महोत्तरी : ग्रामीण खानेपानी तथा सरसफाइ कोष विकास समिति (फण्ड बोर्ड) का कार्यकारी निर्देशक चोक प्रसाद धितालले कोष विकास समिती अन्तर्गत सन्चालित खानेपानी तथा सरसफाइ आयोजनाहरु आगामी फागुन १५ गते भित्र सम्पन्न गरिसक्न निर्देशन दिनु भएको छ । खानेपानी उपभोक्ता समितिका अध्यक्ष, सहयोगी संस्थाका टीम लिडर एवं सरोकारवाला सङ्गको प्रगति समिक्षा बैठकमा वहाँले आगामी फागुन १५ भित्र जसरी भए पनि सम्पन्न गर्न निर्देशन दिनुभयो। तोकिएको समयमै आयोजना सम्पन्न नभए आयोजना सम्पन्न पछिको चरणमा गर्नुपर्ने काम समेत प्रभावित हुने भएकाले यसमा गम्भीर हुना वहाँले आग्रह गर्नुभयो ।
“हामी सङ्ग समय छैन, पर्खेर बिस्तारै गरौला भन्ने समय नभएकाले यसमा गम्भीरताका साथ हेरेर काम गर्नुहोसू” वहाँले आग्रह गर्नुभयो । सर्लाही, महोत्तरी र धनुषामा खानेपानी आयोजना सन्चालन गरिरहेका सहयोगी सस्थाका टीम लिडर तथा उपभोक्ता समितिका अध्यक्षहरुलाई एकै ठाउँमा उभ्याएर वहाँले एकाएक प्रगति विवरण माग्नुभयो । साथै उपभोक्ता समितिका अध्यक्ष र टीम लिडरहरुलाई आयोजना सन्चालनमा आएको समस्या बताउन लगाई समाधानको उपायको बिषयमा समेत व्यापक छलफल गरिएको थियो । “यसपाली दिएको डेटलाइन भन्दा एक दिन पनि कन्सिडर गर्न सकिने अवस्था छैन, यदि काम सम्पन्न नभए पत्रिकामा नाम निकाल्न बाध्य हुनेछौ, तर मलाई लाग्छ तपाईहरुले त्यो अवस्था सिर्जना गर्न दिनुहुने छैन ।” कार्यकारी निर्देशक धितालले स्टिमेटका क्रममा छुट्पुट भएमा बिल पेश गरे पछि स्रोत भर्ना गरिने बताउनुभयो ।
प्रगति समिक्षा गोष्ठीमा अधिकाश उपभोक्ता समितिका अध्यक्षले बिजुलीको मिटरको रकम समावेश गर्न छुटेको बताएका थिए । गोष्ठीमा सहभागी टीम लिडर तथा उपभोक्ता समितिका अध्यक्षहरुले डुबान क्षेत्रमा संचालित आयोजनाहरुका लागि सामान ढुवानी गर्न नसक्नु, भारतीय मिस्त्रीले ढिलाइ गर्नु, मिस्त्री अभावमा एउटै समूहको भर पर्नु लगायत कारणले समयमै आयोजना सम्पन्न गर्न समस्या भएको बताएका थिए । उनीहरुले यसपटक भने निर्धारित समय भित्रै आयोजना सम्पन्न गर्ने प्रतिबद्धता जनाएका छन । ग्रामीण खानेपानी तथा सरसफाइ कोष विकास समितिले यस अघि बिराटनगरमा पनि प्रगति समिक्षा गोष्ठी गरि त्यस क्षेत्रका खानेपानी उपभोक्ता समिति र टीम लिडरहरुलाई सम्पन्न गर्ने समय
निर्धारण गर्न लगाएको थियो । विश्व बैक र नेपाल सरकार बीच ग्रामीण खानेपानी तथा सरसफाइ सुधार आयोजना कार्यान्वयन गर्न भएको सम्झौता अवधि सकिनै लाग्दा कोष विकास समितिले आयोजनाहरु सम्झौता अवधी भित्रै सकाउन तदारुकता दिइरहेको छ ।