
हेटौंडा : हेटौंडा खानेपानी व्यवस्थापन बोर्डले दैनिक करिब ३ करोड ७० लाख लिटर खानेपानी वितरण गर्दै आएको छ। बोर्डले हेटौंडा उपमहानगरपालिकाका विभिन्न क्षेत्रमा रहेका ३० हजार १९१ निजी तथा संस्थागत धारा मार्फत उपभोक्तालाई खानेपानी सेवा उपलब्ध गराउँदै आएको हो।
बोर्डले शुक्रबार आयोजना गरेको चालु आर्थिक वर्ष २०८३/०८४ को पहिलो चौमासिक समीक्षा तथा पत्रकार सम्मेलनमा प्रस्तुत विवरण अनुसार हेटौंडा उपमहानगरपालिकाका वडा नम्बर १ देखि १९ सम्मका अधिकांश क्षेत्रमा खानेपानी सेवा विस्तार भएको छ।
वडा नम्बर १२ र १३ बाहेक अन्य वडामा बोर्डको सेवा पुगेको छ। यद्यपि वडा नम्बर १, ३, ११ र १९ का केही भूभाग तथा वडा नम्बर १५, १६, १७ र १८ का करिब ७५ प्रतिशत क्षेत्रमा मात्र सेवा विस्तार भएको बोर्डले जनाएको छ। बोर्डको सेवा क्षेत्रभित्र करिब एक लाख ७० हजार जनसंख्या रहेको छ।
नेपाल खानेपानी संस्थानको हेटौंडा शाखाको सम्पत्ति तथा दायित्व २०७० जेठ ८ गते बोर्डमा हस्तान्तरण भएपछि बोर्डले खानेपानी उत्पादन, प्रशोधन, भण्डारण, वितरण तथा मर्मतसम्भारको जिम्मेवारी सम्हाल्दै आएको छ।
बोर्डका अनुसार हाल एक सतही मुहान, ४० वटा भूमिगत डिप ट्युबवेल र १८ वटा समवेल मार्फत खानेपानी उत्पादन भइरहेको छ। ५ हजार ५०२ घनमिटर क्षमताका भण्डारण संरचना सञ्चालनमा छन् भने मुख्य तथा शाखा पाइपलाइनको कुल लम्बाइ ८१४ किलोमिटर पुगेको छ।
पहिलो चौमासिकमा खानेपानी पूर्वाधार विस्तार तथा सुधारका कामलाई पनि निरन्तरता दिइएको छ। यस अवधिमा विभिन्न स्थानमा करिब १० किलोमिटर पाइपलाइन सुधार तथा विस्तार गरिएको छ।
सडक विस्तारका क्रममा प्रभावित क्षेत्रमा करिब ८ किलोमिटर पाइपलाइन विस्तार गरिएको छ भने सामाजिक उत्तरदायित्व अन्तर्गत सार्वजनिक स्थलमा करिब ६ किलोमिटर पाइप उपलब्ध गराइएको बोर्डले जनाएको छ। यसैगरी, आधुनिक पानी परीक्षण प्रयोगशाला मार्फत ३०० वटा पानीका नमुना परीक्षण गरिएको छ।

२५ करोड ९५ लाखको बजेट, पहिलो चौमासिकमा २७ प्रतिशत आम्दानी
बोर्डले चालु आर्थिक वर्षका लागि २५ करोड ९५ लाख ८० हजार रुपैयाँको अनुमानित आयव्यय बजेट स्वीकृत गरेको छ। पहिलो चौमासिकसम्म ७ करोड ६ लाख ६ हजार रुपैयाँ आम्दानी भएको छ। यो वार्षिक अनुमानित आम्दानीको २७.२० प्रतिशत हो। उक्त आम्दानीमा अघिल्लो आर्थिक वर्षको राजस्व मौज्दात समेत समावेश छ।

चालु आर्थिक वर्षको आन्तरिक आम्दानीतर्फ ५ करोड २६ लाख ३३ हजार रुपैयाँ संकलन भएको छ। जसमध्ये पानी महसुलबाट मात्रै ४ करोड ७९ लाख ८५ हजार रुपैयाँ प्राप्त भएको बोर्डले जनाएको छ।
यस अवधिमा बोर्डको कुल खर्च ४ करोड ७५ लाख ९९ हजार रुपैयाँ रहेको छ। यो वार्षिक विनियोजित बजेटको १८.३४ प्रतिशत हो।
पुँजीगत खर्चतर्फ अपेक्षित प्रगति हुन नसकेपछि बोर्डले आगामी चौमासिकमा पाइपलाइन विस्तार, पुराना संरचनाको सुधार, पानी उत्पादन तथा वितरण प्रणालीको सुदृढीकरण र सहलगानीका आयोजना कार्यान्वयनलाई प्राथमिकता दिने योजना बनाएको छ।
सडक विस्तार र पूर्वाधार निर्माणले पाइपलाइन व्यवस्थापनमा चुनौती
खानेपानी व्यवस्थापनका क्रममा सडक विस्तार, कालोपत्रे, ढल तथा नाला निर्माणका काम प्रमुख चुनौतीका रूपमा देखिएका छन्। विभिन्न सरकारी निकाय तथा विकास आयोजना कार्यान्वयन गर्ने संस्थाबीच पर्याप्त समन्वय नहुँदा एउटै सडक पटकपटक खन्नुपर्ने, पुराना पाइपलाइनमा क्षति पुग्ने र मर्मतसम्भारमा थप आर्थिक भार व्यहोर्नुपर्ने अवस्था रहेको बोर्डले जनाएको छ।

