साबित्री राजभण्डारी, रसुवा : उहाँले तराइको समथर भुभाग बाहेक पहाडको उकाली ओराली कहिल्यै चढ्नुभएको थिएन । साइकल डो-याउन सक्ने भएपछि पैदलले लामो दुरी हिड्नु नपरेका उहाँले पहाड र हिमाली भेगमा मुरीका भारी बोकेर हिडेको दृश्य टेलिभिजनको पर्दामा बाहेक कहिल्यै देख्न पाउनुभएको थिएन ।
कर्मको हुरीले तराइबाट डो-याएर जब हिमाली जिल्ला रसुवामा पु-यायो, अनि मात्र पहाडको उकाली ओराली गर्दाको कष्ट अनुभूत गर्नुभयो । सिरहाको लहानमा जन्मिएर सुनसरीबाट डिप्लोमा इन सिभिल इन्जिनियरिङ गरी अहिले रसुवाको गाउँ गाउँमा चर्पी बनाउने तरिका सिकाइरहनुभएका उहाँ हुनुहुन्छ ‘दिपेश चौधरी’
‘सिरहामै जन्में, त्यही हुर्कें, उच्च शिक्षा पनि सुनसरीको सुनसरी टेक्निकल कलेजबाट गरें, उच्च शिक्षा अध्ययन गर्दा सम्म पहाडी जनजीवनको अवस्था केही पनि थाहा भएन । त्यसपछि काठमाडौमा आएँ, त्यहाँ पनि चारैतिर डाँडाकाँडा त देखें तर कहिल्यै उकाली ओराली गरेर हिड्ने फुर्सद भएन, अहिले पहाडी जीवनको कष्टकर दैनिकी र आनन्द दुवै अनुभूति संगालिरहेको छु’ पहाडी तथा हिमाली भेगमा गएर काम गर्नुपर्दाको कष्ट तथा आनन्द दिपेशले एकै सासमा भन्न भ्याउनुभयो ।
यसरी पुगे, तराईको चौधरी तामाङ गाउँमा
सुनसरीको सुनसरी टेक्निकल कलेजबाट डिप्लोमा इन सिभिल इन्जिनियरिङ अध्ययन पूरा गरेपछि उच्च शिक्षा र अवसरको खोजीमा चौधरी काठमाडौ प्रवेश गर्नुभएको थियो । काठमाडौमा आएर आफ्नो फिल्डको काम खोज्दा घरको डिजाइन गर्ने काम त पाउनुभयो तर सानो कम्पनी भएकाले तलब त्यत्ति राम्रो थिएन ।
‘अरु काम पाए पनि यो काम छाडिदिन्थें, महिनाभरि दुःख गर्दा पनि भनेजस्तो तलब पाइन्न, के काम गर्नु ?’ यस्तै सोचिरहेकै बेला उहाँलाई साथी मार्फत रसुवाका लागि टेक्निकल पार्टमा काम गर्ने कर्मचारी आवश्यक भएको खबर आयो ।
त्यत्तिबेला ठेकेदारसँग काम गर्दा गरेको दुःख र कम पारिश्रमिकका कारण जस्तो सुकै दुःख पनि गर्न सक्ने आँट पलाएको थियो उहाँमा । दिपेश भन्नुहुन्छ ‘सधैं काम काम, फुर्सद कहिल्यै नहुने, बरु संघसंस्थामा काम पाइयो भने जस्तो सुकै दुःख पनि गर्थें भन्ने लाग्थ्यो ।’
लाङटाङ संरक्षण सरोकार समाज ल्याकोसले रसुवाका लागि कर्मचारी मागेको थियो । दिपेशले त्यहाँ आवेदन दिनुभयो । एक जना पदका लागि चार/पाँच जना आवेदकले आवेदन दिएपनि अन्त्यमा छनौट गर्ने बेला दिपेश मात्र उपस्थित हुनुहुन्थ्यो । यस अघि पनि काम गरिसकेकाले दिपेश स्वतः चुनिनुभयो, रसुवाका लागि ।
चर्पीको काममा पहिलो प्राथमिकता
दिपेशलाई लाङटाङ संरक्षण सरोकार समाज ल्याकोसले विशेष गरी चर्पी निर्माणको प्राविधिक पक्षमा सहयोग गर्ने जिम्मेवारी दिइएको छ । यसका अलावा परि आएको खण्डमा स्वास्थ्य सम्बन्धी काम समेत गर्नुपर्छ । ‘चर्पी र सेफ्टी ट्याङ्क बनाउन लाइन दिने, सुपरभिजन गर्ने र डिजाइन अनुसारको नभएमा भत्काएर पुनः बनाउन लगाउने मेरो काम हो, मिस्त्रीहरुलाई चर्पी बनाउन सिकाउने जिम्मा पनि मेरो भागमा परेको छ’ दिपेश भन्नुहुन्छ ‘शुरुमा हिड्न पनि समस्या हुन्थ्यो, तराईमा जन्मिएको मान्छे, पहाडको उकाली ओराली गर्न अति नै समस्या थियो, अहिले त हामी समुदायमै बस्छौं, समुदायलाई चर्पी निर्माण गर्न परिचालन गर्छौं’
दिपेशलाई रसुवाको तारुके, रुप्सेपानी, तल्लो रुप्सेपानी लगायत तीन वटा स्कुलमा शौचालय निर्माण गर्नुपर्ने जिम्मेवारी परेको छ । एसिएफको आर्थिक तथा ल्याकोसको प्राविधिक सहयोगमा रसुवाको डुप्चेश्वरी आधारभूत विद्यालय, ज्वालामुखी आधारभूत विद्यालय र सूर्योदय निम्न माध्यमिक विद्यालयमा अपाङ्गमैत्री, छात्रा मैत्री तीन तीन कोठे चर्पी बनिरहेको छ ।
घरको भन्दा चर्पीको काम प्यारो
दिपेशले काठमाडौमा हुँदा रसुवामा जस्तो उकाली ओराली गर्नु परेको थिएन, न दिनहुँ चर्पीकै मात्र काम हुन्थे, तर हिमाली जिल्ला रसुवामा गएर सकी नसकी उकाली ओराली गर्दै चर्पी बनाउन सिकाउनुपरेपनि यसैमा खुसी हुनुहुन्छ । गाउँमा चर्पी बनाउँदा समाजको समृद्धिको सपना देख्नुभएको छ दिपेशले ।
उहाँ भन्नुहुन्छ ‘काठमाडौमा घरको डिजाइनको काम गर्दा मेरो आफ्नो शोषण गरेर एक जना व्यक्ति धनी हुन्थ्यो । यहाँ म चर्पी बनाउन सहयोग गर्छु, सबै गाउँलेले सेवा पाएका छन् । अझ यो भन्दा पनि अविनाशी कुरा त हामीले सिकाएका सीप र जागरण हो, जो कहिल्यै हराएर वा नष्ट भएर जाने छैन ।
गाउँलेले गर्ने व्यवहार पनि अति आत्मिय लाग्छ रे दिपेशलाई । ‘गाउँलेकै मिलनसार र सहयोगी भावनाले त मलाई रसुवामा बाँधिराखेको छ नि ?’ दिपेश त्यत्तिबेलाका दिन सम्झिदै भन्नुहुन्छ ‘मलाई शुरुमा रसुवा आउँदा उराठ लाग्थ्यो, कहाँ आएँ होला ? भन्ने हुन्थ्यो, गाउँलेले बोलेको पनि म बुझ्दिनथें,
अहिले त कोही नचिने पनि स्कुलका सरहरु, समितिका सदस्यहरु चिन्छु, उहाँहरुले पनि मलाई चिन्नुहुन्छ, उहाँहरुकै सहयोगले काम गर्न पनि सजिलो भइरहेको छ । त्यसैले त म सिरहाको चौधरी पनि रसुवाको तामाङ गाउँमा आएर आनन्दले काम गरिरहेको छु ।’