स्थानीय तह, सहयोगी संस्था र उपभोक्ता समितिको साझेदारी बलियो बनाउन सामाजिक परीक्षकको सुझाव

  वास खबर सम्बाददाता  134 पटक हेरिएको
🔗
120
Shares

काठमाडौं : नेपाल स्वास्थ्यका लागि पानी (नेवा) ले सञ्चालन गरेका खानेपानी तथा सरसफाइ आयोजनालाई थप प्रभावकारी र दिगो बनाउन स्थानीय तह, नेवा र खानेपानी तथा सरसफाइ उपभोक्ता समिति बीचको त्रिपक्षीय सम्बन्धलाई अझ प्रभावकारी रूपमा उपयोग गर्नुपर्ने सामाजिक परीक्षणले सुझाव दिएको छ।

नेवाको आर्थिक वर्ष २०२६ को सामाजिक लेखापरीक्षण प्रतिवेदन प्रस्तुत गर्दै सामाजिक लेखापरीक्षक डा. तेजबहादुर कार्कीले समुदायको सहभागितालाई आयोजनाको अर्थपूर्ण हिस्सा बनाउन स्थानीय तह, न्यूवाह र उपभोक्ता समिति बीचको समन्वय र सहकार्यलाई थप सुदृढ गर्नुपर्ने बताउनुभएको हो।

उहाँका अनुसार तीनवटै पक्षबीचको सम्बन्धलाई प्रभावकारी रूपमा परिचालन गर्न सके आयोजनाका गतिविधिमा स्थानीय समुदायको संलग्नता बढ्नुका साथै आयोजनाप्रतिको अपनत्व र जवाफदेहिता पनि बलियो बनाउन सकिन्छ।

नेवाको ३४औँ वार्षिक साधारणसभाका अवसरमा प्रस्तुत गरिएको सामाजिक परीक्षण प्रतिवेदनमा प्युठान जिल्लामा न्यूवाहले सञ्चालन गरेका खानेपानी आयोजनाहरूको स्थलगत अवस्थासमेत समेटिएको छ। सामाजिक लेखापरीक्षणका क्रममा स्थलगत भ्रमण, समूहगत छलफल तथा प्रमुख सरोकारवालासँगको अन्तर्वार्तामार्फत आयोजनाको प्रभाव, समुदायको सहभागिता, सुशासन तथा देखिएका चुनौतीहरूको अध्ययन गरिएको थियो।

प्रतिवेदन अनुसार आयोजनाबाट लाभान्वित समुदायले खानेपानी आयोजनाबाट प्राप्त परिणाम प्रति सन्तुष्टि व्यक्त गरेका छन्। आयोजनामा समुदायको स्वैच्छिक सहभागिता देखिएको र त्यसमा महिलाको सहभागिता विशेष रूपमा उल्लेखनीय रहेको सामाजिक लेखापरीक्षणले देखाएको छ।

त्यसैगरी, पारदर्शिता र जवाफदेहिताका अभ्यासले न्यूवाहको कार्यसम्पादनमा सुशासनलाई बलियो बनाउन योगदान पुर्‍याएको प्रतिवेदनमा उल्लेख छ।

तर, खानेपानी आपूर्तिमा कार्यक्रमको मुख्य ध्यान केन्द्रित हुँदा पूर्ण सरसफाइ हासिल गर्न भने अझै चुनौती रहेको सामाजिक लेखापरीक्षणले औँल्याएको छ। आयोजनाको मर्मत सम्भारमा समेत समस्या देखिएको छ। विशेषगरी आर्थिक रूपमा कमजोर परिवारका लागि मर्मतसम्भारको खर्च र प्रक्रिया असहज हुने गरेको प्रतिवेदनमा उल्लेख छ।

सामाजिक परीक्षणले सफल देखिएका स्थानीय सरकार–नेवा–खानेपानी तथा सरसफाइ उपभोक्ता समिति (WSUC) साझेदारीका अभ्यासलाई अन्य क्षेत्रमा समेत विस्तार गर्न सुझाव दिएको छ। साथै, सुशासनका अभ्यासलाई थप सुदृढ गर्दै समुदायको सहभागिता र समावेशितालाई बढाउनुपर्ने तथा जलवायु परिवर्तनका असरलाई सामना गर्न सक्ने जलवायु उत्थानशील WASH सेवा विकासमा जोड दिनुपर्ने प्रतिवेदनमा उल्लेख छ।

