जसले बनाए उसैले भत्काए छाउगोठ

 

सल्यान : बागचौर नगरपालिका–२ नयाँ बस्तीमा रहेका छाउगोठ बनाउनेले नै भत्काएका छन् । जिल्लामा छाउप्रथा लामो समयअघि नै हटिसकेको भन्दै घरधनीले नै छाउगोठ भत्काएका हुन्।

जिल्लामा दशकअघि नै छाउप्रथा हटेपछि गोठ घाँसरदाउरा राख्न प्रयोग हुँदै आएका थिए । स्थानीय पुष्कर केसीले छाउप्रथा पहिले नै हटे पनि गोठलाई घाँस राख्ने ठाउँको रुपमा प्रयोग गरिएको जनाए । उनले प्रहरी अनुरोधमा गोठ भत्काइएको जानकारी दिए । स्थानीय दिलबहादुर खत्रीले गाउँका अधिकांश महिलाले महिनावारी बार्न छोडेको जानकारी दिए । ‘पुराना छाउगोठलाई भण्डारकक्षको रुपमा प्रयोग गरिरहेका थियौं,’ उनले भने, ‘प्रहरीको अनुरोधमा भत्काइएको छ ।’ उनका अनुसार प्रहरी अभियानमा साथ दिन गाउँ आसपासका आधा दर्जन गोठ भत्काइएको हो ।

बाग्चौरमा भेटिएको छाउगोठ डेढ दशक अघि निर्माण गरेको पाइएको जिल्ला प्रहरी प्रमुख डीएसपी ढकेन्द्र खतिवडाले बताए । उनका अनुसार ती गोठ प्रयोग गर्न छोडेको १० वर्षभन्दा बढी भइसकेको छ ।

‘जिल्लामा अहिले छाउप्रथा छैन,’ उनले भने, ‘पुराना छाउगोठलाई स्थानीयले घाँसरदाउरा राख्न प्रयोग गरिएको पाइयो, गोठ उसै रहँदा छाउप्रथा कायम रहेको सन्देश जाने भएकाले भत्काउन जिल्लाभर प्रहरी परिचालन गरिएको छ ।’ यो खबर कान्तिपुर दैनिकले छापेको छ ।

सरोकारवालासँगको छलफलको क्रममा नयाँ बस्तीमा छाउगोठ रहेको पत्ता लागेपछि भत्काउन घरधनीलाई नै अनुरोध गरिएको प्रमुख जिल्ला अधिकारी चुडाराज न्यौपानेले बताए । उनले महिनावारी भएका महिलालाई छाउगोठमा राखेको थाहा पाए सरकारी सुविधाबाट वञ्चित गर्ने र आवश्यक कारबाही अगाडि बढाउने निर्णय भइसकेको जनाए । उनका अनुसार छाउगोठ भत्काउन जिल्ला प्रहरी कार्यालयले मातहतका इकाइलाई विभिन्न गाउँमा खटाएको छ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार