
जुम्ला : तातोपानी गाउँपालिका–७ को दुर्गम गाउँ गाडापारीमा वर्षौंदेखिको खानेपानी अभाव हट्ने भएको छ । गाउँमा ‘एक घर, एक धारा’ खानेपानी आयोजना निर्माण सँगै पूर्ण सरसफाइ अभियान समेत सञ्चालन गरिएको छ ।
तातोपानी गाउँपालिका र स्थानीय जलवायु अनुकूलन (एलएसी) परियोजनाको ५३ लाख रुपैयाँ लगानीमा निर्माण भइरहेको आयोजनाबाट गाउँका २७ घरधुरी लाभान्वित हुनेछन् । घर घरमा धारा निर्माण भइसकेको छ भने स्थानीयवासी आफैँ पाइपलाइन विस्तारको काममा जुटेका छन् । मुहानदेखि गाउँको ट्यांकीसम्म १ हजार ६ सय मिटर पाइपलाइन विस्तार गरिएको छ ।
खानेपानीको पहुँच विस्तार भएसँगै गाउँमा पूर्ण सरसफाइका सूचक पूरा गर्ने अभियान पनि अघि बढाइएको एलएसी परियोजनाकी सामाजिक परिचालक रामदेवी चनाराले बताउनुभयो । वर्षौंदेखि खानेपानीको अभाव झेल्दै आएका स्थानीय घरघरमा पानी पुगेपछि उत्साहित हुँदै सरसफाइ अभियानमा जुटेको उहाँले उल्लेख गर्नुभयो ।
अभियान अन्तर्गत घरआँगन तथा परिसरमा पानी छर्कने, शौचालय निर्माण गर्ने, भाँडा राख्ने चाङ बनाउने, कुहिने र नकुहिने फोहोर व्यवस्थापनका लागि छुट्टाछुट्टै खाडल बनाउने तथा सरसफाइ सम्बन्धी आनीबानी सुधार गर्ने विषयमा नियमित छलफल भइरहेको छ । गाउँका सबै घरमा अनिवार्य शौचालय निर्माण गर्न समेत आग्रह गरिएको चनाराले बताउनुभयो ।
गाडापारी खानेपानी योजना निर्माण समितिकी अध्यक्ष जोखी रावतले गाउँमा खानेपानी पुर्याउनुका साथै पूर्ण सरसफाइयुक्त गाउँ घोषणा गर्ने लक्ष्य राखिएको बताउनुभयो । वर्षौंदेखिको खानेपानी समस्या समाधानका लागि परियोजना र गाउँपालिकाले लगानी गरेपछि स्थानीयवासी उत्साहका साथ आयोजना निर्माण तथा सरसफाइ अभियानमा सहभागी भएको उहाँको भनाइ छ ।
योजना निर्माण समितिका सचिव हरिबहादुर रावतले खानेपानीको पहुँच समेत नभएको गाउँमा पूर्ण सरसफाइ अभियान सुरु हुनु महत्वपूर्ण उपलब्धि भएको बताउनुभयो । दशकौँसम्म पानीको अभाव झेलेका स्थानीयका घरमा शौचालयसमेत नभएको र सरसफाइका सामान्य संरचना निर्माण गर्ने अभ्यास पनि नरहेको उहाँले स्मरण गर्नुभयो ।
‘हामीले दशकौँ समय पानीको अभावमा बितायौँ । घरमा शौचालय थिएनन् । चाङ बनाउने र फोहोर व्यवस्थापनका लागि खाडल खन्ने कुरा कल्पनासमेत थिएन । तर, एलएसी परियोजना र गाउँपालिकाले घरघरमा धारा पुर्याएपछि पूर्ण सरसफाइ अभियान सुरु भएको छ । अहिले गाउँ नै अभियानमा होमिएको छ,’ उहाँले भन्नुभयो ।
आयोजना निर्माणलाई गुणस्तरीय र प्रभावकारी बनाउन एलएसी परियोजनाका जलस्रोत प्राविधिक विष्णु आचार्य पनि फिल्डमै खटिनुभएको छ । लागत अनुमान अनुसार पाइपलाइन विस्तार, धारा र ट्यांकी निर्माण लगायतका काम भइरहेको उहाँले बताउनुभयो । निर्धारित लागत र मापदण्ड अनुसार काम नभए गुणस्तरमा समस्या आउनुका साथै आयोजना निर्माणमा ढिलाइ हुन सक्ने भएकाले प्रत्यक्ष निगरानी गरिरहेको उहाँको भनाइ छ ।
खानेपानी आयोजना निर्माणसँगै पूर्ण सरसफाइका सूचक पूरा गर्न सामाजिक परिचालक चनारा र प्राविधिक आचार्यले स्थानीयवासीसँग नियमित छलफल तथा अन्तरक्रिया गर्दै आउनुभएको छ । हालसम्म २७ घरधुरी मध्ये अधिकांशमा शौचालय निर्माण हुन बाँकी छ । स्थानीयवासीले अबको दुई महिनाभित्र सबै घरमा शौचालय, भाँडा राख्ने चाङ र फोहोर व्यवस्थापनका लागि खाडल निर्माण गर्ने प्रतिबद्धता जनाएका छन् । एक साताभित्र घरघरमा पानी छर्कने काम पूरा गर्ने लक्ष्य समेत राखिएको छ ।
स्थानीय लालबहादुर रावतले नियमित छलफल र समन्वय मार्फत शौचालय तथा चाङ निर्माणलाई तीव्रता दिइने बताउनुभयो । भेरीखोला क्षेत्रकै नमुना गाउँ बनाउने उद्देश्यले गाडापारीमा पूर्ण सरसफाइ अभियान सञ्चालन गरिएको उहाँले उल्लेख गर्नुभयो ।
यसै बीच, एलएसी परियोजना र तातोपानी गाउँपालिकाको एक करोड रुपैयाँ लगानीमा खानेपानी आयोजना निर्माण भइरहेको तातोपानी–१ स्थित बाइराँका गाउँमा पनि पूर्ण सरसफाइ अभियान सञ्चालन गरिएको छ ।


59 पटक हेरिएको 