२ हजार ८४७ WASH आयोजना

कार्यक्रमको सुरुवात गर्दै नेवाका प्रमुख कार्यकारी अधिकृत डा. महेश्वरप्रसाद यादवले संस्थाको इतिहास तथा खानेपानी, सरसफाइ र स्वच्छता क्षेत्रमा नेवाले पुर्‍याउँदै आएको योगदानबारे जानकारी दिनुभएको थियो।

उहाँका अनुसार सन् २०२६ को जुलाईसम्म नेवाले २ हजार ८४७ वटा WASH आयोजना सम्पन्न गरिसकेको छ। ती आयोजनाबाट ३ लाख ५९ हजार ३१० घरधुरी लाभान्वित भएका छन्। उहाँले न्यूवाहका विभिन्न गतिविधिमा महिलाको सहभागिता उल्लेखनीय रहँदै आएको पनि बताउनुभएको थियो।

युवाको विदेश पलायनले स्वैच्छिक श्रममा चुनौती

खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका प्रतिनिधिहरूले आफ्ना समुदायमा भरपर्दो खानेपानी सेवा पुर्‍याउन नेवाले गरेको सहयोगप्रति धन्यवाद व्यक्त गरेका थिए।

तर, आयोजना कार्यान्वयनका क्रममा समुदायबाट स्वैच्छिक भौतिक श्रम जुटाउन कठिनाइ हुँदै गएको उनीहरूले बताएका थिए। युवाहरूको बसाइँसराइ तथा वैदेशिक रोजगारीका कारण गाउँमा युवा जनशक्ति घट्दै गएकाले समुदायको श्रम योगदान जुटाउन समस्या भएको उनीहरूको भनाइ थियो।

त्यसैले आगामी दिनमा यस्ता आयोजना सञ्चालन गर्दा समुदायले गर्नुपर्ने भौतिक श्रम योगदानको व्यवस्थालाई वर्तमान सामाजिक अवस्थाअनुसार पुनर्विचार गर्नुपर्ने उनीहरूले सुझाव दिएका थिए।

सफलतासँगै असफलताका कथा पनि समेट्न सुझाव

खानेपानी तथा ढल व्यवस्थापन विभागका सिनियर डिभिजनल इन्जिनियर डा. रजित ओझाले नेवाले अपनाउँदै आएको गुणस्तर सुनिश्चितताको अभ्यासको प्रशंसा गर्दै आयोजनालाई दीर्घकालसम्म सञ्चालनमा राख्न प्रणालीलाई थप बलियो बनाउनुपर्ने बताउनुभएको थियो।

उहाँले नेवाका प्रतिवेदनमा सफलताका कथासँगै अपेक्षित परिणाम हासिल गर्न नसकेका वा असफल भएका आयोजनाका अनुभवलाई समेत समेट्न सुझाव दिनुभएको थियो।

WASH क्षेत्रमा गरिएका हस्तक्षेपले पोषण, स्वास्थ्य तथा रोजगारी लगायतका क्षेत्रमा पारेको प्रभावलाई समेत प्रतिवेदनमा समेट्न सके WASH का लागि थप स्रोत परिचालन गर्न सहयोग पुग्ने उहाँको भनाइ थियो।

नेवा र संघीय सरकारबीचको सहकार्यलाई थप बलियो बनाउनुपर्नेमा समेत उहाँले जोड दिनुभएको थियो।

राष्ट्रिय खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ (फेडवासन) का अध्यक्ष राजेन्द्र अर्यालले नेवाले खानेपानी तथा सरसफाइ क्षेत्रमा पुर्‍याएको योगदानको प्रशंसा गर्नुभएको थियो।

उहाँले फेडवासनको जन्म नै नेवाको अस्तित्वका कारण भएको उल्लेख गर्दै नेवाको योगदानको कदरस्वरूप प्रशंसापत्र प्रदान गर्नुभएको थियो।

समापन मन्तव्य राख्दै नेवाका अध्यक्ष मदनकुमार शर्माले सामाजिक परीक्षणको महत्त्वबारे चर्चा गर्नुभएको थियो। उहाँले सामाजिक लेखापरीक्षणमा सहभागी सबै सरोकारवाला, उपभोक्ता समिति तथा सरकारी प्रतिनिधिलाई धन्यवाद दिँदै नेवा आफ्नो उद्देश्य र प्रतिबद्धता अनुसार अघि बढिरहने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो।

सामाजिक लेखापरीक्षण प्रतिवेदन प्रस्तुत तथा साझेदारी कार्यक्रमपछि नेवाको ३४औँ वार्षिक साधारणसभा सम्पन्न भएको थियो।

फोटोहरु : सुमन तामाङ/वास खबर


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार