अनुकुल मौसम र लोडसेडिङ अन्त्यले काठमाडौमा खानेपानी आपूर्ति बढ्यो

दिक्पाल गिरी, काठमाडौ ६ जेठ । यसबर्षको मौसमी अवस्था र लोडसेडिङ अन्त्यले काठमाडौं उपत्यकामा दैनिक एक करोड लिटर खानेपानी थपिएको छ । यस बर्ष फागुन, चैत्र र वैशाखमा समेत हप्ता दिन विराएर पानी परेपछि खानेपानी आपूर्तिमा सहज भएको काठमाडौ उपत्यका खानेपानी लिमिटेडका प्रशासन महाशाखा प्रमुख एवं प्रवक्ता सुरेश प्रसाद आचार्यले बताउनुभयो ।

पानी परिरहनु र चौबीसै घण्टा विद्युत आपूर्ति हुनुले ट्युववेल मार्फत दैनिक एक करोड लिटर पानी थप भएको उहाँले बताउनुभयो । यो खानेपानी थपिएपछि काठमाडौ उपत्यकामा गत वर्षको जस्तो खानेपानीको चरम हाहाकार नभएको लिमिटेडका प्रशासन महाशाखा प्रमुख आचार्यले बताउनुभयो ।

‘विद्युत आपूर्तिसँगै यसबर्ष बेला बेलामा पानी परिरहेका छ, त्यसैले भूमिगत पानी बोरिङ गर्न सजिलो भएको छ, यसले दैनिक १ करोड लिटर पानी थप भएको छ’ प्रवक्ता आचार्यले भन्नुभयो ।


खानेपानी थपिए पनि जनसंख्या बृृद्धिका कारण माग बढेकाले पानीको अभाव भने नहटेको उहाँले बताउनुभयो । गत वर्षको बैैशाखमा दैनिक नौ करोड लिटर पानीको उत्पादन हुने गरेकोमा यो बर्ष १० करोड लिटर पानी उत्पादन भइरहेको छ ।

काठमाडौमा दैनिक माग हुने ३७ करोड लिटर खानेपानी मध्ये काठमाडौ उपत्यका खानेपानी लिमिटेडले १० करोड लिटर मात्र आपूर्ति गरिरहेको छ । त्यसमा पनि ४० प्रतिशत चुहावट हुँदा ६ करोड लिटर पानी मात्रै उपभोक्ता सम्म पुग्ने गरेको छ ।

सुख्खा याममा सतही र जमिनमुनि दुवै स्रोतमा पानी कम हुने भएकाले खानेपानी अभाव भएको केयूकेएलले जनाएको छ । काठमाडौ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) ले उत्पादन गरिरहेको पानीले अहिले एक चौथाई पानीको माग मात्र धानिरहेको छ ।

काठमाडौ उपत्यकामा मातातीर्थ, स्वयम्भू, जोरपाटी, सानेपाको बागमती नदी, भक्तपुर झौखेल, सातदोबाटो, गोदावरी, बालाजु लगायतका ठाउँमा आधुनिक मेसिन राखेर जमिन मुनिबाट पानी तानिदै आएको छ ।

काठमाडौ उपत्यकामा ६० स्थानमा ट्युबवेलबाट पानी उत्पादन हुने गरेको छ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार