एसईई दिने छात्राका लागि प्याड किन्न ४० हजार रुपैयाँ

स्याङ्जा : गण्डकी प्रदेश सरकारले एसईई दिने स्याङ्जाका छात्रालाई स्यानिटरी प्याड किन्नका लागि ४० हजार रुपैयाँ वितरण गरेको छ । गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयले विनियोजन गरेको रकमको चेक मन्त्रालयका बालअधिकार स्रोत व्यक्ति मिठु आचार्यले जिल्ला समन्वय समिति प्रमुख सीता सुन्दासलाई हन्तान्तरण गर्नुभयो ।

परीक्षा दिने बेलामा महिनावारी भएमा समस्या झेल्न नपरोस् भनेर स्यानिटरी प्याड किन्न दिएको चेक जिल्ला शिक्षा समितिका अध्यक्ष समेत रहेकी सुन्दासले पुनः शिक्षा विकास तथा समन्वय इकाई प्रमुख घनश्याम पौडेललाई नै प्रदान गर्नुभयो ।

गण्डकी प्रदेश अन्तर्गतका मनाङ र मुस्ताङ जिल्ला बाहेक सबै जिल्लामा स्यानिटरी प्याड वितरण गर्ने कार्यक्रम सञ्चालन गरिने भएको छ । मनाङ र मुस्ताङ जिल्लामा निकै कम छात्रा परीक्षामा सहभागी हुने भएकाले त्यहाँका विद्यालयले नै प्याडको व्यवस्था गरिदिने भएको छ ।

यही चैत्र १० गतेबाट देशभर सञ्चालन हुने एसईई परीक्षामा यसवर्ष स्याङजाबाट ५ हजार ९ सय ३९ विद्यार्थी सहभागी हुँदैछन् । ती मध्ये ३ हजार २ सय ७ जना छात्रा छन् । सहभागी छात्रा मध्ये १५ प्रतिशत छात्रालाई महिनावारी हुने अनुमान गर्दै प्रदेश मन्त्रालयले सोही बमोजिमको रकम व्यवस्थापन गरेको स्रोत व्यक्ति आचार्यले जानकारी दिनुभयो ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार