
काठमाडौं : हरेक सहरले यस्तो एउटा विषय उत्पादन गर्छ, जसबारे हामी प्रायः कम कुरा गर्दछौ । त्यो विषय हो: फोहोरपानी। नेपालका सहरहरूमा हरेक दिन १,५०० मिलियन लिटरभन्दा बढी फोहोरपानी र करिब ३,००० घनमिटर दिसाजन्य लेदो (Fecal Sludge) उत्पादन हुन्छ।
नीति-निर्माता, इन्जिनियर तथा युवा पेशाकर्मीहरूको एउटा समूहले यही विषयमा खुलेर छलफल गर्ने निर्णय गर्यो।
अवसर थियो: Diyalo Technologies Pvt. Ltd. ले सुरु गरेको नयाँ मासिक वेबिनार शृङ्खला WASH Connect को पहिलो सत्र। यसको मूल उद्देश्य सरल छ: “ज्ञान जोडौँ, कार्यका लागि प्रेरित गरौँ।”
पहिलो सत्रमै छलफललाई सामान्य परिचयबाट सुरु गरिएन। “नेपालमा फोहोरपानी व्यवस्थापन: के हामी पर्याप्त गरिरहेका छौँ?” भन्ने चुनौतीपूर्ण प्रश्नबाट कार्यक्रम सुरु भयो। त्यसपछिको एक घण्टामा नेपाल, बंगलादेश श्रीलंका र भारतबाट अनलाइन जोडिएका ५० भन्दा बढी सहभागीले यही प्रश्नमाथि गहन छलफल गरे।
पहिलो सत्रदेखि नै संवादले सीमाना पार गर्नु आफैँमा अर्थपूर्ण थियो। यसले एउटा महत्वपूर्ण तथ्य उजागर गर्यो काठमाडौंले सामना गरिरहेको फोहोरपानी व्यवस्थापनको चुनौती काठमाडौंको मात्र समस्या होइन। यो दक्षिण एसियाका तीव्र गतिमा सहरीकरण भइरहेका धेरै शहरहरूको साझा चुनौती हो।
कार्यक्रमको सुरुवात पानी तथा सरसफाइ क्षेत्रमा तीन दशकभन्दा लामो अनुभव हासिल गर्नुभएका कैलाश शर्माले संचालन गर्नुभएको थियो। चादनी केसीले कार्यक्रमको मोडरेटर तथा सहजकर्ताका रूपमा छलफललाई निरन्तर अगाडि बढाउनुभयो।
तर छलफलको सुरुवाती दिशा तय गर्ने महत्वपूर्ण प्रस्तुति Diyalo Technologies की WASH पेशाकर्मी मेलिना खनालको थियो। पाँच वर्षको अवधिमा चार देशमा काम गरिसकेकी खनालले तथ्यांकमार्फत नेपालको फोहोरपानी व्यवस्थापनको वास्तविक अवस्था प्रस्तुत गर्नुभयो।
“ नेपालका शहरहरूमा जनसंख्या वार्षिक करिब २ प्रतिशतको दरले बढिरहेको छ, जुन एसियाका तीव्र सहरीकरण भइरहेका क्षेत्रहरूमध्ये एक हो। तर सहरी विस्तारको गतिअनुसार फोहोरपानी व्यवस्थापनका पूर्वाधार विकास हुन सकेका छैनन्। ८५ प्रतिशतभन्दा बढी सहरी घरधुरी अझै पनि सार्वजनिक ढल सञ्जालमा जोडिनुको सट्टा सेप्टिक ट्याङ्क तथा सोकपिटजस्ता अन-साइट प्रणालीमा निर्भर छन्।
देशका सात प्रदेशमध्ये दुई प्रदेशमा मात्र सार्वजनिक ढल प्रणाली सञ्चालनमा छ। राष्ट्रिय रूपमा हेर्दा, सार्वजनिक ढल सञ्जालमा जोडिएका घरधुरीको संख्या १० प्रतिशतभन्दा पनि कम छ। नेपालले सन् २०१९ मा खुला दिसामुक्त (ODF) राष्ट्र घोषणा गरेको उपलब्धि महत्वपूर्ण भए पनि यसको अर्थलाई अझ फराकिलो रूपमा बुझ्नुपर्ने खनालले बताउनुभयो।
ODF घोषणा मुख्यतः शौचालयको पहुँच र प्रयोगसँग सम्बन्धित उपलब्धि हो; तर शौचालय प्रयोग गरेपछि उत्पन्न हुने फोहोरपानी र दिसाजन्य लेदोको व्यवस्थापन कहाँ र कसरी हुन्छ भन्ने प्रश्न अझै बाँकी छ।
काठमाडौं उपत्यकामा देशकै उन्नत फोहोरपानी प्रशोधन पूर्वाधारहरू गुह्येश्वरी, धोबिघाट, सल्लाघारी रहे पनि उपत्यकाको तीव्र सहरी विस्तारसँगै बढिरहेको फोहोरपानीको मात्रा र व्यवस्थापन आवश्यकताअनुसार प्रणाली अझै पर्याप्त हुन सकेको छैन।
खनालले समस्याको आकार र व्यापकता प्रस्तुत गर्नुभयो भने, Eco Concern Pvt. Ltd. का टेक्निकल सल्लाहकार तथा थाइल्यान्डस्थित Asian Institute of Technology का Research Associate इन्जिनियर कृष्णराम येन्ड्योले त्यस समस्याको भित्री संरचना र वास्तविक अवस्था प्रस्तुत गर्नुभयो।
“नेपालमा हरेक दिन करिब २,९२५ घनमिटर दिसाजन्य लेदो उत्पादन हुने भए पनि देशभरको कुल प्रशोधन क्षमता जम्मा २५२ घनमिटर रहेको उहाँले जानकारी दिनुभयो। यसको परिणामस्वरूप उत्पादन हुने दिसाजन्य लेदोमध्ये करिब ३० प्रतिशत मात्र संकलन हुने र करिब ३ प्रतिशत मात्र प्रशोधन हुने अवस्था रहेको तथ्य उहाँले प्रस्तुत गर्नुभयो। काठमाडौं महानगरपालिकाका लागि तयार गरिएको सरसफाइ प्रवाह चित्रलाई आधार बनाएर येन्ड्योले फोहोरपानी व्यवस्थापनका दुई प्रमुख क्षेत्रमा देखिएका कमजोरीहरू स्पष्ट पार्नुभयो।
पहिलो हो, अन-साइट प्रणाली। कमजोर तथा मापदण्डविपरीतका सेप्टिक प्रणाली, खुला रूपमा दिसाजन्य लेदो फाल्ने प्रवृत्ति, पर्याप्त रूपमा सञ्चालन हुन नसकेका प्रशोधन केन्द्र तथा दिसाजन्य लेदो निकाल्ने सेवाको शुल्कबारे स्पष्टताको अभावले यस प्रणालीलाई कमजोर बनाएको छ।
दोस्रो हो, अफ-साइट अर्थात् ढलमा आधारित प्रणाली। न्यून ढल जडान दर, प्रशोधन केन्द्र निर्माणका लागि आवश्यक जग्गासम्बन्धी विवाद तथा डिजाइन गर्दा अनुमान गरिएको भन्दा फरक र असमान प्रकृतिको फोहोरपानी प्रशोधन केन्द्रमा पुग्नुजस्ता कारणले यसको प्रभावकारिता प्रभावित भइरहेको छ।
येन्ड्योको सन्देश एउटै समाधानमा सीमित थिएन। उहाँले दिसाजन्य लेदो र फोहोरपानीलाई छुट्टाछुट्टै होइन, एकीकृत रूपमा व्यवस्थापन गर्नुपर्ने, दिसाजन्य लेदो निकाल्ने र व्यवस्थापन गर्ने व्यवहारमा सुधार ल्याउनुपर्ने, निजी क्षेत्रको लगानी र प्राविधिक क्षमता परिचालन गर्नुपर्ने, नीति र कार्यान्वयनलाई प्रभावकारी बनाउनुपर्ने, “प्रदूषकले तिर्ने” सिद्धान्तमा आधारित शुल्क प्रणाली विकास गर्नुपर्ने र फरक परिवेशमा एउटै समाधान जस्ताको तस्तै लागू गर्ने प्रवृत्तिबाट बच्नुपर्नेमा जोड दिनुभयो।
त्यसपछि छलफल प्राविधिक विषयबाट शासन र संस्थागत समन्वयतर्फ मोडियो।
नेपाल सरकारका पूर्व विज्ञान तथा प्रविधि मन्त्री इन्जिनियर गणेश शाहले आफ्नो सम्बोधनमा स्पष्ट पार्नुभयो फोहोरपानी व्यवस्थापनका लागि पाइप र प्रशोधन केन्द्र मात्र पर्याप्त हुँदैनन्। नेपालको संघीय संरचनाका तीनै तह: संघ, प्रदेश र स्थानीय तहबीच नीति, वित्तीय स्रोत, कार्यान्वयन र सार्वजनिक जवाफदेहितामा प्रभावकारी समन्वय आवश्यक छ।
कार्यक्रमको खुला छलफलमा यसको सीमापार स्वरूप अझ स्पष्ट देखियो।
भारतको लखनउबाट सहभागी पुनीत श्रीवास्तव, जो Peoples WASH Solution LLP मार्फत WASH क्षेत्रमा काम गर्दै आउनुभएको छ, ले प्यानलसमक्ष एउटा महत्वपूर्ण प्राविधिक प्रश्न राख्नुभयो ढल सञ्जाल कहिल्यै नपुग्न सक्ने समुदायका लागि अन-साइट विकल्पका रूपमा Bio-digester toilet प्रयोग गरिएको छ कि छैन? त्यस्ता प्रणालीको अनुभव कस्तो रह्यो?
छलफल त्यसपछि अझ गम्भीर र मानवीय प्रश्नतर्फ अघि बढ्यो हाल अनौपचारिक क्षेत्रमा काम गरिरहेका सरसफाइ श्रमिकहरूलाई उनीहरूको जीविकोपार्जनमा असर नपर्ने गरी कसरी औपचारिक, सुरक्षित र मर्यादित रोजगारीतर्फ लैजान सकिन्छ?
यी प्रश्नका सजिला वा एकैपटक लागू गर्न सकिने उत्तर थिएनन्। तर यिनै प्रश्नहरूले यस्ता संवादको महत्व देखाउँछन्। किनकि फोहोरपानी र सरसफाइको समस्या केवल प्रविधिको समस्या होइन; यसमा मानव व्यवहार, रोजगारी, सामाजिक सुरक्षा, संस्थागत क्षमता, नीति र शासन सबै जोडिएका छन्।
कार्यक्रमको अन्त्यतिर सुरुवातमा उठाइएको प्रश्न: “के हामी पर्याप्त गरिरहेका छौँ?” को इमानदार उत्तर स्पष्ट हुँदै गयो: छैनौँ।
तर छलफल त्यही निष्कर्षमा रोकिएन।
खनालले प्रस्तुत गरेको अवस्थाको चित्रण, येन्ड्योले प्रस्तुत गरेको तथ्यांक, शाहले उठाउनुभएको संस्थागत तथा शासनसम्बन्धी सवाल र नेपाल, भारत तथा बंगलादेशबाट सहभागीहरूको प्रश्नोत्तरले एउटा महत्वपूर्ण सन्देश दिएको छ: समस्या समाधानका लागि आवश्यक ज्ञान, प्रविधि र उपायहरू हामीसँग छन्। अब आवश्यक छ, ती सबैलाई एउटै दिशामा परिचालन गर्ने समन्वय, प्रतिबद्धता र कार्यान्वयन।
Diyalo Technologies ले WASH Connect अब हरेक महिना सञ्चालन हुने जानकारी दिएको छ। आगामी सत्रमा नेपालले अब थप ढिला गर्न नहुने अर्को महत्वपूर्ण विषयमा छलफल हुनेछ हालैको बाढीबाट क्षतिग्रस्त WASH पूर्वाधार तथा सुविधाहरूको पुनर्निर्माण, र तिनलाई अझ सुरक्षित, सबल तथा जलवायु उत्थानशील बनाउँदै पुनःस्थापना गर्न आवश्यक उपायहरू।
WASH Connect “Connecting Knowledge. Inspiring Action” भन्ने मूल नारासहित Diyalo Technologies Pvt. Ltd. द्वारा आयोजना गरिने मासिक वेबिनार शृङ्खला हो। यसले नेपाल तथा दक्षिण एसियामा पानी, सरसफाइ तथा स्वच्छता (WASH) सम्बन्धी विषयमा नीति-निर्माता, प्राविधिक विज्ञ तथा कार्यान्वयनमा संलग्न पेशाकर्मीहरूलाई एउटै मञ्चमा ल्याउँदै तथ्यमा आधारित संवाद, ज्ञान आदानप्रदान र कार्यका लागि प्रेरणा प्रदान गर्ने उद्देश्य राखेको छ।


288 पटक हेरिएको 

