खानेपानी संस्थाको संस्थागत क्षमता अभिवृद्धि तथा अभिलेखीकरण सम्बन्धी तालिम सम्पन्न

  वास खबर सम्बाददाता  130 पटक हेरिएको
🔗
207
Shares

नवलपरासी : खानेपानी संस्थाहरूको संस्थागत क्षमता अभिवृद्धि गर्दै सेवा प्रवाहलाई थप प्रभावकारी, पारदर्शी र व्यवस्थित बनाउने उद्देश्यले राष्ट्रिय साना सहरी खानेपानी उपभोक्ता महासंघ, नवलपरासी जिल्ला समितिको आयोजनामा क्षमता अभिवृद्धि तथा अभिलेखीकरणसम्बन्धी एकदिने तालिम सम्पन्न भएको छ।

खानेपानी संस्थाहरूको व्यवस्थापकीय तथा प्रशासनिक क्षमता सुदृढ गर्ने, संस्थागत अभिलेखलाई व्यवस्थित बनाउने र संस्थाको दैनिक सञ्चालन प्रक्रियालाई प्रभावकारी बनाउने उद्देश्यले तालिम आयोजना गरिएको जिल्ला अध्यक्ष गुप्ता बहादुर केसीले जानकारी दिनुभयो।

सहभागीहरूलाई शासकीय सुधार, व्यवस्थापकीय पद्धति, प्रशासनिक गतिविधि, खरिद तथा बिक्री प्रक्रिया, चेन अफ कमान्ड, पारदर्शिता तथा अभिलेखीकरण लगायतका विषयमा प्रशिक्षण प्रदान गरिएको थियो।

खानेपानी संस्थाहरूको दिगो सञ्चालनका लागि प्राविधिक पक्षसँगै संस्थागत सुशासन, जवाफदेहिता र व्यवस्थित प्रशासनिक प्रणाली आवश्यक हुने भएकाले तालिममा यी विषयलाई प्राथमिकताका साथ समेटिएको थियो।

तालिमलाई सम्बोधन गर्दै सुनवल नगरपालिकाकी नगर प्रमुख तथा कार्यक्रमकी प्रमुख अतिथि विमला अर्यालले जिल्लाका नागरिकलाई स्वच्छ तथा सुरक्षित खानेपानी उपलब्ध गराउनु सबैको दायित्व भएको बताउनुभयो। “स्वच्छ खानेपानी जनताको मौलिक अधिकार हो। नागरिकलाई स्वच्छ तथा सुरक्षित खानेपानी उपलब्ध गराउन खानेपानी संस्थाहरूले आफ्नो सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन आवश्यक छ,” उहाँले भन्नुभयो।

उहाँले खानेपानी संस्थाहरूलाई व्यवस्थित र जिम्मेवार ढङ्गबाट सञ्चालन गर्दै उपभोक्ताको आवश्यकता र अपेक्षाअनुसार सेवा उपलब्ध गराउनुपर्नेमा जोड दिनुभयो।

त्यस्तै, राष्ट्रिय साना सहरी खानेपानी उपभोक्ता महासंघका केन्द्रीय सदस्य दीपक लम्सालले जिल्लाका सबै खानेपानी संस्थाको क्षमता विकासलाई प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो।“खानेपानी संस्थाहरूलाई संस्थागत रूपमा सक्षम र व्यवस्थित बनाउन क्षमता अभिवृद्धिका कार्यक्रम आवश्यक छन्। संस्थाको व्यवस्थापकीय क्षमता विकाससँगै सेवा प्रवाहमा समेत सुधार ल्याउन सकिन्छ,” उहाँले उल्लेख गर्नुभयो। खानेपानी संस्थाहरूको सञ्चालनमा देखिने प्रशासनिक तथा व्यवस्थापकीय चुनौतीलाई सम्बोधन गर्न यस्ता तालिमले सहयोग पुर्‍याउने उहाँको भनाइ थियो।

कार्यक्रममा जिल्ला खानेपानी तथा सरसफाइ कार्यालयका प्रमुख दिनेशकुमार साह, राष्ट्रिय साना सहरी खानेपानी उपभोक्ता महासंघका केन्द्रीय सदस्य दीपक लम्साल, लुम्बिनी प्रदेश महासंघका कोषाध्यक्ष दिनेशकुमार उपाध्याय, प्रदेश सदस्यहरू विमला पन्थी र मेनुका अधिकारी क्षेत्री लगायतको उपस्थिति रहेको थियो।

त्यसैगरी अधेरीखोला खानेपानी संस्थाका अध्यक्ष राजकुमार श्रेष्ठ लगायत जिल्लाका विभिन्न खानेपानी संस्थाका प्रतिनिधिहरूको कार्यक्रममा सहभागिता रहेको थियो।

महासंघका महासचिव केशवकान्त न्यौपानेको सञ्चालन तथा जिल्ला अध्यक्ष गुप्ता बहादुर केसीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो।

तालिमले खानेपानी संस्थाका पदाधिकारी तथा कर्मचारीहरूको व्यवस्थापकीय, प्रशासनिक र प्राविधिक क्षमता अभिवृद्धि गर्दै संस्थागत सुशासन कायम गर्न तथा उपभोक्तालाई उपलब्ध गराइने खानेपानी सेवाको गुणस्तर र प्रभावकारिता सुधार गर्न सहयोग पुग्ने आयोजकले जनाएको छ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार