
काठमाडौं : भोटेकोशी बाढीबाट प्रभावित धादिङ र नुवाकोटका समुदायमा आपतकालीन राहत सामग्री वितरण गरिएको छ। छायाँ नेपालले राहतको पहिलो चरण अन्तर्गत धादिङको गजुरीस्थित आपतकालीन शिविरमा रहेका २९ परिवारलाई राहत सामग्री उपलब्ध गराइनुका साथै अस्थायी आपतकालीन आश्रय र शौचालय निर्माणमा सहयोग गरिएको हो।
त्यसैगरी, नुवाकोटको विदुर नगरपालिकामा २०० परिवारलाई खाद्यान्न, त्रिपाल तथा विपद्को अवस्थामा आवश्यक पर्ने अन्य अत्यावश्यक सामग्री वितरण गरिएको छायाँ नेपालका प्रोग्राम म्यानेजर राम महर्जनले जानकारी दिनुभयो।
बाढीबाट प्रभावित समुदायलाई सुरक्षित र शीघ्र रूपमा राहत पुर्याउने उद्देश्यले राहत सामग्री बेसबाट ट्रकमा लोड गरी प्रभावित क्षेत्रसम्म पुर्याइएको थियो। प्रतिकूल सडक अवस्थाका बाबजुद टोलीले राहत सामग्री आवश्यकतामा रहेका परिवारसम्म पुर्याएको जनाएको छ।
प्रभावित क्षेत्रमा तत्काल राहत आवश्यक भए पनि आवश्यकता अझै धेरै रहेको जनाइएको छ। पहिलो चरणको राहत वितरणसँगै थप प्रभावित समुदायसम्म सहायता पुर्याउन आगामी चरणको तयारी समेत भइरहेको प्रोग्राम म्यानेजर महर्जनले जानकारी दिनुभयो।

आपतकालीन राहत अभियानमा अन्तर्राष्ट्रिय सहयोगी तथा साझेदारहरू Let the Children Walk, Friends for Nepal, Himalayan Development Aid, Roots for Life, Schöck Foundation, Chay-Ya Austria, Chay -Ya Liechtenstein तथा Chay-Ya Switzerland समेत जोडिएका छन्।
सहयोगी तथा साझेदारहरूको सहकार्यले बाढी प्रभावित समुदायमा अत्यावश्यक राहत पुर्याउन सम्भव भएको भन्दै आगामी चरणमा थप प्रभावित समुदायसम्म राहत र सहायता विस्तार गर्ने तयारी भइरहेको छायाँ नेपालका वरिष्ठ कार्यकारी सहायक प्रियंका ठाकुरले जानकारी दिनुभयो।
बाढीका कारण विस्थापित तथा प्रभावित परिवारका लागि खाद्यान्न, अस्थायी आश्रय, सुरक्षित सरसफाइ र अन्य अत्यावश्यक सामग्रीको आवश्यकता अझै कायम रहेकाले राहत तथा पुनःस्थापनाका कार्यक्रमलाई निरन्तरता दिइने कार्यकारी सहायक ठाकुरले जानकारी दिनुभयो।



238 पटक हेरिएको 

