सिन्धुली : खोला फोहोर छ । तर जनसंख्या र बसोबास बढ्दै गएपछि यो अझै धेरै नै फोहोर हुन सक्छ, सदरमुकाममा रहेको ग्वाङखोला किनारमा फालिएका फोहोर टिप्दै अस्ट्रेलियन नागरिक न्युटनले सफाइ अभियान, जागरण, पुनःप्रयोग र प्रशोधनको काममा ढिलाइ गर्न नहुने सुझाइन् । यो खबर कान्तिपुर दैनिकले छापेको छ ।
उनी १ वर्षका लागि कमलामाई नगरपालिकामा वातावरण तथा सफाइको क्षेत्रमा सहयोग गर्न स्वयंसेवक भई काम गर्न आएकी हुन् । ग्वाङखोला फोहोर भएर सदरमुकाम दुर्गन्धित हुने भएकाले कमलामाई नगरपालिकाले संघ–संस्था, नागरिक, प्रशासनिक क्षेत्र, सुरक्षा निकाय सहित खोला सफाइ अभियानमा सरिक भएकी न्युटनले सफा राख्नु नागरिकको दायित्व समेत हुने बताइन् ।
ग्वाङखोलामा फोहोर बढ्दै गएर पानी दूषित भएको छ । सफाइ अभियान वडा ४ को ढुंग्रेवास सिरानबाट सुरु भई बसपार्कसम्म पुगेको छ । नगरपालिकाले व्यवस्था गरेको पन्जा, मास्क र जुत्ता लगाएर स्थानीय बासिन्दा पनि सफाइमा जुटेका थिए ।
तीनैमध्ये सफाइमा अर्की विदेशी साकुरा सावाकी पनि जुटेकी छन् । उनी जापानबाट आएकी हुन् । नगरपालिकामै सामाजिक विकास अधिकृतमा काम गर्न आएकी उनले खोलामा हुने र सहरबाट निस्कने फोहोर पुनः प्रयोग र रिसाइक्लिङ हुने खालका भएकाले भविष्यमा आम्दानीको स्रोत हुने बताइन् । ‘यो फोहोर नगरपालिकाको आम्दानीको स्रोत बन्न सक्छ,’ उनले भनिन्, ‘तर यसलाई प्रविधिसँग जोड्नुपर्छ ।’
ग्वाङखोला सफाइका लागि सबै जुटेको सहआयोजकमध्ये सामुदायिक सेवा केन्द्रका अध्यक्ष रामबहादुर हायूले बताए । उनले भने, ‘ग्वाङखोला प्रदूषण भएर सदरमुकाम नै दुर्गन्धित भएको छ ।’ प्लास्टिकजन्य सामग्री फाल्ने, शौचालयको प्रयोग, ढल निकासी लगायतले खोला फोहोर भएको कमलामाई नगरपालिकाको निष्कर्ष छ । सफाइ सँगसँगै जनचेतना फैलाउनु अभियानको मुख्य उद्देश्य रहेको वडा ६ का अध्यक्ष उज्वल थापाले बताए ।
‘बाहिरबाट आएर फोहोर हुँदैन, यहींका स्थानीयले नै गर्ने हुन्, जागरण गराएर खोलामा फोहोर नफाल्ने र ढल निकासी बन्द गर्नेबित्तिक्कै सफा हुन सुरु भइहाल्छ,’ कमलामाई नगरपालिकाका वरिष्ठ सामाजिक विकास अधिकृत सागरकुमार ढकालले भने, ‘स्थानीयमा जागरण पैदा गराउन जरुरी छ ।’
सातामा एकपटक सरसफाइ अभियान राखेर केही महिना मै ग्वाङखोलालाई नुहाउन योग्य बनाइने अभियानको लक्ष्य छ । मुख्य गरी बजार क्षेत्र नजिक खोला फोहोर भएकाले जनचेतनासँगै कारबाहीको व्यवस्था गर्नुपर्ने सफाइमै संलग्न सिन्धुली उद्योग वाणिज्य संघका अध्यक्ष अमरेशचन्द्र बैदारको तर्क छ । खोलामा फोहोर फाल्ने र ढल निकासी गर्नेलाई कारबाही गर्न सुरु हुनुपर्ने उनले बताए ।
बसपार्क क्षेत्रबाट बढी फोहोर उत्पादन हुने भएकाले त्यहाँ नगरपालिकाले कर्मचारी खटाउनुपर्ने रेडक्रस सभापति अशोक श्रेष्ठ बताउँछन् । ‘फोहोरको मुहान पत्ता लगाउनुपर्छ, स्थानीयले त जनचेतना जगाएपछि स्वत सफा राख्नुपर्छ भन्नेमा जान्छन्, फोहोर राख्न डस्टबिनको समेत कमी छ,’ उनले भने ।
कारागार नजिकसम्मको करिब ४ किमि क्षेत्रमा फोहोर फाले सामाजिक बहिस्कार र दण्डजरिवानाको व्यवस्था हुनुपर्ने स्थानीय माधव देवकोटाले जिकिर गरे । सार्वजनिक शौचालय अभावमा खोलामै शौच गर्न जाने भएकाले त्यतातर्फ समेत नगरपालिकाको ध्यान जान जरुरी भएको उनको भनाइ छ ।