
काठमाडौ : प्रतिनिधिसभा अन्तर्गतको महिला तथा सामाजिक समितिले महिनावारी भएका बेला छाउगोठमा बस्ने महिला र बस्न लगाउने दुवैलाई कडा कारवाही गर्न गृह मन्त्रालयलाई निर्देशन दिएको छ । समितिको सोमबारको बैठकले जसको घरमा यो प्रचलन रहेको छ, त्यस्तो घरका अभिभावक र महिलालाई कारवाही गर्न गृह मन्त्रालयलाई निर्देशन दिएको हो ।
समितिले समन्वयका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयलाई समेत निर्देशन दिइएको समिति सभापति नीरुदेवी पालले बताउनुभयो । समितिले गत वर्ष बाजुरा लगायतका जिल्लामा स्थलगत अध्ययन गरी अल्पकालीन र दिर्घकालीन सुझाव सहितको प्रतिवेदन महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयमा पठाइएको भए पनि कार्यान्वयन नभएको र तत्काल रणनीति बनाएर प्रथमिकताका साथ कार्यान्वयनमा ल्याउन पनि निर्देशन दिइएको छ ।
‘उक्त प्रतिवेदनको पूर्ण कार्यान्वयन गर्न तत्काल रणनीति बनाइ प्राथमिकीकरण सहितको परिणाममुखी कार्य सम्पादन गर्न/गराउन र आगामी दिनमा छाउगोठमा बस्ने क्रममा कुनै पनि महिलाको मृत्यु हुने अवस्था आउन नदिने वातावरण बनाउन समिति गृृह मन्त्रालालयलाई निर्देशन दिन्छ । सो कार्यमा आवश्यक समन्वय गर्न सामान्य प्रशासन मन्त्रालय तथा महिला बालबालिर्लाइ समेत निर्देशन गर्छ’, समिति सभापति पालले भन्नुभयो ।
सामाजिक रुपान्तरणको संघारमा राज्य अगाडि बढिरहेका बेला संकीर्ण संस्कारगत नकारात्मक अवशेषको शिकार सोझा नागरिक हुनु दुःखद भएको भन्दै समितिले अमानवीय संस्कारगत व्यवहार विरुद्ध सामाजिक ऐक्यवद्धता कायम गराउने वातावरण सिर्जना गर्न महिला, गृह, सम्बन्धित जिल्ला प्रशासन कार्यालयलाई समेत समितिले निर्देशन दिएको छ ।
यसैगरी सुदुरपश्चिम तथा कर्णाली प्रदेश एवं स्थानीय तहसँग समुन्वय गरी तत्काल कार्यसम्पादन गर्न पनि महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयलाई निर्देशन दिइएको छ । समितिले यस्ता कुसंस्कारको अन्त्य गर्न आवश्यक बजेट उपलब्ध गराउन अर्थ मन्त्रालयलाई समेत निर्देशन दिएको छ ।


869 पटक हेरिएको 

