काठमाडौ उपत्यकाको चर्पी सम्बन्धी यस्तो तथ्य सार्वजनिक

लिखिता बराल, काठमाडौ ५ असार । काठमाडौ उपत्यकाको सार्वजनिक शौचालय सम्बन्धी गरिएको एक अध्ययनले शौचालय प्रयोगका लागि न्यूनतम आवश्यकीय कुराहरु समेत नभएको पाइएको छ । वाटर एडले विभिन्न समयमा गरेको अध्ययनले केही सुधारोन्मुख रहेपनि अझै धेरै सुधारको खाँचो औल्याइएको छ ।

सन् २०१२ मा काठमाडौ, भक्तपुर, ललितपुर, ठिमी र किर्तिपुर नगरपालिकामा गरेको अध्ययनले ६८ वटा सार्वजनिक शौचालय भएको देखाएको थियो भने अहिले बढेर ८४ वटा पुगेको तर ललितपुर र भक्तपुरमा भने शौचालयको संख्या घटेको वाटर एड को अध्ययन प्रतिवेदनले देखाएको छ ।

प्रतिवेदन अनुसार सन् २०१२ को अध्ययनले भक्तपुरमा १८ वटा सार्वजनिक शौचालय देखाएकोमा अहिले १७ मा झरेको छ । यस्तै ललितपुरमा ६ वटा रहेकोमा अहिले ५ वटामा खुम्चिएको छ । कीर्तिपुरमा ५ बाट ६ पुगेको भने ठिमीमा ११ पुगेको छ ।

शौचालयमा पानीको चरम समस्या

काठमाडौ उपत्यकाका सार्वजनिक शौचालय मध्ये ६७ प्रतिशत शौचालयमा मात्र धारा भएको र ती मध्ये ४१ प्रतिशत धारामा मात्र पानी आउने गरेको पाइएको छ । यस्तै ५६ प्रतिशत शौचालयमा जग भएको र बाँकी ४४ प्रतिशतमा जग नभएको पाइएको छ । अध्ययन क्षेत्रका ८४ शौचालय मध्ये २२ प्रतिशतमा मात्र बकेट भेटिएको र बाँकीमा बकेट, जग केही नभएको वाटर एडका गोविन्द श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार आधाजसो शौचालयमा साबुन पानीको पनि व्यवस्था नभएको भेटिएको छ ।

यस्तै कतिपय शौचालय सुरक्षित नरहेको पाइएको छ । ७१ प्रतिशतमा मात्र भित्रबाट चुकुल लगाउन मिल्ने व्यवस्था रहेको र बाँकीमा चुकुलको समेत व्यवस्था नरहेको प्रतिवेदनमा उल्लेख छ । यस्तै ९२ प्रतिशतमा भेन्टिलेसनको व्यवस्था भएको, ५६ प्रतिशतमा विजुलीको व्यवस्था भएको प्रतिवेदनले जनाएको छ ।

जग तथा बकेट नहुँदा सरसफाइ गर्न समस्या हुने, चुकुलको समेत व्यवस्था नहुँदा सुरक्षित नभएकाले शौचालय प्रयोग गर्न नसकिने र साबुन पानीको समेत व्यवस्था नभएकाले ती कुराहरु सुधार गर्नुपर्ने प्रतिवेदनमा औल्याइएको छ । शौचालयको आर्थिक पाटो भोलिको श्रृंखलामा प्रस्तुत गरिनेछ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार