा उचित मात्रामा क्लोरिन प्रयोग गरी पर्याप्त समय सम्पर्कमा राख्दा खानेपानीमा रहेका अधिकांश आन्द्रा सम्बन्धी ब्याक्टेरिया र भाइरस निष्क्रिय हुन्छन्। स्पष्ट पानीमा सामान्यतया करिब ३० मिनेटको सम्पर्क समयपछि क्लोरिन प्रभावकारी हुन्छ।

तर क्लोरिनको प्रयोगमा एउटा महत्वपूर्ण कुरा बुझ्नुपर्छ, धमिलो पानीमा सिधै क्लोरिन हाल्नु पर्याप्त हुँदैन।

क्लोरिन किन फिल्टरभन्दा आपत्कालमा सजिलो ?

पोर्टेबल फिल्टर उपयोगी भए पनि बाढीपीडित परिवारसँग फिल्टर हुनु आवश्यक छ। फिल्टर किन्ने वा तुरुन्त उपलब्ध गराउने व्यवस्था गर्नुपर्छ। फिल्टर बिग्रिन सक्छ, सफा गर्नुपर्छ र कतिपय अवस्थामा प्रतिस्थापन सामग्री पनि चाहिन्छ।

क्लोरिनेसनका लागि भने ट्याब्लेट वा उपयुक्त क्लोरिनयुक्त उत्पादन, पानी राख्ने भाँडा र केही समय भए पुग्छ।

यसलाई ढुवानी गर्न पनि सजिलो हुन्छ। एउटा सानो प्याकेटमा धेरै परिवारका लागि आवश्यक ट्याब्लेट वा घोल पुर्‍याउन सकिन्छ। दुर्गम तथा सडक सम्पर्क टुटेको क्षेत्रमा राहत सामग्री मार्फत पुर्‍याउन पनि सजिलो हुन्छ।

बाढीको पानी प्रायः हिलो, बालुवा र अन्य फोहोर मिसिएको हुन्छ। यस्तो पानीमा क्लोरिन हाल्दा फोहोरमा भएको जैविक पदार्थले क्लोरिनको प्रभाव कम गर्न सक्छ।

त्यसैले पानी अत्यधिक धमिलो छ भने पहिले त्यसलाई केही समय स्थिर राखेर फोहोर तल बस्न दिनुपर्छ। सफा कपडा वा अन्य उपयुक्त माध्यमबाट छानेर पानीलाई सकेसम्म सफा बनाउनुपर्छ। त्यसपछि मात्रै क्लोरिनेसन गर्नुपर्छ।

क्लोरिनको मात्रा भने पानीको प्रकार र प्रयोग भइरहेको उत्पादनको सघनता अनुसार फरक हुने भएकाले अनुमानका आधारमा हाल्नु हुँदैन। ट्याब्लेट, झोल वा पाउडर जुनसुकै क्लोरिनयुक्त उत्पादन प्रयोग गर्दा पनि त्यसको लेबल वा स्वास्थ्य तथा WASH निकायले दिएको निर्देशन अनुसार मात्रा प्रयोग गर्नुपर्छ।

ट्याङ्करको पानी पनि सधैं सुरक्षित सुरक्षित हुँदैन

बाढीपछि राहतका लागि ट्याङ्करबाट पानी आपूर्ति हुन सक्छ। तर पानी स्रोतबाट लिएर ट्याङ्करसम्म, ट्याङ्करबाट वितरणस्थलसम्म र वितरणपछि घर वा आश्रयस्थलमा राख्दासम्म पनि पुनः दूषित हुन सक्छ।

त्यसैले पानी सुरक्षित स्रोतबाट आएको हो वा होइन भन्ने सुनिश्चित नभएको अवस्थामा उचित पानी परीक्षण र क्लोरिनेसन महत्वपूर्ण हुन्छ।

विश्व स्वास्थ्य संगठनले आपत्कालीन अवस्थामा पानी सुरक्षित रहेको पुष्टि नभएसम्म दूषित हुने सम्भावना रहेको मान्नुपर्ने उल्लेख गरेको छ। बाढीले पाइपलाइन तथा ढल प्रणालीमा क्षति पुर्‍याउँदा पाइपभित्र समेत प्रदूषण प्रवेश गर्न सक्छ।

क्लोरिनेसनलाई जादुको उपायका रूपमा भने बुझ्नु हुँदैन। क्लोरिनले पानीमा रहेको माटो, बालुवा र अन्य भौतिक फोहोर हटाउँदैन। यसले पानीमा मिसिएका सबै रासायनिक प्रदूषक पनि हटाउँदैन।

त्यसैले अत्यधिक दूषित पानीलाई पहिले उपयुक्त रूपमा छानेर सकेसम्म सफाबनाउनु आवश्यक हुन्छ। रासायनिक प्रदूषण भएको शंका भएको पानीको स्रोत भने सुरक्षित वैकल्पिक स्रोतबाट प्रतिस्थापन गर्नुपर्छ।

 


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार