मर्यादित महिनावारी नीति चाँडो पारित हुनुपर्छ : संयोजक श्रेष्ठ

 

काठमाडौ : राष्ट्रिय महिनावारी सञ्जालका संयोजक गुणराज श्रेष्ठले मर्यादित महिनावारी नीति चाँडो पारित गर्नुपर्ने बताउनुभएको छ । छैटौं विश्व महिनावारी स्वच्छता दिवसको अवसरमा महिनावारी स्वच्छता दिवसको औचित्वबारे बताउँदै संयोजक श्रेष्ठले लामो समयदेखि विचाराधीन महिनावारी नीति पारित गर्न ढिलाई गर्न नहुने बताउनुभयो ।

राष्ट्रिय महिनावारी सञ्जालमा ६० भन्दा बढी संघसंस्था आवद्ध रहेको र नीति पारित भएमा ती संस्थालाई समेत महिनावारी स्वच्छताको क्षेत्रमा काम गर्न सहज वातावरण सिर्जना हुने उहाँको धारणा थियो ।

आमालाई महिनावारी भएको थियो र हामी यसरी बाँच्न पाएका छौं त्यसैले यो लज्जा वा सरमको बिषय नभई मर्यादित र सम्मानित बिषय हो ।

उहाँले यस बिषयमा मर्यादित महिनावारी स्वच्छता दिवसको प्रमुख अतिथि समेत रहेका खानेपानी मन्त्री बिना मगरको पटक पटक ध्यानाकर्षण गराउनुभयो । दिवसमा सहभागी सँगै बसेर प्रस्तुतीकरण हेरिरहनुभएका मन्त्री तर्फ नजर डुलाउँदै उहाँले भन्नुभयो ‘म मन्त्री ज्यूको ध्यानाकर्षण गराउन चाहन्छु, लामो समयदेखि छलफलमा रहेको महिनावारी नीति चाँडै पारित होस्, यसले यसक्षेत्रमा कार्यरत संघसंस्थालाई थप कार्य गर्न मार्ग प्रशस्त गर्नेछ ।’

उहाँले महिनावारी सम्बन्धी छुवाछुतजन्य व्यवहार विकसित देशमा कहीं कतै नरहेको र गरिब तथा अति कम विकसित राष्ट्रमा मात्र यस सम्बन्धी गलत धारणा रहेको बताउनुभयो । ‘महिनावारी नभएको भए सृष्टि सम्भव छैन । सोचौं त हाम्रो अस्तित्व हुनुमा आमालाई महिनावारी भएको थियो र हामी यसरी बाँच्न पाएका छौं त्यसैले यो लज्जा वा सरमको बिषय नभई मर्यादित र सम्मानित बिषय हो ।’ संयोजक श्रेष्ठले भन्नुभयो ।

महिनावारी सम्बन्धी गलत धारणा हटाउन सरकारी तथा गैरसरकारी संघसंस्थाको तर्फबाट भएका प्रयासहरुको फलस्वरुप केही हदसम्म महिनावारी प्राकृतिक प्रक्रिया हो भन्ने धारणा बसाउन सकेको उहाँको भनाई थियो । गत बर्षको महिनावारी स्वच्छता दिवसको अवसरमा चार मन्त्रालयका मन्त्रीहरुले गरेको प्रतिबद्धता प्रस्तुतीकरण गर्दै उहाँले यसको कार्यान्वयनको अवस्थाका बिषयमा समेत खानेपानी मन्त्री मगरको ध्यानाकर्षण गराउनुभयो ।

सोही प्रतिबद्धताका केही बुँदाहरु कार्यान्वयनमा आउन थालेको उल्लेख गर्दै उहाँले सबै सामुदायिक विद्यालयमा स्यानिटरी प्याड निशुल्क प्रदान गर्ने सरकारको नीति तथा कार्यक्रममा समेटिएकोमा खुसी व्यक्त गर्नुभयो ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार