
धादिङ : भोटेकोशी–त्रिशूली बाढीका कारण क्षति पुगेको धादिङको सिद्धलेक गाउँपालिका–७ स्थित महाकाली माध्यमिक विद्यालयमा वैकल्पिक व्यवस्था गरी खानेपानी आपूर्ति गरिएको छ।
२०८३ भाद्र १० गते आएको बाढीका कारण विद्यालयको खानेपानी आपूर्ति प्रणालीमा क्षति पुगेपछि करिब ४०० जना विद्यार्थी अध्ययनरत विद्यालयमा खानेपानीको समस्या भएको थियो।
खानेपानीको समस्या समाधान गर्न विद्यालयबाट करिब ३०० मिटर दूरीमा रहेको पानीको मुहानबाट २ एचपी क्षमताको समर्सिबल वाटर पम्प प्रयोग गरी खानेपानी आपूर्तिको वैकल्पिक व्यवस्था गरिएको हो।
खानेपानी तथा ढल व्यवस्थापन कार्यालय, चितवनका प्रमुख शेखर चन्द्र केसीले बाढीका कारण विद्यालयको खानेपानी प्रणालीमा क्षति पुगेपछि तत्कालका लागि वैकल्पिक माध्यमबाट खानेपानीको व्यवस्था गरिएको जानकारी दिनुभयो।

“बाढीका कारण महाकाली माध्यमिक विद्यालयको खानेपानी आपूर्ति प्रणालीमा क्षति पुगेपछि विद्यालयमा अध्ययनरत विद्यार्थीलाई खानेपानीको समस्या नहोस् भनेर तत्कालका लागि वैकल्पिक व्यवस्था गरिएको छ। विद्यालयबाट करिब ३०० मिटर दूरीमा रहेको मुहानबाट २ एचपी क्षमताको समर्सिबल वाटर पम्प प्रयोग गरी खानेपानी आपूर्ति सुरु गरिएको हो,” उहाँले भन्नुभयो।
उहाँका अनुसार बाढीबाट क्षतिग्रस्त खानेपानी प्रणालीको दीर्घकालीन समाधानका लागि आवश्यक पहल भइरहेको छ। खानेपानीको वैकल्पिक व्यवस्थाले विद्यालयमा अध्ययनरत विद्यार्थी तथा शिक्षकलाई खानेपानीको सहज पहुँचमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।


270 पटक हेरिएको 

