नीजि धाराले, पानीका कारण हुने झगडाको अन्त्य

प्रसन्न तामाङ, अछाम : अछामको धुमाली गाविसकी रमा शाहीलाई दैलेख सिंगटीको जुगढमा विहे भएर आउँदा पानीको दुःख छ भन्ने थाहा थिएन । माइतमा हुँदा पानीको अभाव झेल्नु नपरेकी रमाले कर्मघरमा कर्णालीको पानी बोक्नुपरेपछि दिक्क लागेर दुई बर्षजति माइतमै बस्नुभयो ।

‘त्यत्तिबेलाको दिन सम्झिदा मलाई अहिले पनि आँशु आउँछ, दुई बर्षजत्ति त माइतमै गएर बसें, पछि सबैले माइतमा बस्नुहुदैन, बाउ माइतीको इज्जत जान्छ भनेपछि फेरि फर्केर यही दुःख गरें’ रमाले त्यत्तिबेलाको दुःख सम्झिदै भन्नुभयो ।


जुगढ गाउँको ६६ घरका महिलाले रमाले जस्तै नियति भोगिरहेका थिए । कर्णालीमा जत्ति पानी भएपनि पुग्नै मुश्किल हुन्थ्यो, ‘विहान ४ बजे नदी गएको महिला बल्ल ८ बजे घर आईपुगिन्थ्यो’ जुगढकी नामा विकले भन्नुभयो ।

पानीको अभावमा सबैभन्दा कष्ट महिलाले झेल्नुपथ्र्यो, त्यसमा पनि बुहारीले अझ बढी पानी ओसार्नुपथ्र्यो । ‘विहान चाँडो उठेर पानी लिन नगए अल्छे बुहारी भनिन्थ्यो, श्रीमान् र सासुससुराको गाली खानु पथ्र्यो, विहानै आँखा मिच्दै कर्णालीमै पुग्नुपथ्र्यो, दिनभरि काम गरेर थाकेर आउँदा पनि सुख पाईदैन थियो’ पालैपालो दुःखका कहानी सुनाउनुभयो रमा शाहीले ।

जुगढ गाउँको पानीको समस्या अब इतिहासमा परिणत भईसकेको छ । हेल्भेटास जलस्रोत व्यवस्थापन कार्यक्रमले घरघरै धारा जडान गरिदिएपछि पानीको दुःखका दिन हटेको हो ।

हिजोआज जुगढ गाउँका बासिन्दा साझा स्वरमा भन्छन् ‘अब हाम्रा नातीनातिनाले हामीले जस्तो पानीको दुःख भोग्नुपर्ने छैन । पुस्तौंदेखिको दुःख अन्त्य भएको छ ।’

पानीका कारण हुने झगडाको अन्त्य

कर्णाली नदीमै भर पर्दै आएको जुगढमा २०६० सालमा जिल्ला विकास समिति दैलेखको आर्थिक सहयोगमा साँई खोला खानेपानी योजना सञ्चालन भयो ।

नदीबाट पानी ओसारेर खाँदा कहिल्यै तेरोमेरो गरेर झगडा नगरेका गाउँले साँइखोलाको पानीमा झगडा गरे । पानी भर्न लाइनमा बसिरहेका जुना विक र रमा शाही बीच कसले अगाडि भर्ने भन्ने विषयमा विवाद हुँदा बर्षदिन सम्म बोलचाल नै बन्द भयो ।

रीसकै झोंकमा परतिर गएर पाइप काट्ने सम्मको काम भएको हरि विकले सुनाउनुभयो । रमाका श्रीमान् सूर्य शाही भन्नुहुन्छ ‘एउटै समाजका सदस्यहरु बीच झैझगडा गर्नु राम्रो होइन भन्दै हामीले सम्झाई बुझाई गरेपछि अहिले बोलचाल शुरु भएको छ ।’

सामुदायिक धारामा पानी भर्दा यस्ता अनगिन्ती विवादहरु आउने गरेको सूर्यले सुनाउनुभयो । ‘न तँलाई न मलाई’ भन्ने भाव पैदा हुँदा जिल्ला विकास समितिको अनुदानमा बनेको साँईखोला खानेपानी योजना उपभोक्ताले नै भत्काएका थिए । जसका कारण त्यो योजनाको आयु चार बर्ष भन्दा बढी लम्बिन सकेन ।

तर घरघरै धारा जडान भएपछि पानीका कारण गाउँले बीच भएको झगडाको अन्त्य भएको छ भने ढाड नै खुइलिने गरी कर्णालीबाट पानी बोक्नु पनि परेको छैन ।

जुगढकी नामा विक भन्नुहुन्छ सामुदायिक धारा हुँदा हामीले छुवाछुत पनि भोग्नु परेको थियो, अहिले आफ्नै घरको आँगनमा धारा छ, अहिले त साह्रै सुविस्ता भएको छ ।’

हेल्भेटास जलस्रोत व्यवस्थापन कार्यक्रमले २०६९ सालमा धौलाकोट खानेपानी योजना सम्पन्न गरी जुगढको ६६ घरमै धारा जडान गरेपछि सामाजिक सहिष्णुता बढेको हो ।

नीजि धाराले आम्दानीमा बृद्धि

चार बर्ष पहिले जुगढकी टंकी शाहीको बारीमा तमाखु खेती बाहेक केही हुदैन थियो । अहिले उहाँले पाँच/सात जातका तरकारी फलाउनुहुन्छ ।

