लिफ्टबाट डाँडामा खानेपानी, सकिए दुःखका कहानी

जुम्ला : मुहान तल, डाँडामा बस्ती जुम्लाको तिला गाउँपालिका १, रारा गाउँका बासिन्दाले पानी पिउन नपाउनुको मुख्य कारण नै यही थियो । तर बस्तीभन्दा तलतिरको मूलबाट समेत पानी तान्ने प्रविधिले डाँडाको बस्ती सम्म पानी पुर्‍याउन सम्भव भएको छ । तिला गाउँपालिकाको ५० लाख रुपैयाँ बजेट मार्फत मूलबाट १२ सय मिटर टाढाको बस्तीमा खानेपानी पुगेको हो ।

डाँडामा खानेपानी पुगेपछि स्थानीयले खुसी मनाएका छन् । २ सय ५० घरधुरी रहेको गाउँमा पानी पुगेपछि स्थानीयलाई सिँचाइको सुविधा समेत भएको छ । प्रयोग गरेर बचेको पानीलाई स्थानीयले खेती र करेसाबारीमा प्रयोग गरिरहेका छन् । खानेपानी पुगेपछि वर्षौंदेखि प्रयोगविहीन भएका शौचालय समेत प्रयोगमा आएका छन् ।

गाउँमा खानेपानी समस्या हुँदा स्थानीयले विभिन्न असुविधा भोग्दै आएका थिए । खानेपानी समस्याकै कारण बसाइ सर्ने क्रम बढेको थियो । स्थानीय बासिन्दा आधा घण्टा हिँडेर पानी ल्याउन बाध्य थिए । ठूलो गाउँ भए पनि ५ धारा मात्रै हुँदा घण्टौं लाइन लाग्नुपर्ने समस्या थियो ।
स्थानीय सरिता रावतले लिफ्टबाट पानी पुगेपछि जनजीवन सहज बनेको बताउनुभयो । ‘धारोमा घण्टौ लाइन बस्नुपर्ने वाध्यता हटेको छ,’ उहाँले भन्नुभयो ‘पानीका लागि दुखका दिन गए ।’ उहाँका अनुसार खानेपानी अभावका कारण महिला र बालबालिका धेरै समस्याबाट पीडित थिए । पानीकै लागि लाइन बस्दा बालबालिकाको पढाइ प्रभावित हुने गरेको थियो । लिफ्ट मार्फत पानी पुगेपछि बालबालिकाको पढाइ नियमित बनेको उहाँले सुनाउनुभयो ।

‘गाउँमा पानी ल्याउने स्रोत कुनै नभएपछि विकल्पको रुपमा लिफ्ट प्रविधि अपनाएका हौं,’ गाउँपालिका अध्यक्ष रतननाथ योगीले पानीको समस्या भएका अन्य वडामा पनि लिफ्टबाट पानी पुर्‍याईने बताउनुभयो ।

रारा गाउँमा लिफ्ट मार्फत तानिएको पानीले १८ हजार रोपनीमा सिँचाइ हुने गाउँपालिकाले जनाएको छ । खानेपानीलाई सिँचाइमा समेत प्रयोग गरिने उपभोक्ता समिति अध्यक्ष कोलबहादुर रावत बताउनुभयो ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार