
नवराज रिजाल, नगर शिक्षा अधिकृत (चन्द्रागिरी नगरपालिका)
केही समय अघि काठमाडौंको चन्द्रगिरी नगरपालिका भित्रका २० वटा विद्यालयमा बालबालिका केन्द्रित जोखिम मापन तथा योजना तर्जुमा भयो । विपद जोखिम पहिचान गरी विभिन्न विधिहरुको अवलम्बनद्वारा त्यसको न्यूनीकरण गर्ने उद्देश्यले बालबालिका केन्द्रित जोखिम मापन तथा योजना तर्जुमा गरिएको थियो । जोखिम मापन तथा योजना तर्जुमाले विद्यालयमा अध्ययनरत बालबालिका तथा अन्य समुदायको जीवन सुरक्षित गर्न र विपदबाट जोगाउन मद्दत पु-याउँछ ।
बालबालिका केन्द्रित जोखिम मापन तथा योजना तर्जुमाका विभिन्न चरणमा चन्द्रागिरी नगरपालिकाका नगर शिक्षा अधिकृत नवराज रिजाल पनि सामेल हुनुभएको थियो । जोखिम मापन तथा योजना तर्जुमाले विद्यार्थीहरुको विश्लेषणात्मक क्षमता अभिबृद्धि भएको र बालबालिकाले संवाहकको रुपमा काम गर्दा घरपरिवार र समाजका सदस्यहरुले खानेपानीजन्य रोगबाट आक्रान्त हुनु नपरेको नगर शिक्षा अधिकृत रिजालको ठम्याई छ ।
नगर शिक्षा अधिकृत रिजालको अनुभव :
बालबालिका केन्द्रित जोखिम मापन तथा योजना तर्जुमाका लागि नमुना छनौट गरिएका २० वटा विद्यालय मध्ये केही विद्यालयहरुमा म पनि गएको थिएँ । विभिन्न समूहका विभाजित भएर समुदायमा गरिएको अध्ययन अनुसन्धानको आधारमा विद्यार्थीहरु आफैले प्रस्तुतीकरण गरेका थिए । उनीहरुले आ-आफ्नो क्षेत्रको अध्ययन गरेर पानी प्रदुषित हुनुका कारणहरु, पानीलाई कसरी शुद्ध बनाउन सकिने विधिहरुका बारेमा पनि प्रस्तुतीकरण गरिएको थियो ।
हामीले कक्षा आठका बालबालिकाहरुलाई अध्ययन स्थलमा खटाएका थियौं । त्यहाँ उनीहरु आफै खटेर पानीको नमुना संकलन देखि लिएर समुदायका मानिसहरुसँग प्रश्नोत्तर, प्राप्त तथ्यांकका आधारमा विश्लेषण समेत गरिएको थियो । उनीहरुले कस्तो पानी पिउन योग्य, कस्तो पानी पिउन अयोग्य भन्ने कुराहरु पनि छुटाएर नै विभिन्न चरणमा प्रस्तुतीकरण गरेका थिए ।
उनीहरुको प्रस्तुतीबाट समाजमा के कस्ता जोखिमहरु रहेछन् ? के कस्ता खतराहरु रहेछन् ? अनि यसको न्यूनीकरणका लागि के गर्न सकिन्छ भन्ने बारेमा हामीले त थाहा पायौं । अझ विद्यार्थी भाइबहिनीहरु समुदायको पनि प्रवाहक भएकाले उनीहरुले सिकेका कुरा समुदाय, घरपरिवारका सदस्य र उनीहरुकै लागि अति उपयोगी भयो भन्ने मेरो ठम्याई छ ।
किनकि उनीहरुले आफूले गरेका अध्ययनका बिषयमा परिवार, छरछिमेक, साथीभाइ, आफूभन्दा जुनियर भाइबहिनीहरुलाई त भने नै । यसबाट केही न केही कुरा समाजमा सञ्चारित भएका छन् । यसले समुदायमा केही न केही उपयोगी ज्ञान प्रवाह भएको छ । जस्तैः पानी कसरी प्रशोधित गराउन सकिन्छ ? दुषित कसरी हुन्छ ? भन्ने कुरा थाहा पाइसकेपछि त्यसलाई निराकरण गर्नका लागि अपनाउन सकिने उपायका बिषयमा पनि भनेकै हुन्छ । यसले उनीहरुलाई सचेत तुल्याएकै हुनुपर्छ ।
दोस्रो कुरा खानेपानी प्रदुषित हुँदा लाग्ने खानेपानीजन्य रोगहरुका बिषयमा मानिसहरु जानकार भएका छन् । किनकि बालबालिकाहरुले समुदायमा गएर अध्ययन गर्दा समुदायका मानिसहरुलाई भेटेर धेरै प्रश्नोत्तर गरेका छन् । कतिपय कुरा उनीहरुले फिल्डमै पनि भनेका छन् । यसबाट खानेपानीबाट लाग्ने रोगहरुका बारेमा थाहा पाई आगामी दिनमा यस्ता कुराहरुबाट सतर्क रहन सक्छन् । अर्थात खानेपानी प्रदुषित हुन सक्ने अवस्था प्रति उनीहरु सचेत बन्छन् । यसले समुदायको स्वास्थ्यमा पनि बालबालिकाले केही न केही योगदान पु¥याए भन्ने लाग्छ ।

तेस्रो कुरा, बालबालिकाहरुले जोखिम मापन मात्र गरेका छैनन्, योजना तर्जुमा पनि गरेका छन् । योजना तर्जुमा गर्दा ती जोखिम कसरी न्यूनीकरण गर्न सकिन्छ भन्ने कुरालाई केन्द्रबिन्दुमा राखेर बनाएका छन् । विद्यार्थीले योजना तर्जुमा गर्दा विद्यालयका प्रिन्सिपल र फोकल शिक्षकको समेत सहभागिता भएकाले यसलाई नगर योजनामा समावेश गर्नुपर्ने उनीहरुको पनि दायित्व हुन आउँछ । हामीले त्यसबेला पनि जनप्रतिनिधीहरु र नगरपालिकामा पनि छलफल गरेका थियौं ।
मलाई यस्ता कार्यक्रमहरु अन्य विद्यालयहरुमा पनि लैजाने र पाठ्यपुस्तकमा पनि ती पाठहरुलाई समेत प्रोजेक्ट वर्कका रुपमा राखेर सञ्चालन गराउन पाए यसबाट समुदाय, विद्यार्थी, शिक्षक सबै लाभान्वित हुन सक्छन् ।
नगरपालिकाको स्रोत, सहयोगी संस्थाको साधन तथा प्रविधिको प्रयोग गरी विद्यार्थी भाईबहिनीहरुलाई परिचालन गर्न सके नगरपालिकाका बासिन्दाहरुले प्रदुषित खानेपानीका कारण रोगी भएर बाँच्नु पर्ने छैन । स्वस्थ समाजको परिकल्पना हामीले साकार पार्न सक्छौं ।


1106 पटक हेरिएको 

