काठमाडौ : जब दौडने समय आउँथ्यो अल्ट्रा धाविका मीरा राई महिनावारी नहोस् है भनेर कामना गर्थिन् । किनकि महिनावारी भएको समयमा दौड प्रतियोगितामा भाग लिन निक्कै गाह्रो हुन्थ्यो । ‘लगाएको प्याड रगत र पसिनाले भिज्थ्यो, छालामा पास्थ्यो, म भनेजति दौडन सक्दिनँथे’ शुक्रबार ‘मीरा राई इनिसिएटिभ’ ले आयोजना गरेको महिनावारी कप वितरण कार्यक्रममा उनले महिनावारीको समयमा दौडनु पर्दाको अनुभव सुनाइन् ।
उनले यो कुरा विदेशी साथीसँग बाँडिन् । साथीले महिनावारी कपको बारेमा थाहा दिइन् । कप प्रयोग गर्न थालेपछि उनी महिनावारी भएको बेला पनि दौडन, तालिम गर्न र अभ्यास गर्न सफल भईन् । हङकङको एक सय किलोमिटर दौडमा दोस्रो स्थान हासिल गर्नुमा महिनावारी कपकै देन छ । उनले भनिन् ‘महिनावारी भएकै बेला दौडनु परेपछि महिनावारी कप प्रयोग गरें, कप नभइदिएको भए दोस्रो हुन पनि सक्दिनथें ।’
महिनावारी भएको बेला आफूले जस्तो समस्या अन्य धाविकाले भोग्न नपरोस् भनेर उनले अल्ट्रा दौडमा उदियमान ५० धाविकालाई महिनावारी कप वितरण गरेकी हुन् । हङकङमा महिनावारीका सामग्री बनाउदै आएको ‘लुना नेचुरल्स’ सँगको सहकार्यमा कप वितरण गरिएको हो । ‘मैले भोगेको समस्या बहिनीहरुले भोग्न नपरोस्, मेरो क्षमताले भ्याएको सहयोग र सचेतना गराउनुपर्छ भन्ने लागिरहन्थ्यो, यो पहिलो प्रयास हो,’ मीराले भनिन् । महिनावारी भएकै कारण बहिनीहरुले दौडबाट हतोत्साहित हुन नपरोस् भनेर कप वितरण गरिएको उनले बताईन् ।
धाविकाहरुलाई कप प्रयोग गर्ने, भण्डारण गर्ने तरिका समेत सिकाइएको छ । इनिसियटिभकी कार्यक्रम व्यवस्थापक सञ्जु जिसीका अनुसार कप सिलिकनबाट बनेको भएकाले शरीरमा कुनै असर गर्दैन । महिनावारी कप प्रतिगोटा ४० अमेरिकी डलर पर्छ । यो ८ देखि १० बर्षसम्म टिकाउ हुने जिसीले बताईन् ।