
काठमाडौ : भोटेकोशीको विनाशकारी बाढीले खानेपानीका संरचना बगाएपछि प्रभावित क्षेत्रमा वैकल्पिक खानेपानी सेवा सञ्चालन गर्न आवश्यक पाइप हेलिकप्टर मार्फत ढुवानी गर्न थालिएको छ।
बाढीका कारण खानेपानीका मुहान, इन्टेक, पाइपलाइन लगायतका संरचना क्षतिग्रस्त भएपछि तत्काल वैकल्पिक व्यवस्था गर्न नेपाली सेनाको हेलिकप्टर मार्फत पाइपहरु पठाईएको खानेपानी तथा ढल व्यवस्थापन कार्यालय भक्तपुरका प्रमुख पूर्ण प्रसाद उपाध्यायले जानकारी दिनुभयो।
भोटेकोशी बाढीबाट रसुवा, नुवाकोट, धादिङ र गोरखाका ५५ वटा खानेपानी आयोजनामा क्षति पुगेको छ।
कार्यालय प्रमुख पूर्ण प्रसाद उपाध्यायका अनुसार नेपाली सेनाको तालिम केन्द्र बट्टारबाट हेलिकप्टर मार्फत एचडीपीई पाइप करिब १ हजार ८८० मिटर त्रिशुली पारिबाट कोलोनी बस्तीमा ढुवानी गरिएको छ। त्यसमा ५०/१० मिलिमिटर व्यासका १ हजार १०० मिटर पाइप, २५/१० मिलिमिटरका ६०० मिटर र ९०/६ मिलिमिटरका १८० मिटर पाइप रहेका छन्।
यसैगरी नेपाली सेनाको तालिम केन्द्र बट्टारबाट रसुवाको उत्तरगया स्थित निलकण्ठ माध्यमिक विद्यालय बोगटीटारमा ५०/१० मिलिमिटरका करिब २०० मिटर र ३२/१० मिलिमिटरका ८०० मिटर गरी १ हजार मिटर पाइप पठाईएको कार्यालय प्रमुख उपाध्यायले जानकारी दिनुभयो।
बाढीले खानेपानीका संरचना नै बगाएपछि प्रभावित नागरिकलाई तत्काल वैकल्पिक खानेपानी उपलब्ध गराउन पाइपलाइन पुनःजडान वा अस्थायी प्रणाली निर्माण आवश्यक भएको छ।
बाढीबाट क्षतिग्रस्त खानेपानी प्रणाली तत्काल पुनः सञ्चालन हुन नसक्ने अवस्थामा अस्थायी तथा वैकल्पिक खानेपानीको व्यवस्था गर्नु अहिलेको प्राथमिकता बनेकाले आवश्यक पाइप तथा अन्य सामग्री हेलिकप्टरबाट ढुवानी गरेर प्रभावित स्थानमै पुर्याउने काम भैरहेको कार्यालय प्रमुख उपाध्यायले बताउनुभयो।


152 पटक हेरिएको 