विकास निर्माणका काम सुरु गर्नुअघि खानेपानी पाइपलाइनको अवस्थाबारे प्राविधिक मूल्यांकन नहुनु, क्षतिग्रस्त संरचनाको मर्मत खर्च कसले व्यहोर्ने भन्ने स्पष्ट व्यवस्था नहुनु तथा खानेपानीका स्रोत संरक्षण र वैकल्पिक स्रोत व्यवस्थापनमा देखिएका कठिनाइ पनि बोर्डका समस्याका रूपमा औँल्याइएको छ। यसका अतिरिक्त विद्युत् तथा सञ्चालन खर्च बढ्दै जानुले पनि व्यवस्थापनमा चुनौती थपेको छ।
बोर्डले यी समस्या समाधानका लागि संघ, प्रदेश र स्थानीय सरकार तथा विकास आयोजना कार्यान्वयन गर्ने निकायबीच प्रभावकारी समन्वय आवश्यक रहेको जनाएको छ।
सडक निर्माणअघि खानेपानी पूर्वाधारको अवस्था मूल्यांकन गर्ने, निर्माणका क्रममा क्षति पुगेमा सम्बन्धित निर्माण पक्षबाटै मर्मत खर्च व्यहोर्ने व्यवस्था मिलाउने र दीर्घकालीन खानेपानी गुरुयोजना कार्यान्वयन गर्ने लक्ष्य अघि सारिएको छ।
३८ करोड ९१ लाखको सहलगानी आयोजना अघि बढ्दै
हेटौंडामा खानेपानी सेवा विस्तार तथा दिगो व्यवस्थापनका लागि संघीय सरकार र बोर्डको सहलगानीमा विभिन्न आयोजना सञ्चालन भइरहेका छन्।
सिमलटार, हटिया र रातोमाटे खानेपानी तथा सरसफाइ आयोजनाको पहिलो चरण अन्तर्गत करिब २० करोड रुपैयाँ लागतमा निर्माण भइरहेको कामको भौतिक प्रगति ८० प्रतिशत पुगेको बोर्डले जनाएको छ।
यसैगरी, दोस्रो चरण अन्तर्गत ३८ करोड ९१ लाख २७ हजार रुपैयाँ लागतको आयोजना अघि बढाइएको छ। उक्त आयोजना मार्फत हेटौंडाका विभिन्न वडामा समवेल, डिप ट्युबवेल, पानी भण्डारण ट्यांकी, प्रशोधन केन्द्र तथा पाइपलाइन विस्तारका साथै कार्यालय भवन निर्माण गरिनेछ।
बोर्डका अध्यक्ष प्रताप विष्टले दिगो खानेपानी व्यवस्थापनका लागि स्रोत संरक्षण, सुरक्षित पूर्वाधार निर्माण, आर्थिक आत्मनिर्भरता र संस्थागत सुशासनलाई प्राथमिकतामा राखिएको बताउनुभयो।
बढ्दो सहरीकरणसँगै खानेपानीको माग पनि बढ्दै गएकाले उत्पादन क्षमता र वितरण प्रणाली विस्तार गर्नुपर्ने आवश्यकता रहेको उहाँले उल्लेख गर्नुभयो।

कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका प्रमुख मीनाकुमारी लामा प्रमुख अतिथि तथा उपप्रमुख राजेश बानियाँ विशिष्ट अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो। विभिन्न वडाका अध्यक्ष, जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, उद्योग वाणिज्य संघ, पत्रकार महासंघ तथा सञ्चारकर्मीको पनि सहभागिता थियो।
बोर्डले आगामी दिनमा खानेपानीका नयाँ स्रोत पहिचान तथा संरक्षण, पुराना पाइपलाइन प्रतिस्थापन, चुहावट नियन्त्रण, पानीको गुणस्तर परीक्षण, सेवा क्षेत्र विस्तार र उपभोक्तामैत्री सेवा प्रवाहलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता जनाएको छ।


52 पटक हेरिएको 