आफ्नै घरमा पानीको धारा भएपछि बढी भएको पानीलाई सिंचाईमा बदलेर तरकारी फलाउन थालेको टंकीले बताउनुभयो । ‘पानी नहुँदा हरियो तरकारीको मुख सम्म हेर्न पाइदैन थियो, पानीमा नुन हालेर खाएका दिनहरु अनगिन्ती छन्, तर हामी अहिले तरकारी फलाएर बेच्छौं’ टंकी भन्नुहुन्छ ‘ घरघरमै धारा छ, पानीलाई खेर फाल्न मिलेन, सारा सुविस्ता छ, खुर्सानी, मूला, लसुन, प्याज, टमाटर फलाउँछौं सडकमै घर छ, महिनाको हजार जत्ति त कमाईहाल्छौं ।’

नीजि धारा भएपछि जुगढ गाउँका सबैजसो घरले तरकारी फलाउन थालेका छन् । तरकारी बेचेर आएको पैसाबाट नुन तेल खान सजिलो भएको छ ।

गोजीमा पैसा भएपछि सानातिना समस्या हल गर्न सजिलो भएको र आर्थिक समस्याका कारण उत्पन्न हुने तनाव पनि हटेको जुगढकी नामा विकले बताउनुभयो ।

नीजि धारा नीजि सम्पक्ति :  सूर्य बहादुर शाही (सचिव)

धौलाकोट खानेपानी तथा सरसफाई उपभोक्ता समिति

नीजि धारा नीजि सम्पक्ति हो । यसको हिफाजत गरे आफ्नै सम्पक्तिको रक्षा हुन्छ । जतन नगरे आफ्नै सम्पक्ति नष्ट हुन्छ ।

नीजि धारा जडान गरेपछि यहाँका समुदायले यसरी नै ग्रहण गरेका छन् । नीजि धारालाई कसरी माया गर्दारहेछन् भन्ने एउटा राम्रो उदाहरण छ, त्यो के हो भने २०६६ सालमा जिल्ला विकास समितिको अनुदानमा साँइ खोलाबाट पानी ल्याएको थियो ।

त्यो पानी चार बर्ष पनि मुश्किलले टिक्यो । लाइनमा बस्नुपर्ने, पानी थप्ने विषयमै विवाद हुने, रीस पोखाउन त्यही खानेपानीको पाइप काट्ने, धारा भत्काउने गरेपछि अन्त्यमा भताभुङग भयो ।
अहिले हेर्नुस् तीन बर्ष भइसक्यो नीजि धारा जडान भएको, हामीले आफ्नो धारा विग्रिएमा आफैले मर्मत गर्नुपर्ने, टुटी विग्रेमा, पाइप टुटफुट भएमा आफैले पाइप किन्नुपर्ने र मर्मत गर्नुपर्ने नियम बनाएका छौं ।

यसले उपभोक्तामा यो आफ्नै सम्पक्ति हो विग्रेमा पैसा जान्छ, श्रम पनि जान्छ भनेर संरक्षण गरिरहेका छन् । व्यक्तिगत धारामा अरुको सरोकार हुदैन नि ! यसमा घरको मात्र स्वमित्व हुने भयो । आफ्नो धारा जसरी पनि संरक्षण गरेर दीगो बनाउनुपर्छ भन्ने भावना हरेक घरधुरीमा जागेको छ ।

नीजि धारा भएपछि अरुको घरको धारामा पानी भर्न जाने कुरा पनि भएन, किनकि सबैको धारामा एकैपटक पानी आउँछ । आफ्नै धारामा व्यस्त भएपछि पानीको कारण झगडा गर्ने, मनमुटाव हुने कुरै हुदैन ।

हामीले पानीको दीगोपनाका लागि छुट्टै नियम पनि बनाएका छौं । हरेक घरधुरीले पानी उपभोग गरेबापत मासिक ८० रुपैयाँ बुझाउँछन् । खानेपानी उपभोक्ताबाट संकलन भएकै रकमबाट मासिक पाँच सय रुपैयाँ कार्यालय भाडा तिर्छौ र ४ हजार रुपैयाँ खानेपानी मर्मत सम्भार कार्यकर्ताको पारिश्रमिकका लागि खर्च हुन्छ ।

त्यसपछि बचेको रकम हामीले मर्मत सम्भार कोषमा जम्मा गर्छौ । कोषमा जम्मा भएको रकमबाट खानेपानी विग्रिएमा भत्किएमा खर्च गर्ने हाम्रो योजना छ । यसले भैपरी आउने समस्यालाई हल गर्न सघाउ पुग्छ ।

जत्तिबेला बिग्रन्छ त्यत्तिबेला उपभोक्ता सँग संकलन गरेर बनाउला भनेर बस्यो भने त्यत्तिबेला सबै उपभोक्तासँग पैसा नहुन पनि सक्छ नि ? पहिले नै कोषमा रकम जम्मा गरिराखेमा आकस्मिक खर्च गर्न पनि सजिलो हुन्छ । यसरी यो पानीलाई पुस्तौंपुस्तासम्म कसरी उपभोग गर्न सकिन्छ भनेर सोचिरहेका छौं र गरिराखेका पनि छौं ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार