
काठमाडौ : यही भदौ १० गतेको भोटेकोशी बाढीले रसुवा, नुवाकोट, धादिङ र गोरखाका ५५ वटा खानेपानी आयोजनामा ठुलो क्षति पुगेको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागका अनुसार बाढीका कारण हालसम्म ६ करोड ४० लाख रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ ।
विभागले सार्वजनिक गरेको तथ्याङ्क अनुसार नुवाकोट जिल्ला सबैभन्दा बढी प्रभावित भएको छ, जहाँ २२ वटा आयोजनामा ४ करोड ११ लाख ५० हजार रुपैयाँ बराबरको क्षति भएको छ । यस्तै, धादिङका २० आयोजनामा १ करोड ४७ लाख, गोरखाका ५ आयोजनामा ५० लाख र रसुवाका ८ आयोजनामा ३ लाख १५ हजार रुपैयाँको क्षति भएको छ । क्षतिको विवरण सङ्कलन गर्ने कार्य अझै जारी रहेको विभागले जनाएको छ ।
बाढीका कारण अवरुद्ध भएका क्षेत्रमा खानेपानी सेवा पुनः सञ्चालन गर्न विभागले विभिन्न अल्पकालीन र दीर्घकालीन कार्यहरू अघि बढाएको छ । विशेष गरी विदुर खानेपानी आयोजना प्रभावित क्षेत्रमा नागरिकहरूलाई खानेपानीको सहज उपलब्ध गराउन १०० केभीए क्षमताको डिजेल जेनेरेटर सञ्चालन गरी दैनिक करिब ५ लाख लिटर खानेपानी वितरणको व्यवस्था मिलाइएको छ । यस्तै १ एचपी क्षमताका ७ वटा पम्प सञ्चालनमा ल्याएर बट्टार क्षेत्रका करिब ५०० घरधुरीमा खानेपानी सेवा सुचारु गरिएको छ ।
साथै काठमाडौँ उपत्यका खानेपानी लिमिटेडसँगको समन्वयमा भदौ १२ गतेदेखि ४ वटा ट्याङ्करमार्फत विदुर र बट्टारका विभिन्न बस्तीमा पानी वितरण भइरहेको छ ।
त्रिशूली बजार, बेलकोटगढी, कोल्पुटार, गल्छी, गजुरी र विदुरका बाँकी क्षेत्रमा सेवा विस्तार गर्न विभागले ठुलो परिमाणमा सामग्रीहरू व्यवस्थापन गरेको छ । जसमा २ एचपी र १ एचपीका गरी कुल १४ वटा पम्प, १ हजार लिटरको हिलटेक ट्याङ्की र करिब ४१.१ किलोमिटर लामो एचडीपीई पाइप रहेका छन् । यी सामग्रीहरू जडान र ढुवानीका लागि तयारी अवस्थामा राखिएको विभागको भनाइ छ ।
बाढी प्रभावित क्षेत्रमा खानेपानीको हाहाकार हुन नदिन र क्षतिग्रस्त संरचनाको मर्मतका लागि प्राविधिक टोली निरन्तर खटिएको खानेपानी तथा ढल व्यवस्थापन विभागले उल्लेख गरेको छ ।



172 पटक हेरिएको 

