
विनोद शर्मा, सिन्धुपाल्चोक : लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको क्रममा नेपालमा पहिलो पटक मर्यादित महिनावारी दिवस मनाउन लागिएको छ । ‘लैंगिकतामा आधारित हिंसा न्यूनीकरण र मानवअधिकार सुनिश्चितताका लागि मर्यादित महिनावारी’ भन्ने नाराका साथडिसेम्बर ८ अर्थात मंसिर २२ गते मर्यादित महिनावारी दिवस मनाउन लागिएका हो ।
मर्यादित महिनावारीलाई मानवअधिकारको रुपमा स्थापित गर्न, महिनावारीका बारेका रुढीबादी अन्धविश्वासहरु हटाउने उद्धेश्यले राधा पौडेल फाउण्डेशनको अगुवाईमा दिवस मनाउन लागिएको हो । ‘महिनावारीका विषयमा अहिलेसम्म सरसफाइको दृष्टिकोणबाट मात्रै बहस र छलफल भएका छन् । तर महिनावारीका कारण किशोरी र महिला माथि गरिने विभेद, लाञ्छनाको बारेमा खुलेर छलफल हुनै सकेको छैन ।’ मर्यादित महिनावारीकी अभियन्ता राधा पौडेल भन्नुहुन्छ, ‘महिनावारी बार्ने चलनले नेपालको संविधानले मौलिक हकमैं व्यबस्था गरेको सम्मानपूर्वक बाँच्न पाउने अधिकारको हनन् गरेको छ । महिनावारी बार्ने चलनका कारण महिला, परिवार समाज र देशको शान्ति, मानवअधिकार, सशक्तिकरण, शिक्षा, स्वास्थ्य, खानेपानी, सरसफाइ तथा वातावरणमा पार्ने अल्पकालिन तथा दीर्घकालिन नकारात्मक प्रभावको अन्त्यका बारेमा छलफल शुरु गर्नका लागि पनि दिवस मनाउन लागिएको हो ।’
नेपालका विभिन्न जिल्लाका साथै विश्वका विभिन्न देशले पनि डिसेम्बर ८ तारिखमा दिवस मनाउने र सरकारी निकाय सँगकै सहकार्यमा विविध कार्यक्रम आयोजना गरिएको फाउण्डेशनले जनाएको छ । महिनावारीका कारण हुने विभेदलाई शान्ति, मानवअधिकार र दिगो विकाससँग जोडेर हेर्नुपर्ने र त्यसै अनुसारको बहस र छलफलको आवश्यकता रहेको पौडेलको भनाइ छ । ‘डिसेम्बर महिनालाई विश्वभर नैं मानवअधिकार महिनाको रुपमा मनाइन्छ त्यसैले महिनावारीलाई पनि मानवअधिकारसँग जोडेर कुरा गर्न लागिएको हो ।’ उहाँले भन्नुभयो, ‘महिलामाहुने महिनावारी सामान्य कुरा हो भनेर बुझ्ने र सके मात्र महिला माथि हुने हिंसा र विभेद अन्त्य हुन सक्छ । दिवसका अवसरमा महिनावारी हुने सबैले सम्मानपूर्वक बाँच्न पाउने अधिकारको वकालत गर्ने हो ।’

दिवसका अवसरमा चितवन, बारा, सोलुखुम्बु, दैलेख लगायतका जिल्लाका विद्यालय स्तरमा मर्यादित महिनावारीका विषयमा विभिन्न कार्यक्रम सञ्चालन गर्ने तय भइसकेको अभियन्ता पौडेलले बताउनुभयो । सन् २०१७ बाट मे २८ तारिखमा महिनावारी स्वच्छता दिवस मनाउने गरिए पनि मर्यादित महिनावारी दिवस मनाउनुको विशेष कारण रहेको उहाँको तर्क छ । ‘महिनावारी सरसफाइ वा स्वच्छताको बारेमा बहस र काम गर्दैमा महिनावारीसँग सम्बन्धित सबै विभेद, भ्रम, दुरव्यबहार, हिंसा न्यूनिकरण गर्न सकिँदैन ।
मेवा रोपेर स्याउ खान सकिँदैन ।’ उहाँले भन्नुभयो, ‘महिनावारीलाई मानवअधिकारको साझा सवालको दृष्टिकोणले व्याख्या गर्दै सरोकारवालालाई महिनावारीलाई केन्द्रमा राखेर काम गर्नका लागि झकझकाउनका लागि पनि दिवस महत्वपूर्ण हुने अपेक्षा छ । हरेक दिन महिनावारी बाबारेमा छलफल गर्न सकिने भएकोले मे २८ सँग दोहोरियो की भन्ने ठान्नु पर्दैन ।’
नेपालमा पनि समानताको पुस्ताःबलात्कार बिरुद्धको ऐक्यवद्धता भन्ने नाराका साथ लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान (२५ नोभेम्बर– १० डिसेम्बर) चलिरहेको छ । महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले अभियानको अवसरमा मंसिर २२ मा राष्ट्रिय सभागृहमा आयोजना हुन लागेको प्रदेशस्तरीय कार्यक्रममा पनि मर्यादित महिनावारी र मानवअधिकारको विषयले स्थान पाउने अपेक्षा गरेको फाउण्डेशनले जनाएको छ ।


1345 पटक हेरिएको 

