मोरङ : विराटनगर–७, बुद्धमिलन चोकस्थित ओम जेके पानी उद्योगका तीन सञ्चालकलाई जिल्ला अदालत मोरङले शुक्रबार जनही २ लाख रुपैयाँ धरौटी लिएर छाडेको छ । थुनछेक बहस लगतै न्यायाधीश सूर्यप्रसाद अधिकारीको इजलासले दिएको आदेश अनुरूप दिसामा पाइने जीवाणु ‘कोलिफर्म’ मिसिएको पानी बेच्ने उद्योगका सञ्चालकहरू सुनसरी कोशी गाउँपालिका–१ का २९ वर्षीय जितेन्द्र यादव, महोत्तरीका २९ वर्षीय कैशलेन्द्र कुमार कर्ण र सप्तरी कंकालिनी नगरपालिका–१ का २७ वर्षीय ओमप्रकाश राउतलाई धरौटीमा छाडिएको हो ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले खाद्य ऐन २०२३ अन्तर्गत ‘गुणस्तरहीन प्रशोधित पिउँने पानी उत्पादन तथा बिक्री–वितरण’ मा मुद्दा दर्ता गरेको थियो ।
उक्त कार्यालयले कानुनी प्रावधान अनुरूप ५० हजार जरिवाना, ५ वर्षसम्म कैद वा दुवै सजायको माग दाबी गरेको छ । उक्त उद्योगले ‘एच टू’ नामबाट जार र बोतलको पानी बेच्दै आएको छ । उनीहरूलाई प्रतिवादी बनाएर हाजिर जमानीमा राखिएको थियो ।
उक्त कार्यालयले १७ भदौमा उक्त पानी उद्योगको आकस्मिक अनुगमन गर्दा शौचालयको सेफ्टी ट्यांकी नजिक उत्पादनमा प्रयोग हुने बोरिङ मेसिन राखिएको फेला परेको थियो । अनुगमन टोलीले तत्कालै उद्योगको पानीको उत्पादन एवं बिक्री–वितरणमा रोक लगाएर नमुना संकलन गरेको थियो । २२ भदौमा आएको प्रयोगशाला प्रतिवेदनले उक्त उद्योगको पानीमा दिसामा पाइने जिवाणु ‘कोलिफर्म’ देखिएको प्रमाणित भयो।
झन्डै एक महिना लगाएर उद्योग सञ्चालकहरूको बयान र अनुसन्धान प्रक्रिया पूरा गरेपछि उक्त कार्यालयले सरकारी वकिलको कार्यालय मार्फत अदालतमा बिहीबार मुद्दा दर्ता गरेको थियो । दुई दिनमै बयान र थुनछेक बहस सकेर अदालतले धरौटीमा रिहा गर्ने आदेश दिएको हो ।


1327 पटक हेरिएको 

