बाजुरा : वडाभरि भएका सबै छाउगोठ भत्काएपछि बाजुराको बडिमालिका नगरपालिकाको वडा नं. ९ लाई छाउगोठमुक्त वडा घोषणा गरिएको छ । प्रतिनिधिसभा सांसद लालबहादुर थापाले छाउपडी गोठमुक्त वडा घोषणा गर्दै सामाजिक कुसंस्कारका रुपमा रहेको छाउपडी प्रथा अत्यको अभियानमा लागिपरेको बताउनुभयो ।
उहाँले छाउगोठ अन्त्यसँगै समाजमा रहेका कुरीति र विभेदलाई अन्त्य गर्न सक्रियताका साथ अगाडि बढ्न अनुरोध गर्नुभयो । ‘यस्ता कुरीतिको प्रत्यक्ष असर किशोरी, महिला र बालबालिकामा परेको छ, यसको अन्त्यका लागि जनचेतना जगाउन आवश्यक छ, चेतना जगाउने अभियानमा सबै एक जुट भएर लागौं’ उहाँले अनुरोध गर्नुभयो ।
छाउपडी गोठमुक्त वडा घोषणा कार्यक्रमका प्रमुख अतिथि समेत रहेका सांसद लालबहादुर थापा लगायत अन्य पार्टी प्रतिनिधि, जनप्रतिनिधि नागरिक समाज लगायतले छाउगोठमुक्त राख्ने प्रतिबद्धता पत्रमा हस्ताक्षर गरेका छन् । घोषणा कार्यक्रममा विभिन्न झाँकी, देउडा, सडक नाटक लगायत कार्यक्रम प्रदर्शन गरिएको थियो ।