वर्षाले टार्छ खानेपानीको गर्जो

अर्घाखाँची : बल्कोटकी अस्मिता खनाललाई अहिले त्यति पानीको दुःख छैन । वर्षायाम भएकाले आकाशबाट पानी परेपछि खानेपानीको दु:ख टरेको हो । घण्टौं पैदल हिँडेर गाग्रीमा पानी त बोक्नुपर्छ । तर, हिउँदमा दैनिक तीन/चार गाग्री बोक्नुपथ्र्यो । अहिले एक गाग्री ल्याए पुग्छ ।

‘घर छेउमा दुईवटा घैंटा छन्,’ उनले भनिन्, ‘घरको छानोको पानी त्यही घैंटोमा संकलन गर्छौं । त्यसले भाँडा माझ्न, भंसीलाई सुवाउन र खाना पकाउन काम लाग्छ । पिउनका लागि एक गाग्री बोके पुग्छ ।’ सिमेन्टको घैंटोले वर्षाभर कुवाबाट पानी बोक्ने दु:ख छुटकारा भएको छ । हिउँदका बेला घैंटो रित्ता हुन्छन् । दैनिक पाँच/ छ घण्टा समय खर्चेर डोकोमा पानी बोक्नुपर्छ, उनले भनिन् ।

केरुंगाका मोहन खनालले वर्षाभर कुवा धाउँदैनन् । आकाशबाट पानी पर्दा गाग्री, छाउला, ग्यालेन, ड्रम, बाल्टी आँगनमा थापेर भर्छन् । ‘आकाशबाट सीधै झरेको पानीले पिउन र खाना पकाउँछु,’ उनले भने, ‘एउटा आठ र अर्को १० हजार लिटर अट्ने घैंटो छ । आकाशे पानीले भरिन्छन् । हिउँद लागेपछि रित्तिन्छन् ।’ कुवाबाट एक गाग्री पानी ल्याउन एक घण्टा पैदल हिँड्नुपर्छ ।

‘दिनमा पाँच गाग्रीसम्म उतार्छु,’ उनले भने, ‘वर्षाभर भुइँ घाँस र पानीको त्यत्ति दुस्ख नभएपछि दुइटा भैंसी पाल्छु । वर्षा सकिएपछि पानी र घाँसको अभाव हुन्छ । त्यसपछि एउटा मात्रै भैंसी पाल्छु ।’ साँझपख आकाशमा कालो बादल देखा परेपछि आँगनमा गाग्री, ताउला, कचौरासम्म थापेर राखिन्छ । राति पानी परे त बिहान भाँडा भरिन्छन् । नपरेको रात खाली हुन्छन् । कहिलेकाहीं रातमा पानी थाप्न राखेका भाँडासमेत चोरी हुन्छन्, उनले भने ।

विभिन्न गैरसरकारी संस्थाले एक दशकअघि घैंटा निर्माण गरिदिएपछि गाउँलेलाई राहत भएको छ । केहीले पशुलाई पोखरीमा पुर्‍याएर पानी खुवाउने गर्छन् । ‘वर्षामा थाप्लोबाट नाम्लो हट्छ,’ उदय विकले भने, ‘आकाशकै पानीको भर हुन्छ । कुवाको पानीमा यत्तिकै पिउँदा पेट दुख्ने र पखाला लाग्ने गर्छ, उमालेरै खानुपर्छ ।

तर, आकाशको पानी पिउँदा स्वास्थ्यलाई केही असर गरेको छैन ।’ जिल्लाको धेरैजसो भूगोल मध्यतराईजस्तै भएकाले ठूला नदी र पानीका मुहान धेरै छैनन् । केही गाउँमा हिउँदमा सिँचाइ कुलोको सुविधा भए पनि बल्कोट, केरुंगा, चिदिका, छत्रगन्ज, गोखुंगालगायत अधिकांश गाउँमा पिउने पानीको दुस्ख छ । हिउँदमा धेरैजसो महिलालाई पानी बोक्ने सास्ती हुन्छ । पुरुष जति वैदेशिक रोजगार र स्वदेशमै अन्य पेसा र व्यवसायमा व्यस्त हुन्छन् । महिलाले घरको काम गर्नुपर्ने हुँदा पानी बोक्नैपर्ने हुन्छ ।

गोखुंगा सिमेदेउरालीमा कुवाबाट तीन घण्टा उकालोमा पानी बोक्न नसक्नेले लिटरको २ रुपैयाँमा किनेर खान बाध्य छन् । वर्षांैदेखि यहाँ खानेपानीको समस्या उस्तै छ । दिनहुँ पानी बोक्दा ढाड, घुँडा र पिठ्युँ दुख्ने अधिकांश महिला रोगी भएको देउरालीकी विमला घिमिरेले बताइन् । ‘सक्दाको दिन त आफैं बोक्छु,’ उनले भनिन्, ‘बिरामी भएका बेला किनेर खान्छु ।’ लिटरको दुई रुपैयाँ पर्छ । सिमेदेउराली साविकको गोखुंगा गाविस र छिमेकी प्युठानको अल्गामाझलगायतका गाउँको केन्द्र हो ।

व्यापारिक ठाउँ भएकाले पानीको दुस्खकै कारण कसैले बसाइँसराइ गरेका छैनन् । जनसंख्या बढ्दो छ । यहाँका ६० घरमा करिब तीन सय जनसंख्या रहेको छ । करिब ३० घरपरिवारले मात्रै व्यापार व्यवसाय गर्छन् । वर्षामा आकाशे पानी भाँडा र घैंटामा संकलन गर्दा राहत मिल्छ । हिउँदमा बिहानै ३ बजे उठेर कुवामा लाइन लाग्नुपर्छ, उनले भनिन् ।

सबै घरमा ५ देखि १० हजार लिटर पानी अटने घैंटा छन् । वर्षामा हिलो र चिप्लो हुने भएकाले कुवामा धाउँदैनन् । अकाशे पानीकै भर भएको उनले बताइन् । धेरै बस्तीमा मुहानका स्रोत नभएकाले खोलाबाट लिफ्टमार्फत डाँडोमा पानी तान्ने र ट्यांकीमा संकलन गरेर वितरण गर्नुको विकल्प नभएको जिल्ला खानेपानी कार्यालय प्रमुख सुरतकुमार बमले बताए । सञ्चालित योजनामध्ये ८० प्रतिशत खानेपानीका योजना लिफ्ट प्रविधिका भएको र धमाधम काम भइरहेको उनले बताए । भर्खरै सम्पन्न स्थानीय तहको निर्वाचनबाट जनप्रतिनिधि चुनिएका छन् । भोट माग्दा खानेपानीको दुस्ख हटाइदिन्छौं भन्ने वाचा गरेकाले गाउँले आशावादी छन् । कान्तिपुर दैनिकबाट 


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार