बर्खा लाग्यो, पानीलाई यसरी शुद्धिकरण गरेर पिउने गरौं

लिखिता बराल, काठमाडौ : बर्खा लागेपछि पानीका स्रोतहरु प्रदुषित हुन्छन् । भेलबाढीले पाखा भित्तामा भएका फोहोरहरु बगाएर पानीको स्रोतमा मिसाइ दिन्छ र सुरक्षित भनिएका खानेपानीको स्रोत पनि दुषित हुन्छ । दुषित पानीको सेवनले झाडापखाला, हैजा, आँउ जस्ता सरुवा रोगहरुको संक्रमण हुन्छ । त्यसैले पानी सधैं शुद्धिकरण गरेर मात्र पिउनुपर्छ ।

यसरी गर्ने शुद्धिकरण

पानी शुद्धिकरण गरेर मात्र पिउनु भनेको पानीको स्रोतबाट जस्तो पानी आयो त्यस्तै सेवन नगरी सुरक्षित बनाएर पिउनु हो । पानीको प्रदुषणको अवस्था हेरी विभिन्न उपायको माध्यमबाट पानीलाई शुद्धिकरण गर्न सकिन्छ ।

उमालेर मात्र पिउने

पानी शुद्धीकरण गर्ने गर्ने सबैभन्दा सजिलो उपाय हो, उमाल्ने । पानी भल्भली उमालेर पिउने हो भने पानीमा आँखाले देख्न नसकिने किटाणुहरु सबै मर्दछन् । पानी तताएर मात्र पिउनु हुदैन । किनकि ४० डिग्री सेल्सियस सम्मको तापक्रममा किटाणुहरु सजिलै बाँच्न सक्छन् । पानीलाई मज्जाले उमाल्न दिएर मात्र पिउने गरेमा पानी सुरक्षित हुन्छ । यो गाउँघर शहरबजार सबै क्षेत्रका लागि उपयोगी विधि हो ।

सोडिस गरेर पिउने

सोडिस विधि पनि पानी शुद्धिकरण गर्ने अर्को सजिलो उपाय हो । तर यसका लागि चर्को घाम र पारदर्शक बोतल हुन जरुरी छ । सबैभन्दा पहिले प्रकाश छिर्ने रबरको बोतल राम्ररी सफा गर्ने, सफा गरिसकेको बोतलमा पानी भर्ने र विर्को लगाउने । त्यसपछि पारिलो घाम लाग्ने ठाउँमा ढल्काएर राख्ने । डाक्टरहरुका अनुसार सात घण्टा पारिलो घाममा राख्दा किटाणुहरु नष्ट भई पानी सुरक्षित हुन्छ । यदि घाम लागेन वा आंशिक मात्र लाग्यो भने दुई दिन राख्नुपर्ने डाक्टरहरु बताउँछन् ।

फिल्टर गरेर पिउने

पानीलाई फिल्टर गरेर पनि पानीलाई शुद्धिकरण गर्न सकिन्छ । फिल्टर गर्नु भनेको पानीलाई छानेर सफा र सुरक्षित बनाउनु हो । बजारमा विभिन्न फिल्टरहरु पाइन्छन् । फिल्टरमा पानी हालेपछि विस्तारै छानिदै तल्लो भागमा जम्मा हुन्छ । यसरी फिल्टर भएको पानीलाई सफा गिलासमा पिउँदा पानी सम्बन्धी रोग लाग्न पाउँदैन ।

बजारमा क्यान्डल, कोलाइडल सिल्भर फिल्टर र वायोस्याण्ड फिल्टर लगायत विभिन्न थरीका फिल्टरहरु पाइन्छ । तर गाउँघरमा सजिलै उपलब्ध नहुने हुँदा यो शहरबजारमा बढी उपयोगमा ल्याउने गरिएको छ ।

क्लोरिन हालेर पिउने

खानेपानीमा रसायन हालेर शुद्धीकरण गर्ने विधिलाई क्लोरिनेशन भनिन्छ । खानेपानीमा यस्तो रसायन हालेपछि पानीमा रहेका किटाणुहरु नष्ट गर्नुका साथै पानीमा पाइने अन्य अजैविक तत्वहरुलाई समेत केही कम गर्दछ । यसमा पानीको परिमाण र रसायनको अनुपात नमिलेमा पानीको स्वाद फरक हुने र गन्ध आउने हुन सक्छ । बजारमा विभिन्न नामका क्लोरिन पाइन्छ । क्लोरिनेशन गरेर पानी शुद्धिकरण गर्दा क्लोरिनेशन उत्पादक वा डाक्टरको सल्लाह बमोजिम मात्र प्रयोग गर्नुपर्दछ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार