
काठमाडौ : पूर्ण सरसफाइ अभियान अन्तर्गत कुनै पनि क्षेत्रलाई सफा र स्वच्छ क्षेत्र घोषणा गरी सकेपछि पूर्ण सरसफाइ उन्मुख क्षेत्रमा प्रवेश हुन्छ । सफा र स्वच्छ क्षेत्र घोषणा गर्नु अघि सञ्चालन गरिएका क्रियाकलापहरु जस्तै पूर्ण सरसफाइ उन्मुख क्षेत्रका लागि पनि थप क्रियाकलापहरु सञ्चालन गर्नुपर्दछ । जो निरन्तर रुपमा गरिरहन आवश्यक छ ।
पूर्ण सरसफाइ उन्मुख क्रियाकलापहरु :
१. सफा र स्वच्छ क्षेत्र चरणमा संचालित योजना, कार्यक्रम, क्रियाकलापहरुको पुनरावलोकन गरिने छ । र आवश्यकता अनुसार सुधारका कार्यक्रमहरु सन्चालन गर्नु पर्छ ।
२. घर, संस्था , शौचालयबाट ढल प्रणाली वा कुनै माध्यम मार्फत निश्चित स्थानमा सुरक्षित तरिकाले दिसाजन्य लेदोको (Faecal Sludge) निस्कासन तथा संकलन गर्नुपर्दछ । यसरी संकलित दिसाजन्य लेदो तथा फोहोरपानीलाई उपयुक्त प्रविधि मार्फत प्रशोधन गरी त्यहाँबाट निस्केको बस्तुहरु (Products) लाई घरायसी सरसफाइ, कृषि वा अन्य क्षेत्रमा पुनःप्रयोग गर्नुपर्छ । निजी क्षेत्रसँग सहकार्य गरी यस्तो कार्यलाई अझ प्रभावकारी बनाउनुपर्दछ ।
३. घर, संस्था, कार्यालयमा प्रयोग तथा पुर्नप्रयोग हुन नसकेको ठोस फोहोरमैलालाई स्रोतबाट सिधै संकलन गरी स्यानिटरी ल्याण्डफिल्डमा सुरक्षित रुपमा स्थानान्तरण, प्रशोधन एवं विसर्जनको व्यवस्था गर्नुपर्दछ ।
४. स्थानीय निकाय र सरोकारवालाहरुको समन्वयमा वर्षातको पानी संकलन गरी प्रयोग गर्न प्रोत्साहन गर्नुपर्दछ । साथै प्रयोगमा नआएको आकासेपानी जमिनमा पुनर्भरण गर्नुपर्दछ ।
५. नगरोन्मुख तथा नगर क्षेत्रमा फोहोर तथा सतही ढलको व्यवस्था गर्नुपर्दछ ।
६. नदीनालाको सरसफाइ, पार्क निर्माण तथा हरियाली प्रवद्र्धनमा जोड दिनुपर्दछ ।
७. सरोकारवालाहरुसँगको समन्वयमा अस्पताल एवं औद्योगिक तथा कलकारखानाबाट उत्पादित जोखिमयूक्त फोहोरमैलाको सुरक्षित बिसर्जन गर्नुपर्दछ ।
८. सरोकारवालाहरुको समन्वयमा प्रयोगकर्ता–मैत्री उच्च गुणस्तरका खानेपानी, सरसफाइ र स्वच्छताका सुविधाहरु प्रवद्र्धन र विकास गरी पूर्ण सरसफाइ उन्मुख क्षेत्र निर्माणमा केन्द्रित रहन सामुदाय परिचालनका क्रियाकलापहरु संचालन गर्नुपर्दछ ।
पूर्ण सरसफाइ उन्मुख चरणका सूचकहरुका बिषयमा आगामी अंकमा प्रकाशन गर्नेछौं ।
पूर्ण सरसफाइ मार्गदर्शन २०७३ बाट


1139 पटक हेरिएको 

