
सिन्धुपाल्चोक : राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजनाको काममा कोरोनाले तत्काल असर नपर्ने भएको छ । कोरोना भाइरसका कारण सार्वजनिक स्थलमा २५ जना भन्दा बढी भेला नहुन सरकारले निर्देशन दिए पनि आयोजनाको काम भने जारी राख्ने भएको छ । मेलम्ची खानेपानी आयोजनाका प्रवक्ता राजेन्द्र पन्तले स्वास्थ्य सुरक्षा सचेतना अपनाउँदै मेलम्चीको काम जारी रहने बताउनुभयो । सरकारले नै निर्णय गरेर रोक्नु नभने आयोजनाको काम जारी रहने उहाँले बताउनुभयो ।
प्रवक्ता पन्तका अनुसार आयोजना स्थलको ६ साइटमा दुई सय ५० कामदार परिचालित छन्। तीमध्ये ४२ चिनियाँ कामदार छन्। ५० चिनियाँ कामदार रहेकामा चीन गएका आठ कामदार फर्केका छैनन्। घर गएका बेला चीनमा कोरोना भाइरसको महामारी फैलिएपछि उनीहरु नफर्केका हुन्। आयोजनाको मुहानस्थल अम्बाथान, ग्याल्थुम, सिन्धु र सुन्दरीजलबाट एकसाथ निर्माण कार्य भइरहेको छ। कामदार छरिएर काम गरिरहेकाले भिडभाडको अवस्था नरहेको प्रवक्ता पन्तले बताउनुभयो ।
उहाँका अनुसार दैनिक तीन सिफ्टमा कामदार काममा खटिने गरेको छ । एक सिफ्टमा एक तिहाइ कामदार छरिएर काममा खटिने हुँदा भिडभाड हुँदैन । कामदार ६ तिर छरिएकाले उनीहरु बस्ने, सुत्ने र खाने क्याम्पमा पनि भिडभाड छैन। विदेशबाट आउनुपर्ने सबै निर्माण सामाग्री नेपाल भित्रिसकेका छन्। भित्रिएका सामग्री केही आयोजनास्थलमा ल्याइसकिएको छ भने केही काठमाडौंमा छन्। निर्माण सामाग्री आपूर्ति गर्ने स्थानीयकै आठ उप–ठेकेदार कम्पनी रहेकाले निर्माणस्थलमा बाहिरी मान्छेको ओहोरदोहोर नहुने आयोजनाको दाबी छ। उनीहरु गिटी, बालुवा, सिमेन्ट, छड जस्ता सामाग्री आपूर्ति गर्ने प्रकृतिका ठेकेदार हुन्। गिटी, बालुवा स्थानीय नदीमै उपलब्ध छ।
सरकारले आगामी असारभित्रै मेलम्चीको पानी काठमाडौ ल्याईसक्ने घोषणा गरेकाले जसरी भएपनि मेलम्चीको काम चाँडो सक्नुपर्ने दबाबमा परेको छ आयोजना । मेलम्चीको पानी केही दिन अघि नै सुरुङमा हालेर सफल परिक्षण गरिसकेको छ । अहिले आयोजनामा बाँधस्थल बनाउने, साढे २६ किलोमिटर लामो सुरुङमार्गमा गेट राख्ने, अडिट टनेल बन्द गर्ने, भेन्टिलेसन, सुरुङमा अनुगमन उपकरण जडान गर्ने लगायत काम तीव्र रुपमा भइरहेको छ।


886 पटक हेरिएको 

